८ वैशाख २०८१ शनिबार
राजनीति

‘अर्को निर्वाचनसम्म मै हुँ प्रधानमन्त्री’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अर्को संसदीय निर्वाचनसम्म प्रधानमन्त्रीमा रहने बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको हल्लाको पछि नलाग्न आग्रह गरे। ‘प्रधानमन्त्री लगलग कामेका छन्, जाने भए भनेको सुनें,’ ओलीले भने, ‘पद नगएको राजा, महाराजा, प्रधानमन्त्री दुनियाँमा कोही छैन, मलाई आगामी निर्वाचनपछि बस्न मन छैन।’

प्रतिगामीहरू सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ भन्ने नठान्न आग्रह गर्दै ओलीले भने, ‘केही प्रतिगामी प्रतिगमन ल्याउँछौं भनेर सडकमा उत्रिएका छन्। चिहानमा गएर हड्डी फुकेर फर्काउँछौं भन्ने कुरा नगरे हुन्छ।’ विरोध र आलोचनाको आफूले स्वागत गर्ने बताउँदै उनले भने, ‘प्रणाली उल्टाउँछु भन्ने, प्रगितमन ल्याउँछु भन्ने कुरा सरकारलाई सह्य हुँदैन, जनताको शासनविरोधी क्रियाकलाप गर्ने तŒवहरु नहौसिए हुन्छ।’

‘केही प्रतिगामी प्रतिगमन ल्याउँछौं भनेर सडकमा उत्रिएका छन्। चिहानमा गएर हड्डी फुकेर फर्काउँछौं भन्ने कुरा नगरे हुन्छ।’

संघीय गणतन्त्र नेपालका लागि नयाँ प्रणाली भएको हुँदा पुरानो प्रणालीका पक्षधरले यसलाई कमजोर पार्न खोजेको आरोप लगाउँदै उनले भने, ‘जनताको फ्रस्टेसनले यो सरकार बनेको होइन। संघर्ष र बलिदानमा टेकेर लोकतान्त्रिक विधिबाट बनेको सरकार हो।’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार अधिनायकवादतर्फ अघि बढेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री ओलीले मिथ्या आरोप नलगाउन आग्रह गरे। ‘यो कुरा कसैले पत्याउँदैन। लोकतन्त्रलाई सुदृढ गर्ने बाटोभन्दा बाहिर जान सकिँदैन,’ उनले भने, ‘प्रतिगामीको कुरा अहिले सरकारले नपत्याएर हो, पत्याएका दिन संघीय गणतन्त्रको पक्षमा सरकार मैदानमा उत्रन्छ।’ उनले अबको ध्यान सुशासन र विकासमा हुनुपर्ने बताए। ‘साझा र राष्ट्रिय आकांक्षा समृद्ध नेपाल सुखी नेपाली हो’, उनले भने।

उनले छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गर्दै उनीहरुको विकासको प्रतिफल लिनुपर्ने बताए। छिमेकीसँग भरपर्दो पारस्परिक लाभका आधारमा सम्बन्ध बढाउने नीति सरकारले लिएको उनले उल्लेख गरे। एकदुईबाहेक कानुनले पूर्णता पाएको उनले बताए। बाँकी कानुन चालू अधिवेशनमा नै निर्माण गर्ने उनको भनाइ थियो। ‘सरकारले केही पनि गरेको छैन भने पनि आधार वर्षमै आर्थिक वृद्धि सात प्रतिशत पुगेको छ। केही पनि भएको छैन भन्नेले भनिनराखून्,’ उनले भने।

प्रधानमन्त्री ओलीले आर्थिक वृद्धिदर उच्च भएको, बाटो, पुल निर्माण तीव्र भएको बताए। ‘केही भएन भन्छन्, केही नहुँदा पनि ७ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, अर्कोपटक ८.५ प्रतिशत पुग्छ, अर्को पटक ९.५, अर्को वर्ष ११ प्रतिशत पुग्छ, अझै केही भएन भन्नेले सजग गराएकोमा धन्यवाद,’ उनले भने, ‘१४ सय किलोमिटर सडक पिच भएको छ, ३ सय पुल बनाउँदा कम भयो भने ५ सयवटा पुल बन्छन्, बाटोहरु चौडा बन्दैछन्।’ मेलम्ची ठेकेदार भाग्यो, त्यो मात्रै समस्या भएको बताउँदै उनले भने, ‘त्यसमा सरकार भागेको होइन, ठेकेदार भागेको हो। अलिकति ढिलो भयो तर मेलम्चीको पानी ल्याउँछौं।’

राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्री कार्यालयबाट प्रत्यक्ष अनुगमनको व्यवस्था मिलाइएको, नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रधानमन्त्री र मन्त्रीहरुबीच सम्झौता भएको, मन्त्री र सचिवबीच समेत सम्झौता भएको जानकारी प्रधामन्त्रीले गराए।

प्रधानमन्त्री ओलीले सिफारिस आउनेबित्तिकै यसै साता सत्य निरुपण र बेपत्ता आयोग गठन हुने जानकारी दिए। ‘सरकारले आफ्ना प्रतिबद्धता शीघ्रातिशीघ्र निरुपण गर्छ। द्वन्द्वको खाटा अहिलेसम्म रहनु र चह¥याउनु राम्रो होइन।’ प्रधानमन्त्री ओलीले छिट्टै अन्तरप्रदेश परिषद् र वित्त परिषद् बैठक बोलाउने बताए। उनले ३९ वर्षको इतिहासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबैभन्दा बढी मुद्दा दर्ता गरेको बताए। हडपिएका गुठी र सार्वजनिक जग्गा फिर्ता गर्न सरकारले पहल थालेको उनले बताए। यस्तो कार्यमा संलग्नलाई कारबाही गर्न उच्चस्तरीय समिति गठन गरी कारबाही अघि बढाइएको उनले बताए। प्रधानमन्त्रीले प्रतिपक्षीलाई लक्षित गर्दै भने, ‘हामीले ल्याएको लोकतन्त्र सुन्दर छ। संसद्लाई मर्यादित बनाउनुपर्छ, आज फेरि त्यही विन्दुमा आएका छौं।’

प्रधानमन्त्रीको सम्बोधनपछि विशेष समय लिएर बोल्दै प्रतिपक्षी कांग्रेसका सांसद मीनेन्द्र रिजालले लोकतन्त्रका लागि लडेको भन्दैमा जे गर्न पनि लाइसेन्स नमिल्ने प्रतिक्रिया दिए। ‘प्रधानमन्त्रीज्यूले लोकतन्त्रका लागि लडेको सरकार हो भन्नुभयो। प्रधानमन्त्रीको वाम आन्दोलन, त्यसपछिको लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको सम्मान गर्छु। तर भिन्नता हेक्का रहोस् प्रधानमन्त्रीज्यू, सरकार लडेको होइन, लडेका मान्छेहरुले बनाएको सरकार होला’, उनले भने, ‘एकपटकको लडाइँले जीवनभरलाई जे गर्न पनि लाइसेन्स पाइँदैन।’

प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधनका लागि शनिबार सभामुख कृष्णबहादुर महरासँग समय मागेका थिए। प्रधानमन्त्रीले संसद्मा सम्बोधनका लागि समय माग गरेको जानकारी सभामुखले दलका प्रमुख सचेतक तथा सचेतकलाई गराएका थिए। आइतबारको कार्यसूची सोही अनुसार तय गरिएको थियो।

संसद्मा किन बोले प्रधानमन्त्री ?
प्रमुख प्रतिपक्षी र आफ्नै दलका सांसदले विभिन्न विषयमा प्रधानमन्त्रीको जवाफ मागिरहँदा पनि ओलीले त्यसलाई इन्कार गर्दै आएका थिए। संसदीय अभ्यासमा प्रधानमन्त्री र मन्त्रीहरुले संसद्मा उठेका प्रश्नको जवाफ दिनुलाई अस्वाभाविक नमानिने बताउँदै कार्यव्यवस्था समितिका एक सदस्यले भने, ‘प्रधानमन्त्रीको सम्बोधनमा न कुनै सन्देश छ न त कुनै सार्वजनिक महŒवका विषयमा संसद्ले जवाफ नै खोजिरहेको थियो।

यस्तो बेलामा उहाँले उपचारमा जानुअघि संसद्मा आफ्नो धारणा राख्नमात्र खोजेजस्तो देखिन्थ्यो, त्यही रुपमा उहाँको सम्बोधन आएको हो।’ एक साताअघि मात्र उपचार गरेर स्वदेश फर्केका प्रधानमन्त्री ओली भदौ ५ गते फेरि उपचारका लागि सिंगापुर जाँदैछन्।

प्रकाशित: २ भाद्र २०७६ ०२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App