७ वैशाख २०८१ शुक्रबार
खेल

नेइमारको अनुपस्थिति निरन्तर

पेरिस – पेरिस सेन्ट जर्मन (पिएसजी) ले आइतबार लिग वानअन्तर्गत रेनिसविरुद्ध आफ्नो दोस्रो लिग खेल्दा सबैभन्दा महँगा ब्राजिलियन स्ट्राइकर नेइमार भने अनुपस्थित हुने भएका छन्। 

लिग वानअन्तर्गत निमेसविरुद्धको उद्घाटन खेलमा टोलीमा नपरेका नेइमार आइतबार रेनिसविरुद्ध पनि नखेल्ने टोलीका प्रशिक्षक थोमस टुचेलले शनिबार खुलासा गरेका हुन्।  ‘टोलीसँग आज नेइमारले अभ्यास पूरा गरेका छैनन्,’ प्रशिक्षक टुचेलले भने, ‘टोलीमा फर्किन नेइमारलाई ढिला भइसकेको छ।  अर्को साता हुने खेलमा हामीले उनको प्रतीक्षा गरिरहेका छौं। ’

पिएसजीमा असन्तुष्ट रहेका नेइमारको स्पेनिस क्लब बार्सिलोना र रियाल मड्रिड अनुबन्धनका लागि प्रयास भइरहेका बेला शनिबार प्रशिक्षक थोमसले यस्तो निर्णय दिएका हुन्।   ‘बलियो टोलीको कल्पना गर्दा उनी टोलीमा पर्ने पहिलो रोजाइका खेलाडी हुन,’ प्रशिक्षक थोमसले थपे, ‘अभ्यास पुगेको छैन।  मेरो रणनीतिमा केही परिवर्तन छैन।  अभ्यास पुगेको अवस्थामा नेइमार टोलीबाट खेल्न सक्छन्।  उनको क्लबसँग तीन वर्षे सम्झौता छ। ’

फ्रान्सेली लिग च्याम्पियन पिएसजीले २०१७ मा बार्सिलोनाबाट नेइमारलाई कीर्तिमानी २ करोड २० लाख युरोमा अनुबन्धित गरेको थियो।  पिएसजी गएसँगै असन्तुष्ट नेइमारले विगत केही महिनादेखि स्पेन फर्किन चाहेको अभिव्यक्ति दिँदै आएका छन्।  तर कुन क्लब जाने भन्नेमा अनिश्चित नै छ।  नेइमारलाई भिœयाउन दुई स्पेनिस महारथी रियाल मड्रिड र बार्सिलोना गृहकार्यमा छन्।  अहिलेसम्म कुनै निचोड निस्किएको छैन।  

पिएसजीका खेलकुद निर्देशक लियोनार्दोले नेइमारको बेन्च विषयमा छलफल भइरहेको यसअघि बताएका थिए।  ‘खेलाडी सरुवा बजार यसै महिना सकिँदै छ,’ प्रशिक्षक टुचेलले थपे, ‘हाल नेइमार मेरो टोलीका सदस्य हुन्। ’ ब्राजिलियन स्ट्राइकर नेइमारले चोटका कारण मे महिनाको अन्त्यदेखि पिएसजीबाट कुनै खेल खेलेका छैनन्।  यसै साता लिगको सुरुआत गरेको साबिक विजेता पिएसजीले निमेसविरुद्ध ३–० को जित निकाल्दै लिगमा सुखद सुरुआत गरेको छ।  
 

प्रकाशित: १ भाद्र २०७६ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App