१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘कश्मीरको पुरानो गौरव फेरि स्थापित गर्ने’ मोदीको घोषणा

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरको पुरानो गौरव फेरि स्थापित गर्ने घोषणा गरेका छन्। ‘हामीले कश्मीरको पुरानो गौरव फेरि स्थापित गर्नेछौं र यसले देशको विकासमा मत्वपूर्ण भूमिका खेल्नेछ,’ भारतीय स्वतन्त्रता दिवसको अवसरमा बिहीबार भाषण गर्दै प्रधानमन्त्री मोदीले बताए।

मोदीले भारत प्रशासित कश्मीरले पाएको विशेषाधिकार समाप्त गर्ने आफ्नो निर्णयले सो क्षेत्र पुनः पुरानो गौरवमा फर्किने दाबी गरेका हुन्। कश्मीरलाई विशेष दर्जा दिने भारतीय संविधानको धारा ३७० ले भ्रष्टाचारलाई मात्र प्रश्रय दिएकाले सो धारा नै खारेज गरिएको उनको तर्क थियो। कश्मीरलाई विशेषाधिकार प्रदान गर्ने भारतको संविधानको धारा ३७० खारेज गर्ने नयाँ दिल्लीको निर्णयपछि गत सातादेखि कश्मीर बन्दको अवस्थामा छ र त्यहाँ फोन र इन्टरनेट सेवा पनि अवरुद्ध छन्। कश्मीरको दैनिकी अप्ठेरोमा रहेको भए पनि प्रधानमन्त्री मोदीले सो स्थितिबारे भने कुनै टिप्पणी नगरेको बिबिसीले उल्लेख गरेको छ।

‘म मेरो राजनीतिक भविष्यबारे चिन्तित छैन। मेरा लागि मेरो देशको भविष्य पहिलो स्थानमा आउँछ।’ – भारतीय प्रम नरेन्द्र मोदी

भारतीय स्वतन्त्रता दिवसका अवसरमा राजधानी नयाँ दिल्लीस्थित लालकिलामा आयोजित समारोहमा प्रधानमन्त्री मोदीले बिहीबार बिहान डेढ घण्टा बोलेका थिए। बेलायतको उपनिवेशबाट सन् १९४७ अगस्ट १५ कै दिन भारत स्वतन्त्र भएको थियो। सोही दिनलाई उसले स्वतन्त्रता दिवसको रूपमा मनाउने गरेको छ। भारतले बिहीबार ७३औं स्वतन्त्रता दिवस मनाएको छ भने पाकिस्तानले भारतको भन्दा एक दिन पहिले अर्थात् अगस्ट १४ का दिन स्वतन्त्रता दिवस मनाउने गरेको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहमा दिएको मन्तव्यमा कश्मीरलाई लिएर भारतले गरेको हस्तक्षेपको चर्को आलोचाना गरेका थिए। ‘विश्वको आँखा कश्मीर र पाकिस्तानमा छ। कफ्र्यू लगाएर भारतद्वारा जे गरियो त्यसका लागि म अन्तर्राष्ट्रिय समुदायसमक्ष त्यसका लागि तिमीहरू उत्तरदायी छौ भन्नेछु,’ आफ्नो भाषणमा खानले बताएका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–प्रशासित कश्मीरको विशेष मान्यता खारेज गरेर ‘ठूलो रणनीतिक त्रुटि’ गरेको भन्दै खानले यदि युद्ध भए पाकिस्तान पूर्ण रूपमा तयार रहेको चेतावनी समेत दिएका थिए। ‘तपाईंको इँटको जबाफ हामी पत्थरले दिन्छौं,’ उनले मोदीतर्फ इंगित गर्दै भनेका थिए।
पाकिस्तानले स्वतन्त्रता दिवस मनाएको भोलीपल्ट बिहीबार भारतको स्वतन्त्रता दिवसका दिन भाषण गर्दै मोदीले खानको टिप्पणीमा कुनै प्रतिक्रिया दिएनन्। बरु धारा ३७० खारेजको विरोध गर्नेहरूले ‘राजनीति गरिरहेको’ आरोप लगाए।

आँट नभएको र राजनीतिक भविष्यबारे चिन्ता रहेकाले पूर्ववर्ती सरकारहरुले आफ्नोजस्तो साहसिक कदम लिन नसकेको उनको जिकिर थियो। ‘म मेरो राजनीतिक भविष्यबारे चिन्तित छैन। मेरा लागि मेरो देशको भविष्य पहिलो स्थानमा आउँछ,’ सम्बोधनका क्रममा मोदीले भने।

विगत १० दिनभन्दा बढी समयदेखि कश्मीर बन्द छ। सरकारले लगाएका प्रतिबन्धका कारण कश्मीरी जनता भेला हुन पाएका छैनन्। यद्यपि हिन्दूबहुल जम्मु क्षेत्रमा परिस्थिति केही सहज भएको सरकारी अधिकारीहरुले बुधबार बताएका छन्।

सुरक्षामा कडाइ गरिएको भए पनि कश्मीरको राजधानी श्रीनगर तथा अन्य स्थानमा भारत सरकारको निर्णयविरुद्ध प्रदर्शन भएको छ। गत शुक्रबारको प्रार्थनापछि हजारौं मानिसले मुसलमानबहुल कश्मीर उपत्यकामा प्रदर्शन गरेका थिए।

अन्य घोषणा
७३औं स्वतन्त्रता दिवसका अवसरमा राजधानी नयाँ दिल्लीस्थित लालकिलामा आयोजित औपचारिक समारोहमा प्रधानमन्त्री मोदी कश्मीरको विषयमा केन्द्रित भएको भए पनि उनले केही अन्य महŒवपूर्ण घोषणा पनि गरेको बिबिसीले उल्लेख गरेको छ। मोदीको घोषणाअनुसार अब स्वतन्त्र भारतमा पहिलो पटक तीनवटै सशस्त्र सुरक्षाबलको नेतृत्व एकजना अधिकारीले गर्नेछन्।

त्यसैगरी उनले एक पटक मात्र प्रयोग हुने प्लास्टिक घटाउन पनि सर्वसाधारणलाई सम्बोधनमार्फत् आग्रह गरे। उनले पानीको अभाव, जनसंख्या नियन्त्रण र स्वास्थ्यसेवाको विषयमा पनि स्वतन्त्रता दिवसको औपचारिक समारोहमा बोले।

सन् १९४७ मा बेलायती शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्रहरु बनेका थिए। स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिले पनि सम्बन्ध सुमधुर हुन सकेको छैन। दुई छिमेकीबीचको सम्बन्धमा उत्पन्न हुने तिक्तताको विषय सधैंजसो कश्मीरकै वरपर रहने गरेको छ। सन् १९४७ देखि हालसम्मको अवधिमा दुई देशबीच कैयौं यस्ता घटना भएका छन् जसले कहिले युद्ध नै निम्त्याएको छ भने कहिले चर्को तनाव सिर्जना गरेको छ।

प्रकाशित: ३१ श्रावण २०७६ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App