४ वैशाख २०८१ मंगलबार
खेल

अलबालाई क्लबको भविष्यबारे चिन्ता

बर्लिन – अस्ट्रियन फुटबलर तथा बायर्न म्युनिखका रक्षक डेविड अलबाले आफ्नो भविष्य र क्लबको भविष्यबारे चिन्ता व्यक्त गरेका छन्। अलबाले बलियो र पुरानो साख जोगाउनका लागि आगामी सिजनका लागि नयाँ खेलाडी अनुबन्ध गर्नुपर्ने धारणा क्लबलाई दिएका हुन्। अलबाले सेप्टेम्बर २ तारिखमा बन्द हुन लागेको खेलाडी सरुवा बजार अघि क्लबले एक वा दुई खेलाडी अनुबन्ध गर्नुपर्ने बताएका हुन्। शनिबारबाट हुने बुन्डेसलिगाअन्तर्गत बायर्नले हार्था बर्लिनसँग खेल्दै लिगको सुरुआत गर्दै छ।

‘बुन्डेसलिगाको यस सिजन बल्ल सुरुआत हुँदै छ। लामो सिजन खेल्नुपर्ने हुन्छ। हामीलाई अभैm राम्रा र अनुभवी खेलाडीको खाँचो पर्छ। बेन्चमा पनि उत्तिकै राम्रा खेलाडीको आवश्यकता हुन्छ,’ २७ वर्षे अलबाले भने, ‘मेरो विचारमा अन्य एक वा दुई राम्रा खेलाडीको खाँचो क्लबलाई रहेको छ। प्रतिस्पर्धात्मक लिगका लागि केही नयाँ र अनुभवी खेलाडीको आवश्यकता पर्छ। लामो लिग चल्ने भएकाले बेन्चमा रहने खेलाडी पनि उत्तिकै मजबुत हुनुपर्छ।’

अलबा सर्वाधिक मुल्यमा क्लबमा अनुबन्ध हुने दोस्रो खेलाडी हुन्। स्टार खेलाडी राबार्टो लेवान्डोस्कीको पहलमा अलबा क्लबमा अनुबन्ध भएका थिए। यस्तै बायर्नका कप्तान म्यानुयल नोयरका एजेन्टले पनि अलबालाई क्लब अनुबन्धका लागि पहल गरेका थिए।  यसै वर्ष बायर्न खेलाडीको विषयलाई लिएर धेरै आलोचित भएको थियो।

क्लबमा यसै वर्ष मात्र सिनियर खेलाडी आर्जेन रोबेन, फ्रान्क रिबेरी र म्याट्स ह्युमेल्सले सिजनको अन्त्यमा क्लब छाडेका थिए। त्यसपछि जर्मन क्लब बायर्नले गत विश्वकप विजेता फ्रान्सका रक्षक बेन्जामिन पाभार्ड र लुकास हर्नान्डेजलाई यसै वर्ष क्लबमा अनुबन्धित गरेको थियो। साथै अघिल्लो साता क्लबले इन्टर मिलानका इभान पेरिसिजलाई पनि एक वर्षका लागि लोनमा भित्र्याएको छ। म्यानचेस्टर सिटीका लोरेइ सानेलाई क्लबमा अनुबन्धित गर्न पहिलो प्राथमिकता राखे पनि उनको चोटका कारण दोस्रो रोजाईमा रहेका इभानलाई क्लबले लोनमा भित्र्याएको हो।

बार्सिलोनाका मिडफिल्डर फिलिप काउन्टिन्हो र युभेन्ट्सका स्टाइकर मारियो मान्डुज्कीलाई क्लब अनुबन्धित गर्नका लागि बायर्न प्रयासमा छ। यसै कारण गर्दा हालै अलबा कुनै एक खेलाडी अनुबन्धित हुनेमा विश्वस्त छन्। ‘प्रशिक्षकप्रति पूर्ण विश्वास छ र उनले क्लबमा अन्य नयाँ खेलाडी पनि भित्र्याउन सक्छन्,’ अलबाले थपे, ‘क्लबमा मेरो भविष्यबारे पनि अन्यौल छ।’

अलबाको सम्झौता आगामी २०२१ सम्म रहेको छ। ‘म बायर्नमा केन्द्रित छु। अर्को वर्ष के हुन्छ अनिश्चित नै छ,’ यसअघि बार्सिलोना अनुबन्धित हुने चर्चा पाएका अलबाले भने, ‘म नयाँ चुनौती सामना गर्न खोज्ने खेलाडी हुँ। बायर्न होस् या अन्य क्लब। म नयाँ चुनौती र नयाँ वातावरणमा खेल्न चाहन्छु।’ डेविड अलबाले सेप्टेम्बर २ तारिखमा बन्द हुन लागेको खेलाडी सरुवा बजार अघि क्लबले एक वा दुई खेलाडी अनुबन्धित गर्नुपर्ने बताएका छन्।

प्रकाशित: ३२ श्रावण २०७६ ०१:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App