coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रोपो रातो हुने रोगले किसान चिन्तित

खैरहनी नगरपालिकामा लगाइएको धानबालीमा देखिएको रोपो रातो हुने रोग।तस्बिर : नागरिक

चितवन – खैरहनी नगरपालिका वडा नम्बर १० कठारका किसान मगरा महतोको खेतमा लगाएको धानको रोपो रातो भएको छ। १८ कट्ठा जग्गामा उनले यो पटक गोदावरी धान रोपेका थिए। पछिल्लो तीन दिनमा हरियो धानको रोपो बिस्तारै रातो हुने समस्या देखिएको उनी बताउँछन्। ‘दुई दिनमै खेतको सबै धानबालीमा यो समस्या देखिएको छ,’ उनले भने, ‘धानको बोट पाक्ने बेलाजस्तो भएको छ, टाढाबाट हेर्दा धान काट्ने बेला जस्तो देखिन्छ।’

पहिलो पटक खेतमा यस्तो समस्या देखिएका उनी अन्यौलमा छन्। धान रोपिसकेपछि कुनै रोग, किरा नदेखिएपछि बोट अचानक रातो हुन थालेपछि उनी चिन्तित छन्। मगराको जस्तै समस्या कठारकै कैलाश साहको खेतमा पनि देखिएको छ। उनले ६ कट्ठामा लगाएको धानबालीमा यो समस्या देखिएको छ। खेतको कुनै बोट पनि बाँकी नभई सबै रातो भएको उनले बताए। ‘वर्षभरि खाने धान आउने खेत यतिमात्र हो,’ उनी भन्छन्, ‘बोट नै रातो भएपछि धान फल्ला कि नफल्ला भन्ने चिन्ता परेको छ।’

वर्षभरीका लागि खाने धानको जोहो हुने खेतमा लगाएको धानमा देखिएको रोगले उनको परिवार पनि चिन्तित बनेको छ। असारमा रोपाइँ गरेको खेतमा एक महिना बित्नासाथ देखिएको रोगले किसान चिन्तित भएका छन्। यस्तो समस्या खैरहनी नगरपालिकाको वडा नम्बर ७, १० र ११ मा देखिएको छ। सबैभन्दा बढी यी तीनवटै वडामा लगाइएको धानबालीमा यस्तो समस्या देखिएको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरी बताउँछन्। यो समस्या देखिएको खेतमा किसनाले मन्सुली, गोदावरी, सावित्री, हाइब्रिड ६४४४ जातका धान लगाएको पाइएको उनले बताए। धान खेती गरिएका फाँट नै रातो देखिएको छ।

मेयर चौधरीले कृषिविज्ञ, वडाध्यक्षसँगै किसानको खेतमा पुगेर समस्याबारे जानकारी लिएका छन्। खैरहनी नगरपालिका क्षेत्र जिल्लामा धान उत्पादनमा अगाडि रहेको नगरपालिका हो। बालीविज्ञ लालप्रसाद अमगाई खेतमा पुगेर हेर्दा देखिएको समस्या रोपोमा लाग्ने ब्लास्ट र ब्लाइट नामक रोग हुनसक्ने अनुमान गर्छन्। रोगको लक्षण देखिए पनि यकिनसाथ भन्न परीक्षण गरिनुपर्ने उनले बताए। धानको रोपोका पात रातो हुने र गुवो कुहिने समस्या देखिएको छ। समस्या समाधानका लागि विज्ञसँग सल्लाह लिएर मात्रै विषादी प्रयोग गर्नुपर्ने उनले बताए।

कुन रोग हो भन्ने यकिन नभई किसानले विषादी प्रयोग गर्ने चलन रहेको मेयर चौधरीको भनाइ छ। रोगको प्रकोपबारे विज्ञसँग सल्लाह लिएर मात्र विषादीको प्रयोग गर्नुपर्ने उनको आग्रह छ। यही प्रकृतिको समस्या पूर्वी चितवन क्षेत्रकै राप्ती नगरपालिकामा पनि देखिएको छ। नगरपालिकाको वडा नम्बर ६ मा धानको रोपो रातो हुने समस्या देखिएको नगरपालिका कृषि शाखा प्रमुख श्रीकृष्ण न्यौपाने बताउँछन्। अनुसार राप्ती वडा नम्वर ६ मा धानको रोपो रातो हुनेलगायत विभिन्न रोग देखा परेको छ। यसअघि लगाइएको चैते धानबालीमा राप्तीको वडा नम्बर १ र २ मा यस्तै समस्या देखिएको थियो। अहिले वडा नम्बर ६ का किसानबाट गुनासा आइरहेको उनी बताउँछन्। विज्ञसँग छलफल गरेर किसानको समस्या समाधान गर्ने प्रयास भइरहेको उनले बताए।

प्रकाशित: १ भाद्र २०७६ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App