coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रोजगारीका नाममा आफ्नैले ठग्छन्

फाइल तस्बिर

काठमाडौं - सतेन्द्रकुमार यादव र सुरेश महतो छिमेकीमात्र नभई बाल्यकालदेखि सँगै हुर्केबढेका साथी हुन्। सर्लाही, कविलास–८ घर भएका यादव र महतोको सम्बन्ध सामान्य साथी र छिमेकीभन्दा ‘मर्दा र पर्दा’ मा काम लाग्ने भइसकेकाले माझिनुपर्ने विषय सायदै बाँकी थिए। अनेक दुःखसुख उनीहरू र आफन्तले सल्टाएका कैयौं उदाहरण छन्।

तर अहिले त्यस्तो सम्बन्धमा दरार आएको छ। एकले अर्कोलाई बदनामीको दाग लगाउँदै अड्डाअदालत चहार्दै हिँडिरहेका छन्। उनीहरु एकले अर्कोलाई गलत साबित गर्ने प्रयासमा छन्। यसको कारण हो– वैदेशिक रोजगारी।

घटना साढे चार महिनाअघिको हो। गाउँमा जति मेहनत गर्दा पनि कमाएको रकमले गुजारा गर्न नसकेपछि सतेन्द्रले सहपाठी सुरेशलाई वैदेशिक रोजगारीमा जाने योजना सुनाए। अनि सुरेशले काठमाडौंमा आफ्ना भिनाजुले म्यानपावर कम्पनी चलाइरहेको उल्लेख गर्दै तुरुन्तै वैदेशिक रोजगारीमा पठाइदिने प्रतिबद्धता जनाए।

आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीको क्रममा ठगीमा परेको भन्दै करिब दुई हजार उजुरी दर्ता भएका छन्।

आफ्नै साथीले राम्रो काम खोजेर विदेश पठाइदिने बताएपछि सतेन्द्र ढुक्क भए। यस्तो कुरा भएको एक सातापछि सुरेशले कतारबाट राम्रो पारिश्रमिक पाइने कामको माग आएको बताउँदै पाँच दिनमा एक लाख ५० हजार रुपैयाँ तयार गर्न भने। १० हजार रुपैयाँ खर्च गरेर वैदेशिक रोजगारीमा जान पाइन्छ भन्ने चर्चा सुनेका सतेन्द्रले त्यो रकम धेरै भएको बताए।

सतेन्द्रले राम्रो काम पाइएकाले लगानी अलि बढी लाग्ने उल्लेख गर्दै साथी भएकाले सुरेशलाई एक लाख ४० हजार रुपैयाँसम्म लिएर कतार पठाउन सकिने जवाफ दिए। ‘त्यति कुरा भएपछि सानैदेखिको साथीले पक्कै पनि झुटो बोलेको छैन होला भन्ने लाग्यो,’ सतेन्द्र भन्छन्, ‘त्यस्तो अनुमान अहिले गलत साबित भएको छ।’

आफ्नै साथीमार्फत हेभन ओभरसिजलाई एक लाख ४० हजार रुपैयाँ बुझाएर कतार उडेका सतेन्द्र दुई महिनामै घर फर्कन बाध्य भए। उनका अनुसार कतारमा गर्नुपर्ने काम आफूले जानेको भन्दा फरक मात्र नभई रोजगारदाता पारिश्रमिक दिने अवस्थामा समेत थिएन। ‘जाने बेला इलेक्ट्रिकल भनिएको थियो। कतार गएपछि पानी फ्याक्ट्रीमा लेबरको काम गर्नुप-यो,’ उनी भन्छन्, ‘काम गरेको दुई महिना बित्दा समेत पारिश्रमिक पाइएन।’

रोजगारदाताले पारिश्रमिक नदिएपछि सतेन्द्र घर फर्केका छन्। घर फर्केपछि उनले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने आफ्नै साथी सुरेशविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्। ‘मेरो डुबेको रकम असुली र ठगी गर्नेलाई कारबाही होस् भनेर उजुरी दिएको छु,’ उनले नागरिकसँग भने, ‘पैसाको नाममा आफ्नै साथीभाइ ठग्नेलाई सामान्य कारबाहीमात्र गरेर हुँदैन।’

वैदेशिक रोजगार ऐन २०६४ ले सम्झौताअनुसार पारिश्रमिक र काम नपाएको खण्डमा पीडितलाई बिगोको साढे एक गुनासम्म क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। सतेन्द्र कानुनले व्यवस्था गरेअनुसार सुविधा पाउनुपर्ने बताउँछन्। ‘साथीमार्फत म्यानपावरले एक लाख ४० हजार रुपैयाँ असुल गरे पनि काठमाडौं आउँदा, जाँदा र अन्यमा गरी करिब दुई लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ। म्यानपावरसँगको सम्झौतामा खानासहित मासिक एक हजार तीन सय रियाल पारिश्रमिक पाउने उल्लेख भए पनि दुई महिना काम गर्दा एक सुको नपाएको उनले गुनासो गरे।

‘घरबाट जाँदा ५० रियाल बोकेको थिएँ,’ उनले भने, ‘त्यही रकम र कतारमै रहेका काकासँग ऋण लिएर जसोतसो दुई महिनाको खर्चको जोहो गरें। अन्तिममा काम गर्ने वातावरण नबनेपछि घर फर्कन बाध्य भएँ।’ उनले काकासँग ऋण लिएर हवाई टिकटको व्यवस्था गरेको बताए।

वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईं रोजगारीको नाममा युवालाई ठगी गर्नेको सञ्जाल व्यापक रहेको बताउँछन्। ‘कतै आफन्त त कतै साथीभाइबाट ठगीको सुरुआत् हुने गरेको पाइन्छ,’ उनले भने, ‘ठगी गर्ने संयन्त्रमा सक्रिय ठूलो गिरोहलाई न्यूनीकरण र नियन्त्रण गर्नु अहिलेको चुनौती हो।’ विगतमा ऐनले व्यवस्था गरेको एजेन्ट अबदेखि राख्न नपाइने व्यवस्था सरकारले गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको पहलमा केही महिनाअघि ऐन संशोधन गरी एजेन्ट खारेज गरिएको हो। एजेन्ट खारेज भइसकेकाले वैदेशिक रोजगारीमा जान चाहने युवाले अबदेखि कुनै पनि एजेन्टसँग सम्पर्क गर्न हुँदैन। वैदेशिक रोजगारीमा जान चाहने युवाले सोझै म्यानपावर कम्पनीमा सम्पर्क गर्नुपर्ने व्यवस्था गरिए पनि अझै एजेन्टको भर पर्ने युवाको संख्या ठूलो छ। जसले गर्दा ठगीमा पर्ने क्रम रोकिएको छैन।

विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीको क्रममा ठगीमा परेको भन्दै करिब दुई हजार उजुरी दर्ता भएका छन्। ती उजुरीमा पीडितले ८० करोड रुपैयाँ बढी असुल गर्न माग गरेका छन्। पीडितले दिएकोे उजुरीका आधारमा युवा ठग्नेमा म्यानपावरभन्दा एजेन्ट अगाडि देखिएका छन्।

सोही आर्थिक वर्ष विभागमा एजेन्टले ठगी गरेको भन्दै सात सय ७६ उजुरीमार्फत पीडितद्वारा ५३ करोड ६७ लाख रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ। त्यस्तै म्यानपावरले (संस्थागत) ठगी गरेको भन्दै विभागमा एक हजार दुई सय ६३ उजुरी दर्ता गरिएका छन्। ती उजुरीमा म्यानपावरसँग २९ करोड ६३ लाख रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ।

विभागका कर्मचारी म्यानपावरद्वारा हुने ठगीमा कारबाही चलाउन र क्षतिपूर्ति तिराउन सहज भए पनि व्यक्तिगत तबरले हुने ठगीमा पीडितलाई न्याय दिन कठिन हुने बताउँछन्। म्यानपावरले विभागमा धरौटी राखेका हुँदा पीडितलाई सोही धरौटीबाट क्षतिपूर्ति दिने गरिन्छ।

प्रकाशित: ३२ श्रावण २०७६ ००:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App