८ वैशाख २०८१ शनिबार
कला

सम्मानित हुँदै जनगायक शर्माले भनेः कलाकारले झुटको खेती गर्न हुँदैन

दुलेगौँडा(तनहुँ)– जनगायक जीवन शर्मालाई तनहुँमा सम्मान गरिएको छ। शनिबार प्रगतिशील लेखक संघ तनहुँले दमौलीमा आयोजना गरेको कार्यक्रममा शर्मालाई सम्मान गरिएको हो।

गीत संगीतको माध्यमबाट बर्गीय विभेदको अन्त्य एवम् सामाजिक परिर्वतनका निम्ति किसान, मजदुरका पक्षमा आवाज उठाउँदै लामो समयदेखि संघर्षमा क्रियाशील रहेकाले उनलाई सम्मान गरिएको हो।  गण्डकी प्रदेश सांसद आशा कोइराला र प्रगतिशील लेखक संघ तनहुँका अध्यक्ष नारायण श्रेष्ठले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरे। 

सम्मानित गायक शर्माले आफू अझै ४० बर्ष गीतसंगीतको माध्यमबाट नेपाली समाजलाई ब्युताउन लागि पर्ने बताए। उनले कलाकारले झुटको खेती गर्न नहुने तर्क राखे। अगाडि भने, ‘दुनियाँ बदलियो। अब त समृद्धिको गीत गाउनुपर्छ भनेर साथीभाई भन्छन्। भारी बोक्ने भरियाहरुको अवस्था बदलिएको देख्दिन्। जबसम्म उनीहरुको जीवनमा समृद्धि आउँदैन तबसम्म समृद्धिको गीत गाउँदिन।’ उनले आफूलाई सधै गरिब किसान मजदुरको गीत गाउने रहर नभएको स्पष्ट पारे। 

पञ्चायतकालदेखि नै जनताका गीत गाउँदै हिँड्ने शर्माको ‘झरनाको चिसो पानी’, ‘सिमली छायाँ’, ‘फोक्लानको टापुबाट’, ‘चाँहिदैन मलाई सिसाको महल’, ‘बुढो किसान’, ‘छेकेर छेकिन्न’ लगायत दर्जनौँ गीतहरु चर्चित छन्। उनका जनबादी गीतहरु जनताको मन मस्तिष्कमा छाप बनेर बसेका छन्।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य लेखनाथ न्यौपानेद्वारा लिखित कृति ‘संघर्षको इतिहास’ माथि परिचर्चा गरियो। शेषमणि आचार्य र डम्बरदेवी कैनीले कृतिको समिक्षा गरे। उनीहरुले पार्टीको तल्लो तहका कार्यकर्ता, क्याम्पस पढ्ने विद्यार्थी र मजदुरहरुलाई पुस्तक उपयुक्त रहेको बताए। क्रान्तिकारी पुस्तक प्रकाशित गर्दै आएका न्यौपानेको ‘संघर्षको इतिहास’ दशाैं कृति हो।

प्रकाशित: ३२ श्रावण २०७६ १५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App