८ वैशाख २०८१ शनिबार
खेल

बलबहादुरलाई इन्द्र बराह गल्फ उपाधि

एमेच्योर गल्फ प्रतियोगिताका विजेता बलबहादर राई(बाँया)लाई उपाधि ट्रफी प्रदान गर्दै बराहका अध्यक्ष शिव लामिछाने र नेपाल गल्फ संघका केन्द्रीय सदस्य मेजर एम.बि.लिम्बु ।

धरान–तेस्रो इन्द्र बराह स्मृति एमेच्योर खुल्ला गल्फ प्रतियोगिताको उपाधि धरानका बलबहादुर राईले जितेका छन्। धरानको निर्वाणा कन्ट्री क्लबस्थित पार ७० को कोर्षमा शनिबार आयोजित प्रतियोगितामा नेट २ अण्डर ६८ स्कोर गर्दै बलबहादुरले उपाधि जितेका हुन्। एघार ह्याण्डीक्याप खेलाडी राईको कुल स्कोर भने ९ ओभर ७९ थियो।

उनले फ्रन्ट नाइनममा ७ ओभर ४२ र ब्याक नाइनमा २ ओभर ३७ स्कोर गरेका थिए। विजेता भएसँगै राईको एक ह्याण्डीक्याप घटेको छ। उनले उपाधि ट्रफीसँगै नगद १० हजार बराबरको गिफ्ट ह्याम्पर पनि पाए ।

प्रतियोगितामा नेट एक ओभर ७१ स्कोर गरेका बुद्धिमान सुनुवार दोस्रो भए। एमेच्योरका ९ ह्याण्डीक्याप खेलाडी सुनुवारको कुल स्कोर भने १० ओभर ८० थियो। उनले फ्रन्ट नाइन र ब्याक नाइनमा समान ५ ओभर ४० स्कोर खेलेका थिए। उनीसँगै नेट एक ओभर ७१ स्कोर खेले पनि काउन्ट ब्याकको आधारमा उनी तेस्रो भएका थिए। दोस्रो सँस्करणको विजेता कार्की १६ ह्याण्डीक्याप खेलाडी हुन्। कुल ८ ओभर ७८ स्कोर खेलेका उनले फ्रन्ट नाइन र ब्याक नाइनमा समान ४ ओभर ३८ स्कोर खेले। दोस्रो र तेस्रो हुने खेलाडीले ट्रफीसँगै क्रमशः नगद ७ र ३ हजार बराबरको गिफ्ट ह्याम्पर हात पारे।

यसैगरी, प्रतियोगितामा सिनियरतर्फको स्पर्धामा ९ ह्याण्डीक्याप खेलाडी विजय राई नेट ३ ओभर ७३ स्कोर गर्दै विजेता भए भने जुनियरतर्फको स्पर्धामा २३ ह्याण्डीक्याप खेलाडी इटहरीका रितेश तामाङ नेट ६ अण्डर ६४ स्कोर गर्दै विजेता भए। प्रतियोगितामा ग्रोसतर्फ पुर्ण लिम्बु प्रथम र युवराज भुजेल दोस्रो भए । यस्तै, प्रतियोगितामा नियरेष्ट टु दि पिनको पुरस्कार उत्तम राई र लङ्गेष्ट ड्राइभको पुरस्कार राम तामाङले जिते। होल १ र ३ मा बर्डी खेलेका किरण लिम्बुले मोष्ट बर्डिजको पुरस्कार थापे भने राजु राईले वेष्ट ड्रेस र ७८ वर्षीय मेजर मणिप्रसाद राईले वेष्ट स्पोर्टस्मेनसिपको पुरस्कार हात पारे।

प्रतियोगिताका विजेता खेलाडीलाई आयोजक धरान गल्फ क्लबका अध्यक्ष पुर्ण लिम्बु, प्रमुख अतिथि एवं नेपाल गल्फ संघका केन्द्रीय सदस्य मेजर एम.बि.लिम्बु, बराह ज्वेलरी इण्ड्रष्ट्रिज प्रालिका अध्यक्ष शिव लामिछाने, बराहका प्रशासकीय अधिकृत गंगा कालिकोटे, निर्वाणाका सञ्चालक शशीराम भण्डारी, जिल्ला गल्फ संघका सचिव तिलक राईलगायतले ट्रफी एवं पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा धरान, इटहरी, विराटनगर, पोखरा र काठमाडौंका गरी ४५ जना एमेच्योर गल्फरहरु सहभागी थिए। प्रतियोगिता बराहका संस्थापक स्वर्गीय इन्द्रबहादुर लामिछानेको स्मृतिमा भएको हो। प्रतियोगिता गर्न बराह र धरान गल्फ क्लबबीच २०७१ सालमा १५ बर्षे सम्झौता भएको छ।

 

प्रकाशित: २७ कार्तिक २०७३ १०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App