८ वैशाख २०८१ शनिबार
समाज

१९ पेट्रोल पम्पलाई कारबाही

राैतहट- गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले रौतहट, बारा र पर्साका १९ पेट्रोलपम्पलाई उपभोक्ता ठगी गरेको आरोपमा कारबाही गरेको छ।   आर्थिक वर्ष २०७५/७६ मा गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले रौतहट, बारा, पर्सा, चितवन र मकवानपुरमा रहेका ८ सय ९१ पेट्रोलपम्पमा अनुगमन गर्दा सफ्टवेयर जडान गरी उपभाेक्ता ठगी गरेकाे गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका प्रमुख शशीभूषण यादवले जानकारी दिए।

कारबाहीमा परेका पेट्रोलपम्पमा बाराको विजय आयल स्टोर, महम्मद आयल स्टोर, शिवशङ्कर ट्रेडर्स, जयविकास आयल स्टोर, हरिओम आयल स्टोर र बाबा आयल ट्रेडर्सका सञ्चालकलाई जनही १० हजार रूपैयाँ जरिवाना तथा तीन महिना कैद सजायको दाबी गरिएको छ। यसै गरी खान आयल स्टोर रौतहट, बारा जिल्लाकै अमित आयल स्टोर, कृष्णा आयल स्टोर, आयुष आयल स्टोर, सोनु आयल स्टोर तथा पर्साका अर्निका ट्रेडर्स बिक्रेताका सञ्चालकलाई जनही तीन वर्ष कैद र ३० हजार रूपैयाँ जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरिएको प्रमुख यादवले बताए।

यसै गरी नापतौल ऐन र कानुनविपरीत काम गरेको आरोपमा हेटौँडाको एसियन पेन्टस् उद्योगमाथि गुणस्तर कार्यालयले मुद्दा दायर गरेको छ। त्यसैगरी किसन एग्रो केमिकल प्रालि पर्सा र जगदम्बा आयल ट्रेडर्स बारामा नापतौल कमी रहेकाले कारबाही प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ।

यस्तै हुलास स्टिल प्रालि बारा, अपोलो फिड्स प्रालि चितवन, पञ्चरत्न फिड्स प्रालि चितवन र विनायक स्टील प्रालि चितवनले स्वीकृत क्षमता भन्दा बढीको धर्मकाटा प्रयोग गरी राजश्व छलेको भेटिएपछि एक वर्ष कैद र १० हजार रूपैयाँ जरिवानाकोे माग गर्दै अदालतमा मुद्दा दायर गरिएको यादवले बताए। रासस

प्रकाशित: ३१ श्रावण २०७६ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App