बेइजिङ – चीनको पूर्वी भागमा पर्ने सानडोङ प्रान्तमा शुक्रबार साँझ भएको एक डुंगा दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुईजना बेपत्ता भएका छन्।
स्थानीय तटीय उद्धार अधिकारीले दिएको जानकारी उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेअनुसार सो दुर्घटना स्थानीय समयअनुसार शुक्रबार ५ बजेर ५५ मिनेटमा भएको थियो। चीनको उत्तर भागमा पर्ने हेबेई प्रान्ततर्फ गइरहको सो डुंगा बन्दरगाह सहर रिझाओनजिकै उच्च वेगमा आएको हावाको कारण पल्टिएको बताइएको छ।
स्थानीय समयानुसार शनिबार ११ बजे सात व्यक्तिको शव फेला परेको र वेपत्ता व्यक्तिहरुको खोजी कार्य भइरहेको जनाइएको छ। डुंगा दुर्घटना भएको उक्त समयमा ५० मिटर प्रतिसेकेन्डको हिसाबबाट हावा चलेको अधिकारीले जानकारी दिएका छन्।
प्रकाशित: १ भाद्र २०७६ ०६:४१ आइतबार