६ वैशाख २०८१ बिहीबार
अर्थ

पहुँचमार्ग डिजाइनमा ढिलासुस्ती

काठमाडौं – १०४० मेगावाटको अर्धजलशाययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्गको विस्तृत डिजाइन गर्ने परामर्शदाता कम्पनीको ढिलासुस्तीले पहुँच मार्गको डिजाइन कार्य सुस्त देखिएको छ। चिनियाँ कम्पनी केडिइसी/नेपाल कन्सल्ट्यान्टले समयमै पहुँच मार्गको विस्तृत डिजाइन तयार नपर्दा पहुँचमार्ग निर्माण कार्य प्रभावित भएको हो। संखुवासभास्थित आयोजनास्थल पुग्नको लागि २२ किलोमिटर पहुँचमार्ग निर्माण गर्नुपर्ने हुन्छ। 

पहुँचमार्गमा दुई किलोमिटर सुरुङ मार्ग र दुईवटा पक्की पुल निर्माण गर्नुपर्ने हुन्छ। अपर अरुण जलविद्युत् लिमिटेडका आयोजना  प्रमुख रामचन्द्र पौडेलले माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्गको विस्तृत डिजाइन कार्य अन्तिम चरणमा पुगेको बताउँछन्। ‘पहुँचमार्गको डिजाइन कार्य लगभग अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘परामर्शदाता कम्पनीले आगामी फागुनसम्म सम्पन्न गरेर बुझाइसक्नेछ।’

आयोजना प्रमुख पौडेलले पहुँचमार्ग निर्माणको लागि करिब पाँच अर्ब रुपैयाँ लाग्ने बताउँछन्। ‘सन् २०२२ सम्मको सेक्टेम्बरसम्म पहुँचमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘जलविद्युत आयोजनाको काम सम्भवतः सन् २०२२ देखि सुरु हुनेछ।’ आयोजनाको काम पहुँचमार्ग निर्माणको काम वातावरणीय प्रभाव मूल्यांकन र जग्गाको मुआब्जा लगायतको काम सम्पन्न भएसँगै काम सुरु हुनेछ। सरकारले गत आर्थिक वर्षमा माथिल्लो अरुण तथा इखुवा खोला जलविद्युत् आयोजनाको विस्तृत अध्ययन कार्य तथा पहुँच मार्गको विस्तृत डिजाइन कार्य गर्ने लक्ष्य राखेको थियो।

तर, आयोजनाको लक्ष्यअनुसार सन्तोषजनक कार्यसम्पादन नभएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। ‘प्रोजेक्ट आयोजनाको क्षमता कतिसम्म बढाउन सकिन्छ भन्ने अध्ययनबाट १०४० मेगावाट क्षमता कायम भई सोअनुसार विस्तृत अध्ययन भइरहेको छ,’ वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘३३५ मेगावाटबाट १०४० मेगावाट अपग्रेड गरिएको छ। सोही अनुसार विस्तृत अध्ययन कार्य अघि बढाउन परेकाले लक्ष्य हासिल गर्न नसकिएको हो।’

आयोजनाले आगामी सन् २०२२ देखि १०४२ मेगावाटको जलविद्युत् आयोजनाको विस्तृत डिजाइन र पहुँचमार्ग तयार भएसँगै आयोजना निर्माणको काम थाल्ने जनाएको छ। पछिल्लो अध्ययनले माथिल्लो अरुण जलविद्युत् आयोजनाबाट १०६१ मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने प्रतिवेदन बुझाएको छ।

‘सन् २०२२ मा आयोजनाको निर्माण काम सुरु गरेर पाँच वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं,’ आयोजना प्रमुख पौडेलले भने, ‘यो आयोजना अर्धजलाशययुक्त आयोजना हो। जसमा १७३.३ मेगावाटको ६ वटा युनिटबाट बिजुली उत्पादन गर्न सकिनेछ।’ माथिल्लो अरुण जलविद्युत् आयोजनामा दातृ निकाय विश्व बैंक लगानी गर्न इच्छुक देखिएको छ।

आयोजना निर्माण सम्पन्न गर्न एक सय ६० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। सरकारले २०६९ फागुनमा आफ्नो स्वामित्वमा रहने गरी प्राधिकरणमार्फत आयोजना निर्माण गर्ने निर्णय गरेको थियो।

प्रकाशित: १ भाद्र २०७६ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App