८ वैशाख २०८१ शनिबार
अन्य

फोहोरले ढाक्यो सहरः लहानमा फोहोर व्यवस्थापनको सदाबहार पिरलो

फोहोरले ढाकिएको लहानको मुख्य चोक। तस्बिरः मिथिलेश यादव/नागरिक

लहान– आन्तरिक विवादका कारण दुई सातादेखि नगरपालिकाले फोहोर नउठाउँदा लहानको मुख्य बजार दुर्गन्धित बनेको छ। सहरभर फोहोरको डंगुर थुप्रिएपछि बजार तथा लहानका चोक बसिनसक्नु बनेका छन्।

लहानमा पटक–पटक विभिन्न बहानामा फोहोर संकलन तथा व्यवस्थापन कार्य ठप्प हुँदा नगरवासी पिरोलिएका छन्। साउन १३ गतेदेखि फोहोर नउठ्दा नगरको मुख्य चोकदेखि भित्री बजार फोहोरको डंगुरमा परिणत भएको छ। स्वच्छ वातावरणमा बाँच्न पाउने आशा पालेर बसेका नगरवासी फोहोरको दुर्गन्धमा बस्न बाध्य छन्।

राजमार्ग, तरकारी बजार, भित्री बजारक्षेत्रको फोहोर पन्ध्र दिनदेखि उठाइएको छैन। चर्को गर्मीका कारण फोहोर कुहिएर दुर्गन्ध फैलिएको छ। तर, नगरपालिकाले फोहोर नउठाउने जिद्दी छाडेको छैन। वडा नम्बर ४ र नगरपालिकाबीच फोहोर व्यवस्थापनको विषयमा चैत महिनादेखि नै विवाद छ। वडा नम्बर ४ का स्थानीयले फोहोरमैला व्यवस्थापन केन्द्रलाई नगरपालिकाले भण्डारण केन्द्रको रूपमा विस्तार गरेको भन्दै विरोध गरेका थिए। मठमन्दिर र बस्ती नजिकै फोहोर थुपारिँदा बस्तीभरि दुर्गन्ध फैलिएको भन्दै स्थानीयले विरोध जनाउँदै आएका हुन्। 

तीन महिनाअघि पनि फोहोरको विवाद उत्कर्षमा पुग्दा लहान वडा नम्बर ४ का महिला तथा पुरुषले झाडु जुलुससहित नगर कार्यालयमा पुगेर विरोध जनाएका थिए। त्यसपछि वडाध्यक्षहरू र दलका प्रतिनिधि सहभागी समझदारी समितिले अर्को विकल्प नहुँदासम्म बलान र खुट्टी खोलाको दोभानमा फोहोर फ्याँक्न नगरपालिकालाई सुझाव दियो। 

नगरपालिकाले सुरक्षित स्थान तोक्न नसक्दा नगरको फोहोर उठ्न नसकेको हो। यस विषयमा नगरका उपप्रमुख सरियारकुमारी चौधरीले फोहोर व्यवस्थापनको समाधान लहान–४ का जनताले रोकेको जिकिर गरिन्। फोहोर नउठाउनुको कारण फोहोर फाल्ने स्थान वडा नम्बर ४ का जनताले अवरोध जनाउनु रहेको चौधरीले भनिन्। ‘हामीले त सकेनौं अब यसको समाधान खोइ कसले र कसरी निकाल्ने हो,’ उनले भनिन्। 

नगरभरको फोहोर वडा नम्बर ४ को बस्ती र मन्दिर नजिकै फ्याँक्दा दुर्गन्ध फैलिएको भन्दै चैतको अन्तिम सातादेखि नै स्थानीयले फोहोर फाल्न रोक लगाउँदै आएका थिए। त्यसपछि फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न वडा नम्बर १ देखि १० सम्मका वडाध्यक्षको एउटा समिति गठन गरिएको थियो। ‘फोहोरबाट मोहर’ निकाल्ने नारा दिँदै ०७१ सालमै यहाँ फोहोरमैला प्रशोधन केन्द्र निर्माणको निर्णय भएको थियो। जसका लागि करिब ५० लाखको लागतमा तारबार, बाउण्ड्री वाल, वृक्षारोपणलगायतका काम भइसकेको छ। त्यो बेलादेखि यहाँ फोहोर फालिँदै आएको छ। ‘तर, त्यो बेला फोहोर व्यवस्थित तरिकाले व्यवस्थापन हुन्थ्यो’, वडाध्यक्ष रामनाथ पण्डितले भने, ‘पछिल्लो समय मरेको पशुपन्छीदेखि सबै प्रकारका फोहोर जथाभावी थुपार्ने काम हुन थाल्यो। जसले यहाँ महामारी फैलिने खतरा भयो।’ स्थानीयको दबाबमा वडा कार्यालयले यहाँ फोहोर फाल्ने कामलाई रोक्यो। ‘फोहोरलाई प्रशोधन गरी मल बनाएर बिक्री गर्ने मेसिन जडान गर्न सक्नुपथ्र्यो पण्डितले भने, ‘नगरपालिकाले अझै त्यो मेसिन किन्न सकेको छैन।’

पण्डितका अनुसार फोहोरको दुर्गन्धले महामारी, रोग फैलिने खतरा निम्तिएपछि नगर कार्यापालिकाको बैठकमा व्यवस्थापन गर्न कुरा उठाएको तर मेयरले चासो दिएनन्। 

सरसफाइका नाममा जनतासँग कर असुल्ने अनि फोहोर सफा नगर्ने नगरपालिकाको सदाबहार रवैया ठीक नभएको भन्दै स्थानीय आक्रोश पोख्छन्। राजमार्ग क्षेत्रमा फुटपाथ पसल, होटल तथा व्यापारिक प्रतिष्ठान रहेका छन्। दिनहुँ हुने फोहोरको ठूलो परिमाण राजमार्गक्षेत्रबाटै उत्पादन हुने नगरपालिकाले जनाएको छ। तर, राजमार्ग क्षेत्रमै दुई सातादेखि फोहोर उठ्न छोडेपछि सहरमा फोहोरको डंगुर थुप्रिँदै गएको छ। राजमार्गमा फोहोर थुपारेर नगरपालिकाले गम्भीर बेवास्ता दर्शाइरहेको फुटपाथ व्यापारी रामजनम मण्डलले बताए।

 

प्रकाशित: ३१ श्रावण २०७६ ०५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App