coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल फाइनलमा, तोडियो टाइब्रेकरको संयोग

अजय फुयाल/प्रकाश तिमल्सिना

काठमाडौं- पेनाल्टी सुटआउटको दुःखद शृंखला टुंग्याउँदै नेपाली राष्ट्रिय टोलीले शनिबार एएफसी सोलिडारिटी कप फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ। मलेसियाको कुचिङस्थित नेगेरी रंगशालामा शनिबार अन्तिम चारको खेलमा लाओसविरुद्धको अपराजित इतिहास कायम राखेको नेपालले आफूलाई उपाधि भिडन्तको हकदार बनाउन पेनाल्टी सुटआउटसम्म संघर्ष गर्नुपर्‍यो।

पछिल्लो दशकदेखि नै पेनाल्टीमा निराश हुँदै आएको नेपालले शनिबार भने गोलकिपर किरण चेम्जोङको नायकत्वमा बाजी मार्‍यो।

नेपालले एएफसी सोलिडारिटी कपको मंगलबार हुने फाइनलमा मकाउलाई प्रतिद्वन्द्वी पाएको छ। मकाउले पनि दोस्रो सेमिफाइनलमा ब्रुनाईलाई पेनाल्टी सुटआउटमै ४–३ ले हराउँदै फाइनल यात्रा पक्का गरेको हो। निर्धारित ९० मिनेट र थप समय १–१ को बराबरीमा खेलेपछि टाइब्रेकरमा मकाउले सफलता पाएको हो।

त्यसअघिको खेलमा नेपालको तर्फबाट हेमन गुरुङ र विक्रम लामाका सुरुआती दुई प्रहार गोलमा परिणत भइरहँदा किरणले विपक्षी टोलीका लगातार दुई पेनाल्टी जोगाएका थिए। नेपालबाट तेस्रो पेनाल्टी प्रहार गर्न गएका सुजल श्रेष्ठले विपक्षी गोलकिपर डाइभ गरेको विपरीत दिशाबाट गोल गरे। त्यसपछि लाओसका चान्थाफोन वाइभोगसोथको प्रहार पोस्टको नजिकैबाट बाहिरिएपछि नेपाल टाइब्रेकरमा ३–० को रबाफ जमाउन सफल भयो। यसअघि निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल थप समयतिर धकेलिएको थियो। ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीबाट एकएक गोल भएपछि टाइब्रेकरमा निर्णय लिइएको थियो।

१८औं मिनेटमा झिसोङखाम चाम्पाथोनको गोलमा लाओसले अग्रता लियो। ४७औं मिनेटमा विमल घर्तीमगरले बराबरी गोल फर्काए। भरत खवासको क्रसमा विमलले हेडमार्फत राष्ट्रिय टोलीका लागि पाँचौं गोल पूरा गरेका थिए। १ सय ४औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाए। हेमन गुरुङको लामो क्रसमा अनन्तले नजिकबाट हेड गरे। तर, अन्तिमतिर सम्हालिन नसक्दा १ सय १७औं मिनेटमा चाम्पाथोनले नै गोल गरेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको हो।

सफलतापछि नेपाली टोलीका जापानी प्रशिक्षक ग्योटुको कोजीले खुसी व्यक्त गर्दै भने, 'खेलाडी र मलाई यो राम्रो अनुभव हो। म फुटबल विकासका लागि नेपाल आएको थिएँ। मलाई लाग्छ यो जितले पक्कै केही सकारात्मक प्रभाव पार्नेछ।'

नतिजा सुखद आए पनि खेलका क्रममा भाग्यले पनि साथ दिएको कोजीको भनाइ थियो। उनले थपे, 'टोलीका सबै खेलाडी नायक हुन्। किरणले पेनाल्टी सुटआउटमा उत्कृष्ट बचाउ गरे तर नियमित र थप समयमा गल्ती पनि गरे।'

कोजीले खेलमा खेलाडीबाट कहिलेकाहीं गल्ती हुने स्मरण गराए। उनले भने, 'खेलाडीबाट कहिलेकाहीं गल्ती हुन्छ नै। मेरा खेलाडीले आज १ सय २० मिनेटसम्म मिहिनेत गरे। पाँच महिनाको विश्रामपछि लगातार तीन खेल खेल्न सहज हुन्न। उनीहरूले हामीलाई रोक्ने प्रयास गरेका हुन् तर सकेनन्।'

प्रशिक्षक कोजीले फाइनल प्रतिद्वन्द्वी को भनेर खासै फरक नपर्ने बताए। 'हामीले अझै एक खेल खेल्नेछौं, त्यसका लागि तयारी गर्नु छ,' उनले भने, 'फाइनलमा को पर्छ, त्यो खासै सरोकारको विषय होइन। बु्रनाईसँग हामीले खेलिसकेकाले त्यो टोली आउँदा केही सहज हुन सक्छ। मकाउबारे हामीलाई धेरै जानकारी छैन।'

एक दशकपछि एसियाली स्तरको प्रतियोगिताको सेमिफाइनल खेल्दा नेपालले पेनाल्टी सुटआउटमा अर्को दुर्भाग्य भोग्नुपरेन।

यसअघि २००६ मा बंगलादेशमा एसियाली फुटबल महासंघ (एएफसी) ले पहिलोपटक एएफसी च्यालेन्ज कप आयोजना गर्दा नेपाल सेमिफाइनलमा श्रीलंकासँग टाइब्रेकरमै पराजित हुँदै फाइनल पुग्न असफल भएको थियो। निर्धारित समयमै टोलीका तत्कालीन पहिलो रोजाइका पेनाल्टी प्रहारक प्रदीप महर्जनको प्रहार खेर जाँदा खेल टाइब्रेकरसम्म पुगेको थियो। टाइब्रेकरमा पनि उनै प्रदीपको प्रयास असफल भयो।

त्यसबाहेक पनि पछिल्लो समय नेपाली फुटबलका लागि पेनाल्टी अफापसिद्ध हुँदै आएको छ।

च्यालेन्ज कपभन्दा एक वर्षअघि पहिलोपटक क्लबस्तरको एएफसी प्रेसिडेन्ट्स कप काठमाडौंमै हुँदा पनि नेपालको प्रतिनिधि थ्री स्टार क्लबले त्यस्तै निराशा भोगेको थियो। सेमिफाइनलमा टोली किर्गिस्तानी क्लबसँग पराजित भयो। तीन वर्षअघि काठमाडौंमा सम्पन्न आठौं साफ च्याम्पियनसिपको सेमिफाइनलमा पेनाल्टीकै दुःखद संयोगका कारण नेपाल फाइनल पुग्न सकेन। अफगानिस्तानविरुद्धको अन्तिम चारको खेलमा टोलीका भरपर्दा खेलाडी रोहित चन्दले प्रहार गरेको पेनाल्टी दुईपटक (निर्धारित समय र टाइब्रेकरमा) सम्म असफल हुँदा नेपाल पराजित हुनुपरेको थियो।

यद्यपि सन् १९९३ मा बंगलादेशको ढाकामा सम्पन्न दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा भने टाइब्रेकरकै सफलतामा नेपालले उपाधि जितेको थियो। भारतलाई टाइब्रेकरमा हराउँदै नेपालले स्वर्ण जितेको हो। त्यसयता नेपालले टाइब्रेकरमा सफलता पाएको यो पहिलोपल्ट हो। ढाकापछि उपाधिविहीन नेपालले गत माघमा १२ औं सागको स्वर्ण पनि जितेको थियो।

प्रकाशित: २८ कार्तिक २०७३ ०२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App