७ वैशाख २०८१ शुक्रबार
अर्थ

औद्योगिक कच्चा पदार्थको सट्टा मदिरादेखि खुर्सानीसम्म

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा आयातित मालवस्तु। तस्बिर:रितेश/नागरिक

वीरगन्ज – तेस्रो मुलुकसँगको व्यापारका लागि रेलमार्फत भारतीय बन्दरगाहबाट जोडिएको मुलुकको एक मात्र सुक्खा बन्दरगाह भएर हुने आयातको स्वरूप फेरिन थालेको छ। यो बन्दरगाहबाट विगतमा मुख्य औद्योगिक कच्चा पदार्थ बढी आयात भइरहेकोमा अहिले उपभोग्य वस्तुको आयात बढेको देखिन्छ।

सुक्खा बन्दरगाह भन्सार राजस्वको प्रमुख स्रोत रहे पनि विभिन्नखाले फलामको आयातमा कमी आएको छ। फलाम औद्योगिक कच्चा पदार्थको रूपमा आयात हुने वस्तु हो।

फलामे डण्डी (छड) बनाउन प्रयोग हुने एसएम बिलेट गत आर्थिक वर्ष ०७५/७६ मा एक लाख ४४ हजार पाँच सय ८५ टन कमी आएको छ। गत वर्ष चार लाख ५२ हजार एक सय ७९ टन आयात भएको तथ्यांक छ। अघिल्लो वर्ष पाँच लाख ९६ हजार सात सय ६५ टन आयात भएको थियो। यो अघिल्लो वर्षको तुलनामा २४.२२ प्रतिशतले कम हो।

यस्तै, विभिन्नखाले फलामका उत्पादनसँगै ट्यांकी, ग्यास सिलिन्डर, ट्यांकरलगायत बनाउन प्रयोग हुने फलामे चादराको आयात पनि घटेको छ। पोहोर २१ हजार आठ सय ९.५२ टन आयात भएको त्यस्तो फलाम यसपालि १६ हजार एक सय ३८.६७१ टन आयात भएको देखिन्छ। औद्योगिक कच्चा पदार्थको रूपमा आयात हुने क्वायलमा आउने फलामे छडको आयातमा भने ३५ प्रतिशतले वृद्धि देखिएको छ। पोहोर दुई लाख ३९ हजार ६ सय १४.२०५ टन आयात भएको फलामे क्वायल यसपालि तीन लाख २४ हजार दुई सय १७.७०५ टन आयात भएको छ।

मुलुकको एक मात्र सुक्खा बन्दरगाह भएर हुने आयातको स्वरूप फेरिन थालेको छ। यो बन्दरगाहबाट विगतमा मुख्य औद्योगिक कच्चा पदार्थ बढी आयात भइरहेकोमा अहिले उपभोग्य वस्तुको आयात बढेको देखिन्छ।

पिभिसी प्लास्टिकका उत्पादनमा प्रयोग हुने दानाको आयात पनि बढेको छ। यसपालि १६ हजार तीन सय २१ टन त्यस्तो गुणस्तरको ‘पोली’ दाना आयात भएको छ। गत वर्ष यसको आयात १४ हजार पाँच सय १४ टन थियो। ८० प्रतिशत ‘अल्कोहल’ रहने कच्चा मदिराको आयात बढेको छ। यसपालि तीन लाख ७६ हजार ६ सय ८४ लिटर कच्चा मदिरा आयात भएको छ। पोहोर त्यस्तो मदिरा दुई लाख ३० हजार नौ सय ५४ लिटर आयात भएको थियो।

खुर्सानी पनि आयात
सुकेको खुर्सानीसमेत विदेशबाट आयात भएको देखिन्छ। सुक्खा बन्दरगाह भन्सार भएर गएको आव ०७५/७६ मा सात हजार पाँच सय ९८.८६ टन सुकेको खुर्सानी आयात भएको देखिन्छ। त्यसभन्दा अघिल्लो वर्षको ६ हजार तीन सय ७५.९६ टन खुर्रानी आयात भएको थियो। खाने तेल बनाउने तोरी, रायो र सरसौंको दाना आयात पनि बढेको छ। एक लाख ५४ हजार नौ सय २० टन तोरी यस वर्ष आयात भएको छ। पोहोर एक लाख ३९ हजार ६८ टन मात्र तोरी आयात भएको थियो।

त्यस्तै, केराउ आयातमा वृद्धि देखिएको छ। केराउ आयातमा भने अप्रत्यासितरूपमा तीन गुणाको वृद्धि देखिएको छ। नेपालबाट भारततिर केराउ चोरी निकासी गर्दैगर्दा प्रहरीले बरामद गरेको र केराउ तस्करी बढेको भनी चर्चा चलेका बेला केराउ आयातमा अप्रत्यासित वृद्धि देखिएको हो। अरू देशबाट भारतमा आयात बन्द रहेको केराउ नेपालमा आयात गरेर भारततिर चोरी निकासी गर्ने क्रम बढेको पाइन्छ। विदेशबाट यसपालि एक लाख ५२ हजार एक सय ९४ टन केराउ सुक्खा बन्दरगाह भएर भित्रिएको छ। गत वर्ष ५० हजार एक सय १४ टन मात्र केराउ आयात भएको थियो।

प्रकाशित: ३१ श्रावण २०७६ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App