coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘मध्यरातपछि लेकसाइडमा जहिल्यै कोलाहल’

पोखरामा बिहीबार लेकसाइडको रात्रिकालीन समस्या सुनाउँदै ८० वर्षीया जगतकुमारी थापा। तस्बिर : सन्तोष/नागरिक

पाेखरा – जगतकुमारी थापा, (८०) राति मस्तसँग निदाउन नपाएको बषौँ भयो। लेकसाइडको मूल बजारमा बस्ने थापाको निन्द्रा हराउनुमा घरायसी र शारीरिक अशक्तताको कारण होइन, बाहिरी कोलाहलपूर्ण वातावरणले हरेक रात उनको निद्रा खोसिन्छ। बाहिरबाट आउने मुटु थर्काउने आवाजले उनी निदाउनै सक्दिनन्। त्यो आवाजले थापाको निद्रा त खोसिन्छ नै, कलिला उमेरका युवायुवतीको मुखबाट निस्कने अश्लील शब्दले उनलाई झनै अप्ठेरो पार्छ।

‘केटा र केटीबीच तानातान हुन्छ, एकअर्काबीच झगडा, मुटु थर्काउने आवाज, सुन्न र भन्न नसकिने अश्लील शब्द, हामीले यस्तै अवस्थामा हरेक रात गुजारेका छौं,’ पर्यटकीय क्षेत्र लेकसाइडको रात्रिकालीन व्यवसायले पारेको अप्ठरोबारे गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयले आयोजना गरेको छलफलमा थापाले भनिन, ‘हामी रातभर ड्युटी बस्न सक्दैनौं। सक्ने हो भने प्रशासनले यो समस्या समाधान गरोस्, हैन भने सेना खटाउनुस्।’

थापाको गुनासो कुनै व्यक्तिप्रति लक्षित थिएन, मात्र सरकारी निकायले आफूहरूको गुनासो नसुनिदिएकोमा आक्रोशपूर्ण अभिव्यक्ति थियो। थापाको जस्तो गुनासो बिहीबारको कार्यक्रममा धेरैले पोखे। गुनासो पोख्ने सबैजसोको एकैखालको पीडा थियो–मध्यरातपछि हामी निदाउन पाएनौं। छोराछोरीले पढ्न पाएनन्। बिरामी र वृद्धवृद्धामाथि झनै पीडा थपियो। शान्तसँग होटलमा बसेका पाहुना सुत्न पाएनन, अनि तीन/चार दिन बस्ने गरी आएका पाहुना एक रात बसेर अन्यत्र बसाइँ सरे।

सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका नेपाल भ्रमण वर्षका गतिविधि अगाडि बढाइरहेको छ। तर, मुलुककै मुख्य पर्यटकीय क्षेत्र मानिने पोखराको लेकसाइड भने आन्तरिक समस्यामा फसेको स्थानीयको गुनासो छ। लेकसाइडको यो समस्या समाधान नगर्ने हो भने नेपाल भ्रमण वर्षले पोखरालाई उतिसारो लाभ नदिने व्यवसायीको चिन्ता छ। लेकसाइडको समस्या समाधान नहुने हो भने त्यसको मार भ्रमण वर्षमै पर्ने उनीहरूको भनाइ छ।

‘केटा र केटीबीच तानातान हुन्छ, एकअर्काबीच झगडा, मुटु थर्काउने आवाज, सुन्न र भन्न नसकिने अश्लील शब्द, हामीले यस्तै अवस्थामा हरेक रात गुजारेका छौं,’

स्थानीयका अनुसार लेकसाइडको राति २ बजेपछिको अवस्था निकै कोलाहलपूर्ण हुन्छ। हरेक रात उस्तैखाले गतिविधिले स्थानीयले शान्तसँग सुत्न र बस्न नपाएको गुनासो गरेका छन्। मूल पर्यकीय क्षेत्र २४सै घण्टा खोल्न सकिनेबारे बहस भइरहेका बेला लेकसाइडका केही व्यवसायी र स्थानीयवासीले अहिलेको कोलाहलपूर्ण वातावरणको समस्या समाधान नगरेसम्म २४ घण्टाको कल्पनासमेत गर्न नसकिने बताए। यही अवस्था रहे नेपाल भ्रमण वर्ष २०२० लाई पनि मार पर्ने उनीहरूको गुनासो छ। सामुदायिक सेवा केन्द्रकी पूर्वअध्यक्ष पम्फा पहारीले भनिन्, ‘लेकसाइडमा सञ्चालित डान्स, डिस्को, पवका कारण हाम्रो निद्रा लुटियो। ११ बजेपछि हरेक रात हाम्रा लागि कष्टप्रद हुन्छ।’

पहारीका अनुसार लेकसाइडको हरेकदिनको कोलाहलपूर्ण वातावरणले शान्तसँग होटलमा सुतेका पाहुना पनि तर्सिएका छन्। त्यसले गर्दा केही रातका लागि बुकिङ गरेका पाहुना एक रात बसेर अन्यत्र बसाइँ सर्ने गरेका छन्। ‘लेकसाइडमा हरेक मध्यरात हेल्मेट हानाहान, केटी तानातान, बोटल हानाहान हुन्छ,’ उनको जिज्ञासा छ, ‘अनि हामी कसरी निदाउनु ?’ मध्यरातमा डिस्को, डान्सबाट निस्केका कलिला किशोरकिशोरीका गतिविधिका कारण लेकसाइडको रात्रिकालीन माहोल अस्तव्यस्त हुने उनले बताइन्। ‘जुनबेला यो समस्या समाधान हुन्छ, त्यो बेला २४सै घण्टा लेकसाइड खोलौंला, अहिलेका लागि राति ११ बजे बन्द गर्दा उचित छ,’ पहारीले भनिन्, ‘यो समस्या स्थानीय प्रशासनबाट समाधान हुँदैन भने हामी लाठिमुंग्रा लिएर सडकमा निस्कन्छौं।’

स्थानीय व्यवसायीका अनुसार लेकसाइडमा आधा दर्जन हाराहारीमा डान्स, डिस्को छन्। ती डान्स, डिस्कोका अधिकांश ग्राहक १८ वर्ष हाराहारीका किशोरकिशोरी हुन्। पर्यटन व्यवसायी गोमा ढकालले भनिन्, ‘कसैको व्यवसाय रोक्न चाहेका होइनौं। तर, कलिला बालबालिकालाई कुलतमा फसाउन नदिने हो भने अहिल्यै डान्स, डिस्को प्रवेश रोक लगाउनुपर्छ। त्यसबाहेक डान्स, डिस्को साउन्डप्रुफ बनाउनुपर्छ।’ उनले पनि राति दुई बजेपछि डान्स, डिस्कोबाट मात्तिएर निस्किएका किशोरकिशोरीबीच मूल सडकमै तानातान र कुटाकुट चल्छ। एकअर्कालाई अश्लील शब्दले गाली गर्छन्। मोटरसाइकल ठूलो आवाज आउनेगरी चिच्याउँदै कुदाउँछन्।’

लेकसाइडमा हरेक रात एकैखाले समस्या आएको भन्दै केही दिनअघि पश्चिमाञ्चल होटल संघसहित स्थानीय टोल र आमा समूहले स्थानीय प्रशासनविरुद्ध उच्च अदालत पोखरामा रिट दायर गरेका थिए। राति ९ बजेपछिको व्यवसाय रात्रिकालीन भएकाले त्यसलाई व्यवस्थित गर्नुपर्ने माग राखेर रिट दायर गर्दा गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयसहित कास्की प्रशासन, प्रहरीलाई विपक्षी बनाइएको छ। तर, रिटपछि छलफलका लागि व्यवसायीले समय मागेपछि केही दिनका लागि पेसी सरेको छ। यो बीचमा व्यवसायी र स्थानीयले छलफल गर्दै समस्या समाधानको पहल गर्ने भनेर रात्रिकालीन व्यवसाय सञ्चालन आचारसंहिता तथा अनुगमन निर्देशिका बनाउन एकजुट भएका थिए। व्यवसायीले त्यही निर्देशिका कार्यान्वयनका लागि अघिल्लो बिहीबार कास्की प्रशासनमा पठाएका छन्।

पोखरा पर्यटन परिषद् (पिटिसी) का उपाध्यक्ष गोपीबहादुर भट्टराईले सबैखाले व्यवसाय एकै ठाउँमा भएकाले पनि यो समस्या रहेको बताए। कुनै बेलाको आवासीय क्षेत्र लेकसाइड अहिले व्यापारिकस्थल भएको छ। लेकसाइडमा निजी आवाससहित होटल, रेस्टुरेन्ट, डान्स, डिस्को, पवसहितका पूर्वाधार भएकाले अब कोलाहल मच्चाउने पूर्वाधारलाई विशेष ठाउँमा सारेर ‘स्पेसल टुरिजम जोन’ बनाउनुपर्ने बताए। ‘एकै क्षेत्रमा सबैखाले व्यवसाय सञ्चालित छन्। ‘डान्स, डिस्कोजस्ता कोलाहल मच्चाउने संरचना होटल, रेस्टुरेन्ट र आवासभन्दा पर हुनुपर्छ,’ उनले भने, ‘सबैले कोलाहल मच्चाएका होइनन्। त्यसैले सबैलाई एकैखाले आरोप लगाउन पनि मिल्दैन।’

पोखरा महानगरपालिका–६ का अध्यक्ष जगत पहारीले पनि लेकसाइडले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नपाएको गुनासो पोखे। ‘लेकसाइड राति २ बजेपछि रामराज्य जस्तै हुन्छ। हामी जनप्रतिनिधिले पनि समाधान गर्न नसकेको समस्या हो,’ पहारीले भने, ‘वडामा पटकपटक गुनासो आयो। हामीले पनि प्रशासन गुहार्ने हो।’ लेकसाइडका स्थायीयसमेत रहेका पहारीले यो समस्याले आफू पनि पीडित भएको बताए।

छलफलमा कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले पर्यटनमा दीर्घकालीन योजना नबनाउँदा यो समस्या आएको बताए। कतिपय समस्या स्थानीय व्यवसायीकै कारण उब्जिएको पनि उनले बताए। ‘१८ वर्षमुनिका किशोरकिशोरीलाई हामीले एक्लै वा साथीको भरमा मात्र डान्स डिस्कोमा जान नदिनु भनेका छौं। तर, व्यवसायीले त्यो मानेका छैनन्,’ कार्कीले भने, ‘एकअर्कालाई अवरोध गर्नेलाई कानुनी दायरामा ल्याएका पनि छौं।’ प्रहरीमा आएको गुनासो तत्काल सम्बोधन गर्नका लागि प्रयास गरिरहेको कार्कीले बताए।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले अदालतको आदेशका भरमा राति २ बजेसम्म डान्स डिस्को सञ्चालन गर्न छुट पाएकाले पनि यो समस्या आएको बताए। नयाँ व्यवसाय सञ्चालन गर्ने बेलामै अदालतबाट आदेश लिने गरिएको उनले बताए। ‘हामीले पनि अदालतको आदेश कार्यान्वयन गर्नुपर्छ। व्यवसायीले पनि इमानदारिता कायम गर्ने हो भने यो समस्या केही कम हुन्छ। तर, समस्या पूरै निमिट्यान्न पार्न मुस्किल छ,’ बुढाले भने, ‘त्यस क्षेत्रमा प्रहरी दरबन्दी बढाउने, प्रहरीलाई प्रविधिमैत्री बनाउने प्रयास भइरहेको छ।’

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयका सचिव विष्णुप्रसाद भण्डारीले व्यवसायीले आचारसंहिता पालना गर्ने हो भने समस्या समाधान हुने बताए। ‘व्यवसायी आफैंले आचारसंहिता बनाएकाले त्यो पालना गर्ने हो भने समस्या कम हुन्छ,’ उनले भने।

प्रकाशित: ३१ श्रावण २०७६ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App