अनुभूति

वर्षात् गाउँ सम्झेर

शनिबार, ३२ साउन २०७६, ०९ : ३९ टङ्क भट्टराई

बादलुको घुम्टो ओढेर बेहुलीझैं सिँगारिएका छन् असार–साउनका बेला पहाडी गाउँहरू। झमझम पानीको वर्षा मकैका पातमा ठोकिँदा सुनिने त्यो सांगीतिक आवाज बढो मीठो लाग्छ। पहाडी ग्रामीण बस्तीमा साँझको बेला कुनै रुख, बुट्यान् वा केराबारीमा बसेर झ्याउँझ्याउँ झनननन गर्दै गीत गाउने झ्याउँकीरी त झन् प्रकृतिको आदिम गायकजस्तो लाग्छ। जताजतै जरुवा फुटेर धर्तीका कोखबाट निस्कने त्यो पानीको भुलभुल आवाज त्यत्तिकै कर्णप्रिय लाग्छ। अरू बेला रूपरंग उडेका, कमिलाका ताँती हिँड्ने खोल्साखोल्सीहरू कुल्कुलाउँदै आफ्नो बैंस पोख्न आतुर हुन्छन् यो बेला।
अँध्यारा रातमा सुन्दा वर्षाको झंझमावट।
परमानन्दका ढोका स्वयं खुल्छन् खटाखट।।

रूपकी रानी प्रकृति जूनले नुहाउँछिन् शरद्मा। फूलैफूल र हरियालीको मादकतामा बेस्सरी लठ्ठिन्छिन् वसन्तमा। हिउँ र तुषारोको सेतो बर्को ओढेर घामको झुल्कोसँगै पग्लिन्छिन् हिउँदमा। ग्रिष्मको प्रचण्ड घाममा त्यसैत्यसै लोलाउँछिन् र वर्षामा वर्षात्ले धीत मर्ने गरी नुहाउँछिन्। भुृइँकुहिरोसँगै लुकामारी गर्छिन्। संगीतमग्न भएर बगेका खोला–खोल्सीहरूसँगै गीत गाउँछिन्। यसरी ऋतुपिच्छेका रंगहरू उत्तिकै मनोहर लाग्छन्, उत्तिकै प्रिय लाग्छन्।

मुलुक अझै अल्पविकसित अवस्थामा गुज्रिरहेको र उद्योगधन्दाको अवस्था अत्यन्त नाजुक रहेकाले यहाँका अधिकांश जनता खेती–किसानीमा आश्रित छन्। असार–साउनमा पानी नपरे जनताहरू अत्तालिन्छन्। यत्रा नदीनालाहरू बगेर त्यसै खेर जान्छन्। तर, असारमा पानी नपरे किसानहरूले वर्षभरि नै अनिकाल व्यहोर्नुपर्ने हुन्छ। अकासे खेतीमाथिको निर्भरता घट्न सकेको छैन। पानी नपर्दा किसानहरू आत्तिएर भ्यागुताको बिहा गर्ने, इन्द्रको पूजा गर्ने परम्परागत विश्वासहरू पनि यद्यपि कायम छन् गाउँ बस्तीहरूमा।

नेपालका पहाडी गाउँहरू उही विकट अवस्थामै छन्। आधुनिक प्रविधियुक्त खेतीप्रणाली उही नारामै मात्र सीमित छ। बाउबाजेले गरी आएको परम्परा नै किसानहरूका लागि प्रिय छ। त्यसैले खेती–किसानी कर्मको लागि बेलैमा विभिन्न कुराको जोहो गर्न थाल्छन् उनीहरू। बर्खा लाग्नुअघि नै विश्वकर्माकोमा गएर कुटो, कोदालो, फाली, हँसिया अर्जाप्छन्। हलो, जुवा, अनौ, हरिस, दाँदे, फ्याउरी ठीक दुरुस्त पार्छन्। नाम्ला, दाम्ला, बरिया, जोताराहरू बाटेर घरमा सञ्चय गर्छन्। बजारमा भोर्लाको पातको घुम खुब बिक्छ यो बेला। घाम कम लाग्ने, जतिखेरै पानी परिरहने र खेतमा बढी समय दिनुपर्ने हुँदा मिलमा धान कुटाएर चामलको बन्दोबस्त गर्छन्। आलु, प्याज, दाल आदि तिहुनताहुनको जोहो गर्छन्। नहुनेहरूले हुनेहरूबाट नगद–जिन्सी सरसापट ऐंचोपैंचो चलाउँछन्।
खेतमा जलका धारा वर्षंदाखेरि बाहिर।
उर्लन्छ खेतीवालाका मनमा सुख–सागर।।

वर्षायाममा बाहिर अविरल जलका धारा। भित्र किसानका मनमा अनन्त सुख सागर। झरीको परवाह कसैलाई छैन। मानौं भगवान् ईन्द्रले माथिबाट अमृतधारा बर्साइरहेछन् र किसानले त्यसलाई शरीरका अंगप्रत्यंगबाट पान गरिरहेछन्। यो बेला धर्तीपुत्रहरू बर्खे बाली घरमा थन्क्याउँदै मंसिरमा भिœयाउने नयाँ धानबालीको लागि दत्तचित्त हुन्छन्। भोकप्यास नभनी अहोरात्र खट्छन्। खेतीकर्मको यो महोत्सवमा कोही घुम ओढेर बीउ काढिरहेका हुन्छन्। कोही आली चिल्याइरहेका हुन्छन्। कोही छेउभित्ता खनिरहेका हुन्छन्। हलीहरू खेत हिल्याइरहेका हुन्छन्। लुते लांग्रेहरू गोरु अँचेट्न सक्दैनन्। तर, बलियाबाङ्गाहरू भने दाँदेमा चढेर हिलो उराल्दै गोरु कुदाइरहेका हुन्छन्। रोपाहारहरू घुँडाभन्दा माथिसम्म फरिया सारेर धानको बीउसँगै आफ्ना रहर र सपनाहरू हिलाम्य माटोमा रोपिरहेका हुन्छन्। उरन्ठेउला ठिटाहरू भने गरामा डब्किएको पानीभित्र ठूलो खाल्डो खनेर रोपाहारहरूलाई चु्र्लुम्म डुबाउन खोज्छन्, लडाउन खोज्छन्। रोपाहारहरू पनि के कम बाउसेहरूलाई धारे हात लाउँदै हिलोमा चोबेको बीउको मुठाले निथु्रक्कै बनाइदिन्छन्। रोपाहार र बाउसेहरूको त्यो घम्साघम्सी साच्चिँकै हेर्न लायक हुन्छ। हाँसोले खेत गुञ्जायमान हुन्छ। यो बेला किसानहरूले आफ्ना वर्षभरिका दुःख र बेचैनीहरू बिर्सेका हुन्छन्।
सानोमा सानो बाखरी पाठो मासु त मनैको।
पञ्चै र बाजा आलीमा राखी स्वर सुन सनैको।।
छुपु है छुपु धान है रोपें हातैको मर्मैले।
झ्यालैमा बस्ने जीउ मेरो थियो दिएन कर्मैले।।

छुुपुछुपु धान रोप्दै रोपाहारहरूले असारे गीत घन्काउँछन् असारमा। विरह, वेदना, दुुःख–सुख, मायापिरती छताछुल्ल पोखिन्छन् गीतबाट र रन्किन्छन् सारा खेत र पाखाहरू। उहिले–उहिले त धनीमानीहरूले ठूलो खेतखलामा बाजागाजाका साथ बेठी लाउने गर्थे। यही बेला असारे गीतहरूले डाँडापाखा घन्किन्थे। अहिले यी मौलिक परम्पराहरू प्रायः लुप्त भइसकेका छन्।

असारको पन्ध्रमा दहीचिउरा खाएर खेतमा पस्नै पर्ने, हिलोको टीको लगाउनुपर्ने र खेत रोपिसकेपछि मैजारो गर्ने नेपालीका मौलिक संस्कृति हुन्। असार साउनमा खेती लाउने क्रममा किसानहरूलाई यति लछारो हुन्छ कि उनीहरू भनेका बेला न खान पाउँछन् न बस्न नै। न झरी भन्न पाइयो न हिलोमैलो भन्न पाइयो। लोग्ने मान्छेहरू एकाबिहानै गोरु घँस्याएर हातमा कोदाली, काँधमा हलोजुवा बोकेर सखारै खेतमा जानुपर्ने हुन्छ। घरको कामधन्दा, खाजापानी, घाँसपात यी सबै गरेर आइमाई मान्छेहरू पनि हातमा घुम, हँसिया च्यापेर खेततिर दगुर्नुपर्ने हुन्छ। धानको बीउ काढ्ने, आलीमा मास भटमास रोप्ने अनि फेरि धान रोप्ने, लोग्ने मान्छे कम हुँदा आली लाउने, बाउसे गर्ने जस्ता कामहरू पनि उनीहरूले भ्याउनुपर्ने हुन्छ।

कोही बीउ काढ्नमा, कोही आली (आँठा) लाउनमा, कोही फ्याउरी लाउनमा, कोही हिल्याउनमा, कोही गोरु कुदाउनमा, कोही बाउसे गर्नमा, कोही छिटोछिटो धान रोप्नमा र कोही गीत गाउनमा खप्पिस। विभिन्न कामहरूमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूको छुट्टै चर्चा–परिचर्चा। हरेक मान्छेका अनुहारमा खुसी र आनन्द। खेतका गरागरामा उल्लास र उमंग।
असारे मासको दबदबे हिलो मुङ्सिरको कचिया।
हातको फ्याउरी थपक्कै राखी सुन्नुस् रसिया।।

असारे मासको दबदबे हिलोमा धर्तीपुत्रहरू छप्लाङछप्लाङ हिलोमा खेल्दा, समाहाबाट धरर–र पानी बग्दा, धानसँगै आलीमा रोपेका भटमास रुङ्न जादाँ ‘हा–हा–ए ढुकुरले भटमास नखाए’ जस्ता केटाकेटीले ट्यापट्यापे बजाउँदै गाएका गीति आवाज र जताततै ‘ह...ह हो...री आइज’ जस्ता ध्वनिको माधुर्यले एउटा छुट्टै सांगीतिक बान्की थपेजस्तो लाग्छ यो बेला। झरीमा युवायुवतीहरू निथु्रक्क रुझेर लेक बेँसी गर्दाको आनन्द अर्कै हुन्छ। पानीले भिजेर जीउमा लुगा टपक्कै टासिँदा अझ आकर्षक देखिन्छ उनीहरूको ज्यान।

किसानहरूले माटोमा पसिना पोख्दै अन्न उब्जाइरहेका छन्। र त हामी सबै पालिएका छौं। सबै धानिएका छौं। नत्र श्रम नगर्ने र सहरमा बस्ने सुकिलामुकिलाहरूको हविगत के हुन्थ्यो होला ?

पहाडी खेतमा धान रोप्नुअगाडि फलेका हरिया मकै र बारीमा लहराएका फर्सीका मुन्टाको बयान त झन् गरी साध्य छैन। बर्खाको बेला कुहिरोको पर्दाले गाउँघर पूरै ढाकिँदा केटाकेटीहरू ‘कुद्–कुहिरा कुद्, तेरा घरमा चोर पसो’ भन्दै गीत गाउन थाल्छन् र पानी पर्नासाथ आँगनमा निस्किएर ‘पानी पर–पर, घ्याम्पा भर–भर’ भनेर रमाउँदै उफ्रिन थाल्छन्। मेलामा गएर एकैछिन टुसुक्क बस्न नभ्याई सबैले श्रम गरेका बेला घरमा रहेका बूढाबूढीहरू पनि आपूm त्यसै के बस्नु भनेर कोही दाम्ला–नाम्ला, बरिया, कुचा बाटिरहेका हुन्छन् त कोही गुन्द्री, गजरा, पिरा र चकटी बुनिरहेका हुन्छन्। घरमा बस्नेहरूलाई पनि हाइसञ्चो कहाँ हुन्छ र। अनेकौं घरायसी कामहरू बग्रेल्ती हुन्छन्। एकछिनमै पानी पर्छ अनि एकछिनमै घाम लाग्छ। जब पानी पर्न थाल्छ उनीहरू हतारहतार बिस्कुन उठाउन थाल्छन्। कोही स्यालले कुखुरा लान्छ भनेर ‘ल्वाहै–ल्वाहै’ भन्दै घरका पेटीबाट ठूलो स्वरमा कराउन थाल्छन्। कोही साना नानीहरूलाई कोक्रामा हल्लाउँदै लोरी गाइरहेका हुन्छन्। कोही भोकले कराइरहेका बाख्रापाठालाई शान्त पार्न मकैका पात लुछेर टाट्नामा हाल्दिन्छन्। अनि बारीमा पसेर आधिसरो रुझ्दै फर्सीका मुन्टा टिपेर घरका दलानमा बसी केलाउन थाल्छन्।

अहिले दृश्य अलि बदलिएको छ, चलन अलि फेरिएको छ गाउँमा। ऊ बेलाको जस्तो मौलिकता छैन। ऊ बेलाको जस्तो उत्साह उमंग पनि छैन। खेतका ठूला गरामा बाजागाजा सहितको बेठी, असारे गीतका शब्द र लयहरू अब एकादेशका कथा भइसके। खानपिनको तरिका पनि फेरिएको छ रोपाइँमा। उहिले बोक्रै सहितका आलुका चाना र फर्सीका मुन्टाको तिहुन, लसुनले झानेको कालो दाल, कर्कलाको अचार। ठेकीको दही र मही। ढिकीमा कुटेको चामलको भात। दिनभरिको कामले लखतरान भएको ज्यानले भातका चोइला थपीथपी खाँदाको आनन्द अर्कै थियो भने अहिले त्यसको ठाउँमा ब्रोइलर कुखुराको तिहुन अनिवार्य छ। अझ गलेको ज्यानमा फुर्ति आउने गाउँले जिनिस (तीनपाने त काँ पाउनु आठ–दस पाने सम्मको) को चल्ती पनि निकै अगाडि बढेको छ। तर, अर्मपर्मको परम्परा भने राम्रै चलेको छ। गाउँमा युवाहरू कम हुने हुँदा कहिले आनो कहिले अर्काको आलोपालो मिलाएर खेतीकर्म गर्ने चलन निकै राम्रो छ। जेहोस्, किसानहरूले आनो कर्म गरिरहेका छन्। माटोमा पसिना पोख्दै अन्न उब्जाइरहेका छन्। र त हामी सबै पालिएका छौं। सबै धानिएका छौं। नत्र श्रम नगर्ने र सहरमा बस्ने सुकिला–मुकिलाहरूको हविगत के हुन्थ्यो होला ?

यसरी असार–साउन नेपाली किसानहरूको महापर्व हो। बर्खे झरीसँगै हिलोमा पसिना पोखेर सुन फलाउने समय हो। प्रकृतिको काखमा निथ्रुक्कै भिजेर, खेतको हिलोमा हिलाम्य भएर श्रमको गीत गाउने बेला हो। श्रमका पुजारीहरूले हिलोमा कमलझैँ फक्रिएर जीवनको सुगन्ध छर्ने मौका हो। असार साउनसँग गाँसिएका हाम्रा थुप्रै मौलिक र विशिष्ट संस्कृतिहरू छन्। तिनको संरक्षण गर्दै र हाम्रो जीवन पद्दतिमा भिजाउँदै भावी पुस्ताहरूमा यिनको महत्वबोध गराउनु हामी सबैको अहम् दायित्व हो।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad