८ वैशाख २०८१ शनिबार
समाज

बुद्धविहार पुनःनिर्माणका लागि महानगरको एक करोड

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छे लगायतका सम्पदाआफ्नै कार्यकालमा पुनःनिर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

भृकुटीमण्डपस्थित बुद्ध विहार पुनःनिर्माणका लागि शनिबार महानगरका तर्फबाट अनुदान स्वरुप १ करोड रुपैयाँ हस्तान्तरण गर्दै मेयर शाक्यले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘मैले निर्वाचनकै बेला महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छे लगायतका सम्पदाआफ्नै कार्यकालमा पुःननिर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको थिएँ’, उनले भने, ‘संस्कृति, सम्पदा संरक्षणमा म ध्यान केन्द्रीत गरेर लागेको छु। रकम अभाव भयो भनेर चिन्ता नलिनु होला। मैले सकेको म गर्छु, नभए प्रदेश र केन्द्र सरकारलाई समेत भनेर अभाव हुन दिन्न।’ 

मेयर शाक्यले पछिल्लो समय सार्वजनिक जग्गाको खोजी गर्दै महानगरपालिका ती स्थानहरुमा पार्क निर्माण गर्ने, हरियाली प्रवर्द्धन गर्ने जस्ता कार्यमा लागेको पनि उनले जानकारी दिए। ‘पुराना विहारहरुको स्वरुपअहिले बिग्रिँदै गएको छ, त्यसमा तपाईँहरुले ध्यान दिनुहोला’, उनले भने, ‘सम्पदा नविग्रिने गरी निर्माण गर्दा केही महंगो पर्यो भने महानगर खर्च गर्न तयार छ।’ 

उनले भृकुटी मण्डपको बौद्धविहार नमूनाका रुपमा पुःननिर्माण भएको पनि उल्लेख गरे। त्यसैगरी मेयर शाक्यले नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको नयाँ भवन निर्माण र नेपाल बौद्ध परियति शिक्षा सञ्चालनलाई पनि चालू आर्थिक वर्षमा यथोचित बजेट विनियोजित गरेको जानकारी दिए।

भूकम्पबाट क्षतिग्रस्त भएको सो विहार पुनःनिर्माणका लागि करिब ४ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ। ४ करोड लाग्ने अनुमान गरिए पनि मौलिक ढंगले निर्माण गर्ने भएकाले रकम थप भएको हो। ८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको छ।

सोही कार्यक्रममा बोल्दै काठमाडौं क्षेत्र नम्बर ६ केन्द्रीय सांसद भिमसेनदास प्रधानले मेयर शाक्यलाई कोटेश्वर तीनकुनेलाई बौद्धपार्कका रुपमा प्रक्रिया अघि बढाउन सुझाव दिए। प्रधानको सुझावपछि मेयर शाक्यले अहिले त्यो क्षेत्रमा मुआब्जाको समस्या रहेको भन्दै त्यो टुंगिने वित्तिकै प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। 

त्यसो त शाक्यले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दा उनले काठमाडौँको सम्पदा संरक्षणमा ध्यानदिन सुझाव दिएको प्रसङ्ग कोट्याउँदै मेयर शाक्यको ध्यानाकर्षण गराए। ‘तपाईँ महानगरपालिकाको मेयर हो, त्यसैले यहाँका सम्पदा संरक्षण गर्ने बढी दायित्व पनि तपाईँकै हुन्छ’, प्रधानले भने, ‘प्रधानमन्त्री केपीशर्मा ओलीले पनि ‘एक शहर एक पहिचान’को अभियान अघि बढाउनु भएको छ। त्यसमा तपाईँले ध्यान दिनुहोला।’

मेयर शाक्यले प्रधानको सुझावपछि आफू एक्लैले गरेर नहुने भन्दै सबैको साथ सहयोग अपरिहार्य भएको बताए। 

एक करोड रुपैयाँको चेक ग्रहण गरेपछि सो विहारका तथा विहार पुनःनिर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थिकरले महानगरपालिकाले उक्त रकम सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे। उनले महानगरपालिकाको सहयोगले ढुक्कका साथ विहार पुनःनिर्माण गरिसक्ने विश्वास पैदा गरेको पनि बताए।  

चेक हस्तान्तरण समारोहमा संघीय सांसद् कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद्हरु डाक्टर अजयक्रान्ति शाक्य, राजेश शाक्यसहित उपप्रमुख हरिप्रभा खड्गी र विभिन्न वडाका वडाअध्यक्षको उपस्थिति रहेको थियो।

प्रकाशित: ३२ श्रावण २०७६ १३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App