८ वैशाख २०८१ शनिबार
अन्य

किरात वाम्बुले राईले मनाए ढ्वाङकुमो

ढ्वाङकुमो कार्यक्रममा मादल र बाँसुरी बजाइँदै। तस्बिरःनागरिक

किरात वाम्बुले राई समुदायले बिहीबार ढ्वाङकुमो पर्व धुमधामसँग मनाएका छन्। वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको आयोजनामा कार्यक्रम भएको हो। वाम्रासका केन्द्रीय उपाध्यक्ष गणेश राईले हरेक वर्ष विविध सांस्कृतिक कार्यक्रम गरी उपत्यकामा पनि ढ्वाङकुमो चाड मनाउँदै आएको बताए। ‘प्रकृतिको पूजा गरेर हरेक वर्षको भदौ पूर्णिमाको अवसरमा यो चाड मनाउँदै आएका छौँ,’ उनले भने, ‘यसै दिन उपत्यकामा पनि मनाउँदै आएका छौँ। हाम्रो मौलिक चाड भएकाले अहिलेसम्म पनि धानिरहेका छौँ। यो परम्परम्परा धेरै गाउँमा छ। हाम्रो संस्कृति वृद्धि हँुदै गएको छ।’

उनका अनुसार ‘ढ्वाङ्कुम’को अर्थ प्रकृति भन्ने हुन्छ। जुन वर्षाऋतुको अन्ततिर पर्छ। बर्खेबाली (मकै, कागुनो आदि) पाक्दै गएकोले यो नयाँबालीको पूजा आरम्भ चाड पनि हो। ‘यस दिन मूलदेवता लिब्जु, भुम्जु र दिभुज अनि अन्य देवीदेवता लगायतलाई अन्न, जाड चढाउने परम्परा छ,’ उनले भने, ‘उपत्यकामा पनि सबै वाम्बुले राईहरू भेला भएर यो चाड मनाउने चलन छ। यसलाई सधै निरन्तरता दिँदै जानेछौँ।’

उनका अनुसार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित उबु गाउँमा रहेको ढ्वाङकुमटारलाई मुख्यचाड मनाउने थलो मानिन्छ। यसवर्ष पनि प्रकृतिको पूजासँगै ठूलो कार्यक्रम आयोजना गरेर वाम्बुले राईहरूले मनाएका छन्। सोही ठाउँको शिरमा रहेको जंगलयुक्त अग्लो चुचुरो ‘लिब्जु’, त्यसैको सामू पश्चिमतर्फको चुचुरो ‘दिभुजु’ र दुधकोसी पारिको ‘भुम्जु’लाई इष्टदेवताको रूपमा पूजा गर्छन्। परापूर्वकालमा ‘लिब्जु’ पूजा गर्दा माले गोरु बलि दिन्थे र गोरुको टाउको र जुरो चढाउने र उक्त बलिको प्रसादलाई चारचौरासका सबैलाई बाँड्थे। त्यसलाई मंसिरमा धानबाली पाकेपछि ढ्वाङ्कुम गर्दा उक्त प्रसादलाई अदुवामा मिसाएर पितृलाई चढाइन्छ।

ढ्वाङकुमो चाड प्रकृति पूजामा आधारित भएको उनी बताउँछन्। ‘विभिन्न रीत पु-याएर ढ्वाङ्कुमलाई विधिपूर्वक आकाश, पाताल (जमिन), पाखापर्वत, वनजंगलको पूजा गरिन्छ,’ उनले भने, ‘ढ्वाङ्कुमको पूजा गर्दा चारजना नाक्सो (प्रकृति र कुलपूजारी) को भूमिका रहन्छ। जसलाई सिसि नाक्सो, ढ्वाङकुर्मो नाक्सो, काउर्मो नाक्सो र बुलु नाक्सो भनेर चिनिन्छ। नाक्सो रहेनन् भने ढ्वाङ्कुम हुन सक्दैन। प्रकृतिको पूजा गरी ढ्वाङकुम मनाउँदा वर्षासँग परिवारमा सुुख, शान्ति र इच्छाएको कुरा पुरा हुने विश्वास छ।’

उनका अनुसार यी नाक्सोहरूलाई ढ्वाङ्कुम पूर्णिमा आउन अगावै गौरुङहरूले खबर गर्छन्। कोसेली लिएर भेट गर्न जान्छन्। टोलुम अर्थात् थुन्सेमा एक–एक घैला रक्सी, ब्वाम्ला लिएर भेट्छन्। उनीहरू पूर्णिमाको अघिल्लो रात उपवास बसेका हुन्छ। केही पनि नखाई निराहार रहन्छन्। ढ्वाङकुम दुई दिन सम्मचल्ने चाड र मेला हो। पहिलो दिन दुई वटा राँगा बलि चढाइन्छ। त्यो मासुलाई प्रसादस्वरुप आफ्ना जजमानी घर परिवारलाई बाडिन्छ। राँगा बलि चढाएको दिन मध्यरातसम्म सिसि नाक्सोले पितृलाई मनाउने गर्छन्। मुन्धुम फलाकेर सिसिहरूलाई घर–आँगनमा बोलाउँछन्। तिनीहरूलाई मनाउँछन्। तिनीहरू मनाइन्जेल आँगनमा भेला भएकाहरूले ‘चाम्दो’ परम्परागत खेल र नाच प्रदर्शन गर्नुपर्छ।

संस्थाका महासचिव जीवनहाताचोले ओखलढुंगाको उबुमा रहेको ढ्वाङकुमटारलाई अतिक्रमण गरिएकोले तत्काल रोक्नुपर्ने बताए। नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले किराती प्रकृति–पूजक रहेको बताए। बहुसांस्कृतिक भएको देशमा जनजातिको संस्कृतिलाई राज्यकै शासकले कुल्चिन लागेको उनको आरोप छ।
उक्त कार्यक्रममा राष्ट्रगानका रचयिता व्याकुल माइलाको संकलनमा रहेको लोकलय भाकाका अधिया, सरुमा, सराद, ख्याली गीत सार्वजजिक गरिएको थियो। त्यसैगरी ‘किरात राई संस्कृतिमा चिन्डो’ सांस्कृतिक पुस्तक र ‘फाइस्वाम’ (परिवर्तन) वाम्बुले भाषाको कविता कृति सार्वजनिक गरिएको थियो ।

किरात वाम्बुले राईहरूको चाड हो ढ्वाङकुमो। यो चाड भदौ पूर्णिमामा मनाइन्छ। यो चाडलाई वाम्बुले राईहरूले सबैभन्दा ठूलो र महत्वपूर्ण चाडका रूपमा मनाउँछन्। ललितपुरस्थित इमाडोलमा २०५८ सालदेखि वाम्बुले राईहरूले सामूहिक भेला भएर यो चाड मनाउँदै आएका छन। यस वर्ष पनि उनीहरूले शुभकामना आदानप्रदान, खानपिन, सास्कृतिक नाच, संगीना चाम्दो गरी राजधानीमा ढ्वाङकुमो चाड मनाएका छन्।

प्रकाशित: ३२ श्रावण २०७६ ०२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App