coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपतिसँग प्रत्यक्ष संवाद गर्न ट्रम्पको सुझाव

विश्वको २० शक्तिशाली अर्थतन्त्र भएका राष्ट्रहरुको समूह ‘जी–२०’को शिखर सम्मेलनका क्रममा जापानको ओसाकामा भएको साइडलाइन मिटिङका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (बायाँ) र चिनियाँ राष्ट्रपति सी चिनफिङ। फाइल तस्बिर ः एजेन्सी

वासिङ्टन – हङकङमा बढ्दो राजनीतिक संकटबारे छलफल गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङसँग ‘व्यक्तिगत बैठक’ गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुझाव दिएका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘हङकङको समस्यालाई मानवीय रूपमा समाधान गर्छन् भन्नेमा शून्य प्रतिशत शंका रहेको छ’ ट्रम्पले गरेको ट्विट उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले हङकङमा भइरहेको प्रदर्शनलाई वासिङ्टन–बेइजिङबीचको व्यापार सम्झौतासँग पनि जोडेका छन्।

‘निश्चय पनि चीनले अमेरिकासँग व्यापार सम्झौता गर्न चाहेको छ। उनीहरुलाई मानवीय हिसाबले पहिले हङकङको समस्या समाधान गर्न दिऔं,’ ट्रम्पले ट्विट गरेका छन्। हङकङमा गत जुन महिनादेखि सुरु भएको सरकार विरोधी प्रदर्शनका कारण बढिरहेको राजनीतिक संकटका बीच पहिलो पटक अमेरिकी राष्ट्रपति ट्रम्पले मुख खोलेका हुन्।

हङकङमा गत जुन महिनादेखि सुरु भएको सरकार विरोधी प्रदर्शनका कारण बढिरहेको राजनीतिक संकटका बीच पहिलो पटक अमेरिकी राष्ट्रपति ट्रम्पले मुख खोलेका हुन्।

हङकङ विगत १० सातादेखि निरन्तर प्रदर्शन जारी रहेको छ। सरकारले मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो। विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयकलक्षित हुनसक्ने भन्दै प्रदर्शन सुरु भएको थियो।

कैयौं साताको विरोध प्रदर्शनपछि हङकङ सरकारले तत्कालका लागि सो विधेयक स्थगित गरिएको घोषणा गरेको थियो। यद्यपि प्रदर्शनकारीले भने विधेयक स्थगन नभई पूर्ण रूपमा खारेज हुनुपर्ने भन्दै प्रदर्शनलाई जारी राखेका छन्। प्रदर्शन जारी रहेपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले माफीसमेत मागेकी थिइन्। तर पछिल्लो समयको प्रदर्शन हङकङमा बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित हुन थालेको छ। यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री लामको राजीनामाको मागसमेत गर्दै आएका छन्।

एसियाली हब हङकङमा भइरहेको पछिल्लो प्रदर्शन स्वतन्त्रता र स्वायत्तताको मागतर्फ अघि बढिरहेको छ। कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।

उता, चीनले भने दुई महिनाभन्दा बढी समयदेखि जारी सरकार विरोधी प्रदर्शनका कारण हङकङ तहसनहस भएको र यसले विस्तारै ‘आतंकवादलाई विकास गरिरहेको’ आरोप लगाएको छ।

चीनले आधिकारिक रूपमै केही प्रदर्शनकारीको गतिविधि आतंकवादसँग तुलना गरेका कारण हङकङमा आतंकवादविरुद्धको कानुन र शक्तिको व्यापक प्रयोग हुनसक्ने हङकङका केही कानुनी विज्ञहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

यसैबीच बुधबार पनि हङकङमा प्रदर्शनकारी र दंगा प्रहरीबीच झडप भएको छ। बुधबार साँझ साम सुई पोमा नजिकै भेला भएका प्रदर्शनकारीलाई तितरवितर पार्नका लागि प्रहरीले कैयौं सेल अश्रुग्यास प्रहार गरेको बताइएको छ। प्रदर्शनकारीले प्रहरी चौकीलाई केन्द्रीत गर्दै लेजर लाइट बालेका कारण प्रहरीले बल प्रयोग गरेको सुरक्षा फौजले जानकारी दिएको छ।

प्रकाशित: ३१ श्रावण २०७६ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App