८ वैशाख २०८१ शनिबार
अर्थ

वित्त र बिमा ओरालो लाग्दा बजारलाई झड्का

करुण ढकाल
काठमाडौं – वित्त, निर्जीवन बिमा र जीवन बिमा समूह उच्च गतिमा ओरालो लाग्दा साताको पहिलो दिन सेयर बजारमा झड्का लागेको छ। यस दिन नेप्से ०.७५ प्रतिशतले ओरालो लागी १२१४.८३ अंकमा आएको छ। नेप्से ९.२ अंकले ओरालो लाग्दा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५७ अंकले तल झरी २६३.११ मा आइपुगेको छ।

यस दिन कारोबार भएका ११ वटा समूहमध्ये उत्पादनमूलकबाहेक सबै ओरालो लागेका छन्। सबैभन्दा बढी वित्त समूह ५.८७ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत्, जीवन बिमा र अन्य समूह पनि एक प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्। अंकका आधारमा हेर्दा सबैभन्दा बढी जीवन बिमा समूह ८७.४२ अंकले ओरालो लागी ५७१५.२८ अंकमा बन्द भएको छ। यसैगरी वित्त समूह ३६.५८, निर्जीवन बिमा ३१.५८, जलविद्युत् १८.७७, होटल्स ११.१९, अन्य ११.१४, लघुवित्त ८.५८, विकास बैंक ५.४३, बैंकिङ ४.२५ र म्युचुअल फन्ड ०.०६ अंकले ओरालो लागेका छन्। यस दिन हरियो बनेको एउटा मात्र समूह उत्पादनमूलक १.८ प्रतिशतले उकालो लागेको छ।

खुम्चियो कारोबार रकम
नेप्से ओरालो लागेसँगै आइतबार कारोबार रकम पनि खुम्चिएको छ। यस दिन जम्मा ३२ करोड ९५ लाख २७ हजार नौ सय १५ रुपैयाँको मात्रै कारोबार भएको छ। यो अघिल्लो कारोबार दिन गत बिहीबारको तुलनामा २२.३ प्रतिशतले कम हो। बिहीबार ४२ करोड ४३ लाख २३ हजार एक सय २८ रुपैयाँको सेयर किनबेच भएको थियो।

बजेट सार्वजनिक भएको भोलिपल्ट जेठ १६ गते नेप्से १३१९.४७ अंकमा बन्द भएको थियो। त्यसपछि झन्डै एक सय पाँच अंकले बजार ओरालो लागिसकेको छ।

आइतबार सबैभन्दा बढी कारोबार एनआइसी एसिया बैंकको भएको छ। यस बैंकको दुई करोड ४५ लाख ३४ हजार चार सय ५६ रुपैयाँको सेयर किनबेच भएको हो। कारोबार रकमका हिसाबले दोस्रोदेखि पाँचौंसम्म क्रमशः रसुवागढी हाइड्रोपावर, नेपाल इन्भेस्टमेन्ट बैंक, कृषि विकास बैंक र शिवम सिमेन्ट छन्। उच्च कारोबार हुने १० कम्पनीमा सातवटा बैंक र दुईवटा जलविद्युत् कम्पनी परको छन्।

यस दिन सबैभन्दा बढी गुमाउनेमा गुराँस लघुवित्तका लगानीकर्ता परेका छन्। यो कम्पनीको सेयर मूल्य ४.७५ प्रतिशतले ओरालो लागेको छ। यसैगरी वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, गुराँस लाइफ इन्सुरेन्स, रिडी हाइड्रोपावर, सेन्चुरी कमर्सियल बैंक र प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको सेयर मूल्य पनि तीन प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

ग्लोबल आइएमई लघुवित्तको मूल्यमा छलाङ
घट्दो बजारमा पनि यस दिन ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ। यो कम्पनीले सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर लाभांशबापत बाँड्न प्रस्ताव गरेको सूचना सार्वजनिक भएपछि सेयर मूल्यले छलाङ मारेको हो। यसैगरी रिलायन्स फाइनान्स, गुडविल फाइनान्स र एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य पनि दुई प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

बजारमा बियरिस अवस्था
अर्थमन्त्री युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरेदेखि नै ओरालो लागेको बजारमा बियरिस प्रवृत्तिले निरन्तरता पाएको छ। बजेट सार्वजनिक भएको भोलिपल्ट जेठ १६ गते नेप्से १३१९.४७ विन्दुमा बन्द भएको थियो। त्यसपछि झन्डै एक सय पाँच अंकले बजार ओरालो लागिसकेको छ।

आइतबार कारोबार भएका एक सय ६० कम्पनीमध्ये एक सय नौवटा कम्पनीको मूल्य घटेको छ भने २४ कम्पनीको मूल्य उकालो लागेको छ। २७ वटा कम्पनीको क्लोजिङ मूल्यमा भने कुनै परिवर्तन आएन। यस दिनको एडी रेसियो (मूल्य बढेका कम्पनी र घटेका कम्पनीको अनुपात) ०.१५ छ। यसले बजारमा बलियो बियरिस अवस्था रहेको संकेत गर्छ। यस दिन क्लोजिङ मारुबोजु प्रकृतिको रातो महिनबत्ती बनेको छ। यसले बजारमा विक्रेता हावी भएको संकेत गर्छ। यसको अर्थ क्रेताले मागेकै मूल्यमा विक्रेताले सेयर बेचेको अवस्था बजारमा देखिएको छ। यस्तो महिनबत्तीले बजार अझै तल झर्न सक्ने संकेत पनि गर्छ तर यो पूर्ण निश्चित भने हुँदैन। आइतबार आरएसआई २६.९ विन्दुमा आइपुगेको छ। यसले बजार ओभर सोल्ड जोनमा रहेको संकेत गर्छ। यस्तै बोलिङ्गर ब्यान्डको तल्लो रेखामा आइतबारको बजार बन्द भएको छ।

प्रकाशित: २ भाद्र २०७६ ०१:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App