१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नुन अभावको हल्लाले कालोबजारी बढ्यो

नेपालगन्ज- नेपालगन्ज–७ फुलटेक्रा निवासी शारदा खड्का एक किलो नुन किन्न शनिबार बिहान थुप्रै पसल धाईन्। तर, बजारमा चलेको मुल्यमा नुन कतै पाईनन्। बरु उनले पसलमा प्रतिकिलो ७० देखि ८० रुपैयाँमा नुन किनबेच भइरहेको प्रत्यक्ष देखिन्। ‘अब नुन पाइन्न रे भन्दै एउटै व्यक्तिले चार/पाँच किलो नुन किनेको देखियो,’ शारदाले भनिन् ‘म त नकिनेरै फर्किए।’ 

‘भारतमा नुनको अभाव सिर्जना भएको’ भन्ने समाचार सार्वजनिक भएपछि नेपालगन्जमा शुक्रबार रातीदेखि नै नुन कालोबजारी  सुरु भएको हो। शुक्रबार रातीदेखि शनिबार बेलुका सम्म पनि नुनको अभाव देखाएर कालोबजारी गर्ने क्रम चलिरह्यो । नेपालगन्जका प्रत्येक जसो पसलमा नुन किन्ने ग्राहकको घुँइचो लागेको दृश्य सहजै देखिन्थ्यो । बजारमा खुलेआम कालोबजारी भइरहदाँ स्थानीय प्रहरी, प्रशासन भने रमिते झै बन्यो ।

 गतवर्ष भारतले लगाएको नाकाबन्दीका बेला महिनौं सम्म पेट्रोलियम पदार्थको अभाव खेपेका सर्वसाधारणले नुनको पनि अभाव भएको हल्ला सुनेर नुनको जोहो गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार कालोबजारी सिर्जना गर्ने व्यापारी तथा बिचलैयाले सर्वसाधारणलाई बजारमा कायम रहेको मुल्यमा नदिएर प्रतिकिलो ३० रुपैयाँदेखि १ सय ५० रुपैयाँ सम्म बिक्री गरेको पाइएको छ। जबकी साल्ट ट्रेडिङले ‘आयो नुन’ को खुद्रा मुल्य प्रतिकिलो १८ रुपैयाँ मात्र तोकेको छ । मानव स्वास्थ्यका लागी अत्यावश्यक मानिने नुनको अभाव सिर्जना भएको हल्लाले अधिकांस सर्वसाधारणहरु महंगो मुल्य तिरेर भएपनि नुन किन्न बाध्य भए। अधिकांस व्यापारीले महंगो मुल्यमा बेच्न पाइने आशाले नुनको स्टक लुकाएका छन्।

बजारमा कालो बजारी गर्ने व्यक्तिले नुन प्रतिकिलो ५० देखि १ सय ५० रुपैयाँ सम्म बिक्री गरेपनि आफुले चिनेजानेको पसललाई अनुरोध गरेर ३५ रुपैयाँको एक प्याकेट किनेर ल्याएको नेपालगन्ज, एकलैनीका अनुप कनोजियाले सुनाए । ‘बजारमा त नुनको भाउ छोइनसक्नु भएको छ, धेरै जसो पसलले त पहिलेको मुल्यमा नुन दिन छाडिसकेका छन,’ उनले भने ‘नुनको अभाव भएको हो/होईन यस सम्बन्धी सरकारको भनाई आउनुपर्‍यो।’

साल्ट ट्रेडिङ अञ्चल कार्यालय नेपालगन्जमा हाल १२ हजार मेट्रीक टन नुन स्टक छ । यसका साथै दाङ र सुर्खेतस्थित गोदाममा पनि पर्याप्त मात्रामा स्टक रहेको कार्यालयले जनाएको छ । यसैगरी जाजरकोट, रोल्पा, रुकुम लगायत जिल्लामा पनि साल्टको नुन प्रसस्त मात्रामा रहेको कार्यालयले जनाएको छ।

उक्त परिमाणको नुन बाँके लगायत यस क्षेत्रलाई कम्तिमा ६ महिना पुग्ने साल्ट टे«डिङका अञ्चल प्रमुख मनोज चौधरीले प्रष्ट्याएका छन् । ‘हामीसँग पर्याप्त मात्रामा स्टक छ, कुनै अभाव छैन, हल्लाको पछाडी कोहीपनि नलागे हुन्छ,’ उनले भने । प्रमुख चौधरीका अनुसार साल्ट ट्रेडिङ नेपालगन्जले बाँके लगायत पहाडी जिल्लामा नुन खपत गर्दै आएको छ । नेपालगन्ज कार्यालयले मासिक रुपमा ४ सय देखि ५ सय मेट्रीक टन बिक्री गर्दै आएको छ।

भारतमा नुनको अभाव सिर्जना भएको हल्ला चलेपछि नेपालमा पनि त्यहाँको हल्लाले प्रवेश पाएको चौधरी बताउँछन्। नुनको अभाव देखाएर कालो बजारी गर्ने व्यक्तिले चलखेल गर्न खोजेको हुन सक्ने उनको आशंका छ । ‘हामीसँग आवद्ध रहेका डिलरलाई सजग गराइसकेका छौं,’ चौधरीले भने ‘आवश्यकता भन्दा बढी माग्नेलाई र एउटै व्यक्तिलाई धेरै परिमाणको नुन नदिन निर्देशन दिएका छौं ।’ नेपालको नुन भारततिर तस्करी हुन सक्ने खतरा रहेकाले यस विषयमा स्थानीय प्रशासन मार्फत प्रहरीलाई निग्रानी गर्न खटाइएको साल्ट ट्रेडिङले जनाएको छ।

यता बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले साल्ट ट्रेडिङसँग नुनको स्टक पर्याप्त मात्रामा रहेको बुझिएकाले हल्लाको पछाडी नलाग्न सर्वसाधारणलाई अनुरोध गरेका छन् । ‘साल्ट ट्रेडिङसँग ६ महिनालाई पुग्ने नुन छ, कसैले अनावश्यक रुपमा सन्चय गर्न र बढी मुल्य तिरेर किन्न आवश्यक छैन,’ पन्थले भने। बजारमा कालो बजारी गर्ने व्यक्तिलाई प्रहरीले निग्रानी बढाइरहेकाले कारबाहीको दायरामा ल्याउने उनको चेतावनी छ।

कालोबजारी गर्ने दुई पक्राउ

नुनको कालो बजारी गरेको आरोपमा बाँके प्रहरीले शनिबार दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। नेपालगन्ज–१५ निवासी नक्की अहमद र अस्लम खाँलाई न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले जानकारी दिए। उनीहरुलाई तीस वटा खुल्ला प्याकेट र एक बोरा नुन सहित प्रहरीले पक्राउ गरेको हो। पक्राउ अभियुक्तलाई कालो बजारी ऐन अनुसार कारबाही हुने एसपी राईले बताए।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २७ कार्तिक २०७३ १२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App