coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

१०० औं हाइकिङ

हाइकिङ अभियन्ता राजीब हलुवाई

सेवक अभियानले धरानमा हाइकिङ जागरण ल्याएको छ। लाहुरेहरूको सहर धरानलाई ‘हाइकर्सहरूको सहर’ उपमा दिन मिल्ने भएको छ। अचेल धरानेहरू हरेक शनिबार हाइकिङ गर्छन्। वरपरका डाँडापाखा घुमेर आआफ्ना घरमा फर्कन्छन्। सामाजिक कामको अगुवाइ गर्दै आएको ‘सेवक अभियान’ले उनीहरूमा हाइकिङ जागरण ल्याएको हो।  

अभियानका संयोजक राजिव हलुवाइको अगुवाइमा ०७४ भदौ ३१ गतेदेखि हरेक शनिबार हाइकिङ गर्न थालियो। ‘स्वास्थ्यका लागि पदयात्रा’ नारा बोकेर बिहान सिंहदेवी चोकमा भेला भएर उनीहरू पदयात्रा सुरु गर्छन्।

साउन २५ गते शनिबार उनीहरूले १०० औं हाइकिङ पूरा गरे। अभियानले ९.३ किमी लामो हाइकिङ रुटलाई ‘विजयपुर टे«ल’का रूपमा ब्राण्डिङ गरेको छ। सिंहदेवीबाट हाइकिङ सुरु गरेर दुईधारा, दन्तकाली, विजयपुरचोक, हात्तीसार, शिवधारा, विन्ध्यवासिनी मन्दिर, बुद्धिकर्ण रायको दरबार, पाथीभरा, पञ्चकन्या मन्दिर, बुढासुब्बा, पिण्डेश्वर, मण्डपचोक, त्रिरत्न विहार, गैरीकुवा हुँदै सिंहदेवी आइपुग्दा विजयपुर परिक्रमा  पूरा हुन्छ।

प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीलाई प्रमुख अतिथि बनाएर गरिएको एक सय औं हाइकिङमा पाँच सय जना हाइकर्स सहभागी थिए। धरानेहरूमा स्वास्थ्य जागरण ल्याउन अभियान सफल देखिन्छ। धरानको सेरोफेरोमा धेरै हाइकिङ रुट छन्। धार्मिक, प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा छन्। त्यसैले पसिना निकालेर ती ठाउँमा पुगेर आनन्द लिनेहरू दिनदिनै बढ्दै छन्। सेवक अभियानको सिको गरेर आआफ्नै ढंगले हाइकिङ गर्नेहरू पनि बढ्दै छन् धरानमा। यो सुखद् खबर हो।

‘हालसम्म करिब दश हजार जनाले हाइकिङ गरिसके’, हलुवाई भन्छन्, ‘धरान नगरपालिकाका मेयर तारा सुब्बाले हाम्रो पहिलो हाइकिङ शुभारम्भ गर्नु भएको थियो। दुःखको कुरा आज उहाँ हामीमाझ हुनुहुन्न।’   हाइकिङ गर्न शुल्क तिर्नु पर्दैन। आवश्यक फलफूल र पानी आफैं बोकेर ल्याउनु पर्छ। शनिबार बिहान ६ बजे सिंहदेवीमा जोजो भेला हुन्छन्,उनीहरूको अगुवाइ गरेर हलुवाइ अघि बढ्छन्। हरेक पटक उनीहरू फरकफरक ठाउँमा जान्छन्।

सामान्यतः ६ किमी हाइकिङ गराउँछन्। महिनाको अन्तिम शनिबारचाहिँ लामो र साहसिक हाइकिङ गराइन्छ। हलुवाइ आफैंले नेतृत्व गर्दै आएका थिए भने अबचाहिँ हाइकिङ संयोजकका रूपमा अमित थापा काम गर्दैछन्। हाइकिङ धरानको पहिचान बनिसक्यो। हिँड्नु पर्छ भन्ने भावनाले विशेषतः गृहिणी, रोगी र बालबालिका जुर्मुराएको देखेर हलुवाई प्रसन्न छन्। ‘यसलाई निरन्तरता दिन्छौं’, ६० वर्षे उनले भने, ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा छ।’

उनी ललितपुरको प्रकृतिप्रेमी समूहबाट प्रभावित छन् जुन समूहले ०६३ सालदेखि हरेक महिनाको चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। समूहकी हाइकिङविज्ञ रामदेवी महर्जनका हाइकिङसम्बन्धी लेखहरू पढेर उनी हाइकिङ गराउन हौसिएका हुन्।   भोलिका दिनमा हाइकिङलाई अझै व्यवस्थित बनाएर लैजाने उनको अठोट छ। शुभकार्यका लागि सेवक अभियानलाई बधाई एवं शुभकामना !

प्रकाशित: ३२ श्रावण २०७६ ०३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App