७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘करिब ९० प्रतिशत जनता विद्युत् पहुँचमा’

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई एक नम्बर अब्बल संस्थाका रुपमा स्थापित गरेरै छाडिने दृढता व्यक्त गरेका छन्। 

प्राधिकरणको ३४औँ वाषिकोत्सवका अवसरमा शनिबार आयोजित पदक उपहार तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले सरकारी स्वामित्वका संस्थानमध्ये प्राधिकरणलाई एक नम्बरको संस्थाका रुपमा विकास गरिने बताए। पछिल्ला वर्षमा लगातार नाफामा गइरहेको संस्थालाई क्रमशः नाफा बढाउँदै लगिने र प्राधिकरणलाई थप व्यावसायिक संस्थाका रुपमा विकास गर्ने योजनाअनुसार नै काम भइरहको बताए। 

प्राधिकरणमा चमत्कार नै भएको जस्तै भइरहेको उल्लेख गर्दै उनले राजनीतिक स्थायित्वसँगै संस्थाको व्यावसायिक, कार्यशैलीगत र प्रशासनिक क्षमतामा समेत वृद्धि भएको उल्लेख गरे। विगतमा भाषणमा मात्रै सुधारका कुरा हुने गरेको भए पनि आज परिणाम नै देखिन थालेको स्पष्ट पार्दै उनले आगामी दिनमा थप सकारात्मक स्थितिमा संस्था पुग्ने मन्त्री पुनको विश्वास थियो। 

सबैको मेहनतले प्राधिरकण अब्बल संस्थाका रुपमा विकास हुँदै गएको भन्दै मन्त्री पुनले कार्यकारी निर्देशक कुलमान घिसिङ र अरु कर्मचारीले गरेको मेहनतको पनि उच्च प्रशंसा गरे। ‘सामूहिक प्रयत्नबाट मात्रै सफलता हासिल हुन्छ। कार्यकारी निर्देशकले व्यावसायिकरुपमा सबैलाई म्यानेज गर्नुभयो । यो नै सफलताको प्रमुख श्रेय हो’, उनले भने।

प्राधिकरणले करीब ९० प्रतिशत जनतामा विद्युत् पहुँच पुर्याएको र बाँकी रहेको क्षेत्रमा समेत आगामी दुई वर्षभित्र विद्युत् पु¥याउने लक्ष्य राखेको भन्दै सो कार्यमा साथ र सहयोग दिन सबैलाई ध्यानाकर्षण गराए। उच्च हिमाली, पहाडी तथा विद्युत् नपुगेका क्षेत्रमा विद्युत् पुर्याउने गरी काम गर्नुपर्ने दायित्व हामी सबैको काँधमा रहेको उनको भनाइ थियो। आगामी वर्षामा नै ठूलोमात्रामा विद्युत् जोडिने भएकाले त्यसलाई आन्तरिक खपत बढाउँदै क्षेत्रीय बजारमा पुर्याउने गरी कार्ययोजनासमेत बनाउनु जरुरी रहेको मन्त्री पुनको धारणा थियो।  

सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको स्मरण गर्दै उनले स्वदेशी तथा वैदेशिक लगानी भित्र्याउन पनि पहल भइरहेको स्पष्ट पारे। रासस

प्रकाशित: ३२ श्रावण २०७६ १६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App