८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अफगान शान्ति वार्ताबारेको छलफल ‘सकारात्मक’

वासिङ्टन – अफगानिस्तानको शान्ति वार्ताबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उच्च अमेरिकी सल्लाहकारबीचको छलफल ‘निकै सकारात्मक’ भएको ह्वाइट हाउस स्रोतले बताएको छ।

अफगानिस्तानमा संघर्षरत तालिबान लडाकु समूहसँगको शान्ति सम्झौताको तयारीबारेमा राष्ट्रपति ट्रम्प र उच्च अमेरिकी सल्लाहकारबीच छलफल भएको हो। अमेरिकी सुरक्षा सल्लाहकारसहित रक्षामन्त्री मार्क एस्पर, विदेशमन्त्री माइक पोम्पेओ तथा सैनिक प्रमुख जनरल जोसेफ डनफोर्डबीच अफगान शान्ति प्रक्रियाका विषयमा भएको छलफलबारे राष्ट्रपति ट्रम्पलाई न्यु जर्सीस्थित आफ्नै गृहनगर बेडमिनिस्टरमा जानकारी गराइएको थियो।

उक्त अवसरमा राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन र तालिवानी समूहसँग वार्ता गर्न जिम्मेवारी पाएका जाल्मे खालिलजादको पनि उपस्थिति थियो। डेपुटी प्रेस सेक्रेटरी होगान गिड्लीद्वारा ह्वाइट हाउसमा जारी विज्ञप्तिमा भनिएको छ, ‘अफगान सरकार र तालिबान समूहसँग शान्ति तथा मेलमिलापका लागि भइरहेको हाम्रो वार्ताबारे केन्द्रित रहेको थियो भने कुराकानी सार्थक बनेको छ। ’

‘अफगानिस्तानका बिषयमा भएको वार्ता भर्खरै सकिएको छ।  १९ वर्ष लामो अफगान युद्धका दौरान अमेरिकी सहयोगमा बनेको सरकारका विरोधमा रहेका धेरैजसो व्यक्ति तथा समूह सम्भव भएसम्म सम्झौता गर्ने पक्षमा देखिएका छन्,’ छलफलबारे राष्ट्रपति ट्रम्पले पनि शनिबार ट्विटर गरेका छन्।  

यससँगै अफगानिस्तानको शान्तिका लागि सम्झौता हुने सम्भावना बढेको छ भने अमेरिकाले अफगानिस्तानमा लड्दै आएका आफ्ना १४ हजार सेनालाई फिर्ता गर्ने सम्भावना बढेको छ।  वासिङ्टनले अफगानिस्तानबाट आफ्नो सेनालाई सकेसम्म छिटो स्वदेश फिर्ता गर्न चाहिरहेको छ। संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार गत बर्ष अफगानिस्तानमा ९ सय २७ बालबालिकासहित तीनहजार ८ सय ४ सर्वसाधारणको द्वन्द्वसम्बन्धी विभिन्न घटनामा परी निधन भएको थियो।  

यस्तै द्वन्द्वका कारण अफगानिस्तानमा यस बर्षको सात महिनामा दुई लाख १७ हजार नागरिक आन्तरिक तथा बाह्य रूपमा विस्थापित बनेका राष्ट्रसंघ मानवीय सहायता मामिला कार्यक्रमले जनाएको छ।  द्वन्द्वका कारण अफगानिस्तानमा ठूलो मात्रामा मानवीय सहयोगको आवश्यकता परेको छ।  संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार गत बर्ष अफगानिस्तानमा ९ सय २७ बालबालिकासहित तीनहजार ८ सय ४ सर्वसाधारणको द्वन्द्वसम्बन्धी विभिन्न घटनामा परी निधन भएको थियो।  

 
 

प्रकाशित: १ भाद्र २०७६ ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App