८ वैशाख २०८१ शनिबार
कला

रहिनन् लक्कीदेवी सुन्दास

इलाम - भारतमा नेपाली भाषाको जगेर्ना र विस्तारमा उल्लेखनीय योगदान गरेकी साहित्यकार तथा समालोचक डा. लक्कीदेवी सुन्दासको निधन भएको छ। भारतको सिलिगुडीस्थित नर्सिङ होममा बिहीबार बिहान ८५ वर्षीया सुन्दासको निधन भएको हो।

लामो बसाइ र जागिर दार्जिलिङमा भएपनि दीर्घरोग लागेपछि उनी करिब आधा दशकदेखि सिलिगुडी बस्दै आएकी थिइन्। साहित्यकार सुन्दासको निधनले नेपाली साहित्यले ठूलो हस्ती गुमाएको नेपाली साहित्यकारहरूले प्रतिक्रिया व्यक्त गरेका छन्। भारतीय नेपाली साहित्यमा एउटा युग हाँक्ने महिलाका रूपमा लक्कीदेवीको चर्चा हुने गरेको छ। दार्जिलिङको सरकारी कलेजको पहिलो प्रिन्सिपल बनेकी सुन्दासले सन् २००१ मा भारतीय राष्ट्रिय अकादमी पुरस्कारसमेत पाएकी थिइन्।

लक्कीदेवीलाई भारतीय नेपाली साहित्याकाशले दोस्रो पारिजातका रूपमा चिन्ने गरेको छ। साहित्यकार कृष्ण धराबासीले भारतीय र नेपाली साहित्यकारले लेखेका कृतिमा अत्यन्त गहिरोसँग समालोचना गर्नेमा लक्कीदेवी शीर्षस्थानमा रहेको प्रतिक्रिया दिए। ‘भारतमा नेपाली भाषा र साहित्यको विकासमा अहोरात्र लाग्ने महिलामा लक्कीदेवीको नाम नै सर्वाेच्च हो,’ धराबासीले नागरिकसँग भने, ‘उनी यस्ती सशक्त लेखिका हुन्, जसले आफ्नो सास जानुभन्दा अघिसम्म हात चलुञ्जेल लेखिरहिन्।’ साहित्यकार इन्द्रबहादुर राईले पनि लक्कीदेवीको योगदानको प्रशंसा आफूसँग गरेको धराबासीले सम्झिए। नेपाली भाषा र साहित्यमा धेरै लामो समय कलम चलाउने महिला पनि लक्कीदेवी नै रहेको उनले बताए।

२७ मार्च सन् १९३४ मा भारतको कोलकातास्थित ३ क्यामप स्ट्रिटमा जन्मेकी सुन्दासले नेपालीमा एमए, दर्शनशास्त्र र कानुनमा एलएलबी गरिन्। समालोचना र अन्य विधामा सशक्त कलमी चलाएकी सुन्दासले सन् १९५० अघि ‘दीपक’ पत्रिकामा आफ्ना लेख–रचना प्रकाशन गरेकी थिइन्। उनले ‘अकादमी निबन्धावली’ र ‘गुमानसिंह चामलिङका कविता’ लगायतका समालोचनामा कलम चलाइन्। भारतमा कक्षा ३, १० र ११ को नेपाली पाठ्यपुस्तकको सम्पादन पनि गरेकी सुन्दासका दर्जनौं पत्रपत्रिकामा लेख–रचना प्रकाशित छन्। ‘सम्भावित अर्थ समर्पित एकान्त’ र ‘आहात अनुभूति’ उनका कृति हुन्। ‘खै रिपोर्ट आएन’ र ‘तेस्रो घर’ उनका चर्चित कथा हुन्।

सन् १९७२ मा रत्नश्री स्वर्णपदक र लोकप्रियादेवी पुरस्कार पाएकी सुन्दासले पश्चिम बंगाल सरकारले प्रदान गर्ने माइक मधुसुधन अवार्ड पाउनमा पनि पहिलो नेपालीभाषी नारीको हस्ताक्षर गरेकी थिइन्। दार्जिलिङमा लामो समय प्राध्यापन गर्दा उनले नेपाली भाषा र साहित्यमा गरेको योगदानस्वरूप दर्जनौं पुरस्कार र सम्मान  पाइन्। ‘लक्कीदेवी सुन्दास भारतीय नेपाली साहित्य जगत्मा अति उच्च नाम हो,’ दार्जिलिङका साहित्यकार ज्ञानेन्द्र अर्यालले भने, ‘त्यही भएर उनलाई भारतमा दोस्रो पारिजातका रूपमा चिनिन्छ।’

सुन्दास भारतीय नेपाली नारी साहित्यिक मञ्चकी संस्थापक अध्यक्षसमेत थिइन्। साहित्यकार विन्दिया सुब्बाले लक्कीदेवीको निधनले आफू टुहुरो भएको सामाजिक सञ्जालमा लेखेकी छिन्। ‘भारतीय नेपाली साहित्यकी नारी श्रेष्ठ, नारीचुली डा.लक्कीदेवी सुन्दास परलोकगमन हुनु नेपाली साहित्यलाई ठूलो क्षति हुनु हो,’ साहित्यकार सुब्बाले उल्लेख गरेकी छिन्।

 

प्रकाशित: ३१ श्रावण २०७६ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App