coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

सुनसरीमा डेंगुः तीन हजार २६६ बिरामी, एक जनाको मृत्यु

इटहरी– तीन महिनाको अवधिमा सुनसरीमा डेंगुका बिरामीको संख्या तीन हजार २६६ जना पुगेको छ। जसमा सबैभन्दा बढी धरान क्षेत्रमा मात्र तीन हजार १७३ जना बिरामी पुुगेका छन्। एक जनाको डेंगुले गर्दा मृत्यु भएको छ।

धरानमा डेंगुको प्रकोप महामारीकै रुपमा फैलिएको छ। अरु स्थानमा भने डेंगुको प्रकोप नियन्त्रणमै छ। जिल्लाभरको रेकर्डअनुसार २०७६ वैशाख ३० गतेदेखि साउन २८ गतेसम्म सबैभन्दा बढी धरानमा बिरामीको संख्या रहेकोमा इटहरीमा ६३ जना र इनरुवामा ३० जना भएको जिल्ला अस्पतालको रेकर्डमा उल्लेख छ।

डेंगुले गर्दा अहिलेसम्म धरानमा एक जनाको मृत्यु भएको छ। जिल्ला अस्पतालका अनुसार धरान वडा नं. १५ की ३० वर्षीया मनु सुनुवारको मृत्यु भएको हो।

डेंगु धरानमा अझैसम्म पनि नियन्त्रणमा आएको छैन। जसले गर्दा धरानमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आग्रह अनुसार डेंगु नियन्त्रणका लागि कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई यसबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ।

‘खासगरी परिपक्क मान्छेको मनस्थितिमा परिवर्तन ल्याउन गाह्रो हुन्छ,’ जिल्ला अस्पतालका प्रमुख सागर प्रसाईंले भने, ‘लाम्खुट्टेको लार्भा नष्ट गर्नका लागि कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाईं डेंगुबारे ज्ञान दिइन्छ।’ उनीहरूलाई ज्ञान दिँदा परिवारका सदस्यलाई सचेत हुन दबाब दिएर डेंगु नियन्त्रणमा सघाउ पुग्ने विश्वास लिइएको छ। ‘अर्को साताबाट कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौं,’ उनले भने, ‘सरदर १८ जना चिकित्सकको टोलीले पाँच÷सात दिन लगाएर डेंगुबारे ज्ञान दिने तयारी भएको छ।’

धरानमा सुरुआतमा वैशाख ३० गते तीन जना बिरामीमा डेंगुको संक्रमण भेटिएको पत्ता लागेपछि क्रमशः ८ बाट १२ जना हुँदै अहिले २० वटै वडामा डेंगुको महाहारी रहेको छ। यहाँ असार महिनाको तुलनामा साउनमा संख्यात्मक हिसाबले बिरामी घटे पनि नियन्त्रण हुने कुनै छनक नदेखिएको जिल्ला अस्पताल प्रमुख प्रसाईंले बताए।

डेंगुका चार प्रकार हुन्छन्, टाइप वान, टु, थ्री र फोर। ‘अहिले धरानसँगै सुनसरीका इटहरी र इनरुवामा भएको डेंगुको टाइप टु हो,’ उनले भने, ‘टाइप थ्री र फोर भएमा मानवीय क्षति बढी हुन्छ।’ उनले टाइप टुमा सिटामोल खाएर सातदेखि दस दिनसम्म आराम गर्दा सञ्चो हुन्छ। अहिलेसम्म धरानबाहेक अन्यत्र भने डेंगु नियन्त्रण बाहिर नगएकाले गर्दा आतिनुपर्ने अवस्था छैन्।

धरानमा डेंगु फैलिनुमा पानी स्टोर गर्नाले बढी मात्रमा भएको हो। त्यहाँ पानी स्टोरको समस्या हटेमा डेंगु फैलिने खतरा पनि कम हुन्छ। डेंगु भएमा उच्च ज्वरो आउने, वान्ता हुने, शरीरका जोर्नी दुख्ने, प्लेटलेसको कमीले शरीर नीलो हुने, रातो डाम बस्नेलगायतका लक्षण देखा पर्छन्।

प्रकाशित: ३२ श्रावण २०७६ ०६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App