coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

नोबेल जित्ने पहिलो गीतकार डिलन होइनन्

एलेक्स ल्युबेट

२०१६ का लागि साहित्यको नोबेल पुरस्कार बब डिलनले पाएकामा सर्वत्र चर्चा, चासो र हर्ष देखिन्छ। मूलधारको संगीतमा निकै लोकप्रियता बटुलेका कलाकारले यस्तो सम्मान पाउनु दुर्लभ नै हुन्छ, तर भारतका रविन्द्रनाथ टैगोरले धेरैअघि नै यो पुरस्कार हात पारिसकेको भए पनि डिलनकै चर्चा बढी हुने गरेको छ। बाङ्ला साहित्यका दिग्गज, जसले सायद डिलनभन्दा बढी नै गीत र संगीत सिर्जना गरे होलान्, उनको चर्चा भने कतै भएन। असाधारण प्रतिभाशाली भारतीय कवि, चित्रकार र संगीतकार टैगोरले १९१३ मा साहित्यतर्फ नोबेल जितेका थिए।

साहित्यका लागि नोबेल जित्ने उनी पहिलो गैरयुरोपेली नागरिक पनि थिए। टैगोरका संगीत, गीत, कविता र कला तथा उनको प्रभावको दीर्घजीवितता डिलनको भन्दा कम छैन।

बंगालको पुनर्जागरणका अनुहार

टैगोरको जन्म १८६१ मा बंगालको एउटा समृद्ध परिवारमा भएको थियो। जीवनभर भारतको यो पूर्वी क्षेत्रमै उनी रहिरहे, उनलाई यहाँबाट दायाँबायाँ लाग्नुपर्ने महसुस वा आवश्यकताबोध कहिल्यै भएन।

बब डिलनभन्दा एक शताब्दी पहिले नै यो सम्मान भारतीय गीतकार, संगीतकार रवीन्द्रनाथ टैगोरले पाइसकेका छन्, उनले त डिलनले भन्दा बढी गीत लेखेका होलान्।

डिलनझैँ टैगोर पनि एक हदसम्म आफ्नो शिक्षक आफै थिए। यी दुवै हस्ती अहिंसक सामाजिक परिवर्तनसँग नजिक रहे। टैगोर भारतको स्वतन्त्रताको समर्थक थिए र महात्मा गान्धीका नजिकका साथी पनि थिए। डिलनको लेखन र उनको संगीतको अधिकांश अंश १९६० को दशकका बेला अमेरिकामा नागरिक अधिकारदेखि लिएर भियतनाम युद्धसम्म कैयौँ मुद्दामा चलेका आन्दोलन(प्रोटेस्ट मुभमेन्ट)प्रति समर्पित रह्यो। बहुमुखी प्रतिभाका धनी यी दुवै जना लेखक त थिए नै संगीतकार, भिजुअल आर्टिस्ट र फिल्म कम्पोजर पनि बने।

नोबेल पुरस्कार दिने संस्थाको वेबसाइटमा लेखिएको छ– ‘हुन त टैगोरले कैयौँ विधामा लेखेका छन्, तर उनी मुख्य रूपमा उनी नै हुन्। उनका कविता, नाटक, लघुकथा र उपन्यासका ५० भन्दा बढी पुस्तक प्रकाशित भए।' वेबसाइटले टैगोरको परिचय दिँदा उनको संगीतसँगको साइनोका बारेमा अन्तिम वाक्य उल्लेख गरेको छ। लेखिएको छ– ‘यी कलाकारले कैयौँ गीत लेखेका छन् र संगीत पनि आफैले दिएका छन्।’ यस्तो लाग्छ, पुरस्कार दिनेहरूबीच उनी निकै लोकप्रिय थिए र उनको यो विधाका बारेमा पछि मात्रै दिमागमा घुस्यो।

दुई हजारभन्दा बढी गीतमा एक्लैले संगीत दिएका टैगोरका काम असाधारण र प्रभावकारी छ। उनका कैयौँ गीत आज पनि चलचित्रहरूमा प्रयोग भएका छन्। यति मात्र होइन, उनका तीन गीत त भारत, बाङ्लादेश र श्रीलंकाको राष्ट्रिय गीतका रूपमा प्रयोग भएका छन्। यस्ताखालको उपलब्धि त अरु कुनै नोबेल विजेताको हातमा छैन।

गीतकारका रूपमा टैगोरको उच्च महŒवबारे कसैको दुईमत छैन। रवीन्द्र संगीत लेखेर युट्युबमा खोजी गरियो भने उनका करिब ३४ हजार गीत भेटिन्छन्।

टैगोर इन्डियामा संगीतका उम्दा व्यक्तित्व मानिन्छन्, तर पश्चिमी संसारमा उनको यस पाटोको खासै चर्चा हुँदैन। कारण के हुन सक्छ भने, सन् १९१३ मा उनलाई सम्मान दिने नोबेल समितिले उनको संगीतलाई खासै प्रभावित गरेको थिएन होला। यसको आकलन त्यो बेलाका नोबेल समितिका अध्यक्ष ह्यारोल्ड येर्नेले पुरस्कार वितरण समारोहको अवसरमा दिएको भाषणबाट पनि गर्न सकिन्छ। पुरस्कार घोषणा कार्यक्रममा पनि संगीतको कतै उल्लेख गरिएको थिएन। १९१२ मा प्रकाशित कवितासंग्रह ‘गीताञ्जली’को मात्र चर्चा गरिएको थियो।

डिलनः गीतले दिलाएको पहिचान

टैगोरको संगीतकार व्यक्तित्वको पाटोमा उति महŒव नदिइनुका पछाडि नोबेल समितिले जानाजान लिएको निर्णय पनि कारक हुन सक्छ। यही कारणले लामो समयसम्म डिलनलाई यो सम्मान दिने कि नदिने भन्ने द्वन्द्व चलिरहेको हुनुपर्छ। साहित्यको श्रेणीमा गीतलाई कसरी राख्ने भन्ने चिन्ता भएको हुन सक्छ!

नोबेल साहित्य पुरस्कारका लागि डिलनको नामांकन पहिलो पटक १९९६ मा भएको केहीको दाबी छ। यो कुरा सत्य हो भने यसको अर्थ नोबेल समिति यी असाधारण गीतकारलाई सम्मानित गर्नेबारे दुई दशकदेखि सोचिरहेको थियो। चर्चित रक ब्यान्ड रोलिङ स्टोनको भनाइ छ– ‘यो पुरस्कार ‘लर्ड अफ द फ्लाइज’का लेखकले पाएको सम्मानपछि सबैभन्दा विवादित नोबेल सम्मान हो र त्यो सम्मान पनि यति मात्र कारणले विवाद भएको थियो कि १९८२ मा विश्वविख्यात लेखक गाब्रियल गार्सिया मार्खेजले पाएपछि मात्र उनको हातमा नोबेल परेको थियो।’

टैगोरले नोबेल पुरस्कार पाउने घोषणाताकालाई ध्यान दिएर हेर्दा के लाग्छ भने, उनका गीतका बारेमा समितिलाई पछि मात्रै ‘ओहो’ भयो होला। डिलनको पुरस्कार घोषणामा भने स्पष्टसँग भनिएको छ– ‘एकादुई साहित्यिक योगदानलाई छाड्ने हो भने उनलाई यो पुरस्कार दिनु उचित हुँदैनथ्यो, किनभने उनी एक पप कल्चरका आइकन हुन्, जसले गीत लेखे र त्यसैले उनी यसका हकदार होइनन्।

तर, कैयौँ महान् साहित्यिक हस्तीजस्तै डिलनको पहिचान पनि उनका शब्दहरूले नै निर्माण गरेको हो। उनका गीत यस्ता दिग्गजहरूको नामले भरिएका छन्, जो उनीभन्दा पहिले नै आएका थिए। ‘डेजोलेसन रो’मा एज्रा पाउन्ड र टिएस इलियट छन् भने ‘आई फिल अ चेञ्ज कमिङ अन’मा जेम्स जोयस।

प्रश्न के छ भने, बब डिलनलाई बब डिलनजस्तै गरी किन नहेर्ने? उनको कामलाई अहिलेसम्मकै अपरिचित, असाधारण र ऐतिहासिक रूपले अहम् मान्दै यस उपलब्धिमाथि उत्सव किन नमनाउने? टैगोरका कविताहरूको सबैभन्दा चर्चित संकलन गीताञ्जली अंग्रेजीमा पनि पाइन्छ, जसको अनुवाद स्वयं टैगोरले नै गरेका थिए। यसको भूमिका बटलर इट्स (इट्सले १९२३ मा साहित्यको नोबेल पाएका थिए)ले लेखेका छन्। युट्युबमा त टैगोरका बहुचर्चित गीतहरूका असाधारण भण्डार नै छ।

संगीतप्रेमीहरूको एउटा वर्गले त लामो समयदेखि साहित्यको मानकको विस्तार हुने आशा गरिबसेका थिए। र, त्यो विस्तारमा गीत विधा पनि थपिनेमा उनीहरू आश्वस्त थिए। डिलनको नोबेल जितले निश्चय पनि उनीहरूको त्यो आशामा दह्रो छाप लगाइदिएको छ। तर, गीतका लागि नोबेल जित्ने डिलन पहिलो व्यक्ति भने होइनन् र यो स्मरणलायक छ कि यो जितले अन्य गीतकारका लागि मार्ग प्रशस्त गरेको छ।

(लेखक अमेरिकाको मिनेसोटा विश्वविद्यालयमा संगीतका प्राध्यापक छन्। द कन्भर्जेसनबाट साभार, अनुवाद :  अच्युत कोइराला)

प्रकाशित: २७ कार्तिक २०७३ ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App