५ वैशाख २०८१ बुधबार
कला

आन्विकाको दुई कृति बजारमा

काठमाडौं - बालसाहित्य लेखनमा सक्रिय लेखक आन्विका गिरीद्धारा लेखिएका ‘आमाले सक्नुहुन्छ’ र ‘सानीका ज्ञानी कुरा’ नामक दुई कृतिहरू सार्वजनिक भएका छन्। बिहीबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लेखक गिरीका दुई कृतिहरू विमोचन गरिएको थियो।

कार्यक्रममा ‘सानीका ज्ञानी कुरा’ कृतिको समीक्षा गर्दै डा. अरुणा उप्रेतीले स्कुले बालबालिकालाई दिइने विभिन्न तालिमहरू पुस्तक समावेश गरिएको बताइन्। ‘बालबालिकालाई केन्द्रित गरिएर लेखिएको ‘सानीका ज्ञानी कुरा’ पुस्तकमा बच्चालाई सम्झाइ–बुझाइ गरेर नराम्रा गतिविधिमा संलग्न हुन नदिन अपनाउनु पर्ने विभिन्न विधाहरू समेटिएको छ,’ उनले भनिन्, ‘यो पुस्तक अभिभावक र शिक्षकहरूको हातमा हुन आवश्यक देखिन्छ।’ सरल कविता शैली लेखिएको पुस्तकमा चित्रमार्फत बालबालिकालाई ज्ञान दिने खोजिएको दाबी उनले गरेकी छिन्।

लेखक गिरीको ‘आमाले सक्नुहुन्छ’ पुस्तकमाथि समीक्षा गर्दै समीक्षक सरिता गिरीले पुस्तकमा अधिकतम परिवार, गरिबी र अभावसँग जुधिरहेका मानिसको जीवन, सामाजिक बन्धन, समाजले हेर्ने दृष्टिकोण लगायतका विषयलाई समेटिएको बताइन्। ‘पुस्तकमा समेटिएका शब्द र फोटोहरु सशक्त छन्,’ उनले भनिन्, ‘परिवारमा समस्या आएको बेला समस्याको समाधान गर्न आमा कसरी लाग्छिन् र परिवारलाई जोगाइ राख्न आमाको महत्वपूर्ण भूमिका खेल्छिन्जस्ता विषय पुस्तकमा पाउन सकिन्छ।’

कार्यक्रममा बोल्दै लेखक गिरीले बालसाहित्यमा सक्रिय लेखकहरू कम भएको बताइन्। ‘बालसाहित्य लेख्ने लेखकहरू कम छन्। मेरी छोरीलाई स्कुल पढाउँदा आफूले चाहेका विषयवस्तुमा आधारित पुस्तक बजारमा नपाएपछि पुस्तकहरू लेखेको हुँ। बालबालिकालाई कोठाको एउटा कुनामा मात्रै सिमित गरेर पढ्न दिनुहुन्न, ’ उनले भनिन्।
 

प्रकाशित: ३१ श्रावण २०७६ ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App