८ वैशाख २०८१ शनिबार
राजनीति

निशानामा मुख्यमन्त्री शाही

गणेश विशु

वीरेन्द्रनगर - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही गृहजिल्ला कालीकोटको रास्कोट सडक उद्घाटन कार्यक्रमका लागि जाँदै गर्दा बिहीबार बिहान कृषि क्याम्पसनजिकै बम विस्फोट भयो। उनलाई लक्षित गरी सोही समयमै अर्काे विस्फोट भयो। बुधबार पनि उनलाई लक्षित गरी दुईपटक बम विस्फोटक भएको थियो।

यति मात्र होइन मुख्यमन्त्री शाही जिल्ला जाँदा पटकपटक निशानामा पर्ने गरेका छन्। यसभन्दा अघि पनि गृहजिल्ला जाँदा उनलाई लक्षित गरी बम विस्फोट भएका थिए। तर ती बम विस्फोटको जिम्मा कसैले लिएको छैन। प्रहरीले भने मुख्यमन्त्री शाहीलाई लक्षित गरी नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपाआबद्ध कार्यकर्ताले बम विस्फोट गराएको हुन सक्ने अनुमान गरेको छ।

हालसम्म उनलाई लक्षित गरी गृहजिल्लामा चारपटक बम विस्फोट भएको छ। मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विस्फोट गराउनु उहाँ (मुख्यमन्त्री) को मनोबल कमजोर गराउन खोजिएको भन्दै मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार धुव्रविक्रम बुढाथोकीले भने, ‘बम विस्फोटकर्ताले अराजकता, कायरतापूर्ण कामले प्रभावित पार्न खोज्नेभन्दा पनि राजनीतिक ढंगले संवाद गर्नुपर्छ।’ यस प्रकरणमा राजनीतिक व्यवहार आवश्यक भएको भन्दै उनले यसबाट मुख्यमन्त्री शाहीको मनबोल कमजोर नहुने पनि बताए।

स्थानीय जनप्रतिनिधिहरू विप्लव समूहको सुरक्षा चुनौतीका विषयमा बोल्न चाहँदैनन्। विप्लवको पक्ष वा विपक्षमा बोल्दा असुरक्षित हुने भन्दै उनीहरूले यस विषयमा बोल्न नचाहेका हुन्।

अहिले मुख्यमन्त्री शाही साताव्यापी भ्रमणमा कालीकोटमा छन्। कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारीका अनुसार मुख्यमन्त्री शाही लामो समयपछि गृह जिल्ला गएका हुन्। ‘जिल्ला नजानुभएको लामो समय भएको थियो। अहिले यहाँ धेरै काम पनि नभएकाले जिल्लातिर हुनुहुन्छ,’ भण्डारीले भने, ‘कालीकोटसम्म गाडीमा जानुभएको हो। त्यहाँबाट गाउँ÷गाउँ हिँडेरै जानुहुन्छ।’

मुख्यमन्त्री शाही नेतृत्वको टोली सहभागी कार्यक्रमलाई प्रभावित गर्न बिहीबार बम विस्फोट गरिएको हुन सक्ने बताइएको छ। उक्त विस्फोटले मुख्यमन्त्रीका निर्धारित कार्यक्रम प्रभावित नहुने भन्दै मुख्यमन्त्रीका प्रेस सल्लाहकार बुढाथोकीले भने, ‘कार्यक्रम तोकिएकै समयमा हुन्छन्। यसले भ्रमणलाई असर गर्दैन।’

बम विस्फोटपछि मुख्यमन्त्री शाहीले द्वन्द्वबाट राजनीतिक सहमति ननिस्कने भन्दै बम विस्फोटभन्दा राजनीतिक सहमति हुनुपर्ने बताए। उनले विस्फोटपछि भएका कार्यक्रमहरूमा सम्बोधन गर्दा विप्लव नेतृत्वको नेकपालाई लक्षित गरेका थिए। बम विस्फोट भए पनि सुरक्षामा खतरा नभएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमेख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले बताए। अहिले कालीकोटमा सुरक्षा व्यवस्था अझ कडा पारिएको भन्दै उनले थप प्रहरी परिचालन गरिएको बताए।

सबै स्थानीय तहमा प्रहरी परिचालन
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गतिविधि बढ्न थालेपछि कालीकोटका सबै स्थानीय तहमा प्रहरी परिचालन गरिएको छ। यहाँका तीन नगरपालिका र ६ गाउँपालिकामा प्रहरी परिचालन गरिएको हो।

केही दिनअघि नरहरिनाथ गाउँपालिकामा विप्लव समूहका कार्यकर्ताले आगजनी गरेपछि यहाँका स्थानीय तहमा सुरक्षा चुनौती बढेको थियो। अहिले स्थानीय तहमै प्रहरी इकाई स्थापना गरेर प्रहरी बसेको छ। एउटा स्थानीय तहमा प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा ६ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी नायब उपरीक्षक) विनोद शर्माले जानकारी दिए। उनका अनुसार प्रहरीले जिल्लामा गस्ती बढाउनुका साथै ‘ग्रामीण बस्ती गस्ती’ अभियानसमेत सञ्चालन गरिरहेको छ।

योसँगै यहाँका १० ठाउँमा प्रहरी अस्थायी पोस्ट निर्माण गरिएको छ। यहाँ प्रत्येक पोस्टमा १०÷१० जना प्रहरी रहेको प्रहरी नायब उपरीक्षक शर्माले जनाए। विप्लवको गतिविधि बढ्ने ठाउँमा अस्थायी प्रहरी पोस्ट राखिएको छ। ‘अहिले यहाँ विप्लवका गतिविधि घटाएका छौं,’ उनले भने, ‘प्रहरी विप्लवका गतिविधि नियन्त्रण गर्न विभिन्न सुरक्षा नीति अपनाएको छ।’

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा समूहले स्थानीय तहमा आपराधिक गतिविधि बढाउन थालेपछि प्रहरीले सुरक्षा गतिविधि बढाएको हो। कालीकोटलाई कर्णालीको सबैभन्दा बढी प्रभावित क्षेत्र मानिएको छ। ‘प्रतिबन्धित नेकपाका कार्यकर्ता हिँड्ने ठाउँमा गस्ती बढाएका छौं,’ प्रहरी नायब उपरीक्षक शर्माले भने। गस्तीमा जाने प्रहरीलाई पनि कडा गरिएको छ। ‘जुन ठाउँसम्म गस्ती गर्ने भनिएको छ, त्यहाँ गएर प्रहरीले फोन गर्नुपर्छ,’ उनले भने, ‘यसो गर्दा प्रहरी जुन ठाउँमा भनिएको छ, त्यहाँ प्रहरी गयो गएन भन्ने थाहा हुन्छ।’

यदि त्यसो नभए प्रहरी कारबाहीमा पर्ने उनको भनाइ छ।यसैबीच भनेको समयमा तोकिएका ठाउँसम्म गस्ती नगर्ने पाँच प्रहरीलाई कारबाहीसमेत गरिएको छ। गाउँ केन्द्रित प्रहरीले गस्ती बढाएपछि स्थानीय त्रसित हुँदै आएका छन्। १० बर्से सशस्त्र द्वन्द्वको झल्को आउने गरी प्रहरी परिचालन भएपछि स्थानीय चिन्तित भएका हुन्। यहाँका जनप्रतिनिधिहरू विप्लव समूहको सुरक्षा चुनौतीका विषयमा बोल्न चाहँदैनन्। विप्लवको पक्ष वा विपक्षमा बोल्दा असुरक्षित हुने भन्दै उनीहरू यस विषयमा बोल्न चाहँदैनन्। ‘विप्लव समूहबाट चन्दा भनेरै त आएको छैन,’ महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले भने, ‘सहयोग माग्न भने आएका थिए।’ केही समय पहिला जनप्रतिनिधिको राजीनामा माग्दै पत्र आएको भन्दै उनले त्यति त्रसित नभएको बताए।

रासकोट नगरपालिकाका नगरप्रमुख काशीचन्द्र बरालले विध्वंशात्मक गतिविधि हुँदा कहीं कतै सामान्य त्रास हुने बताए। यसलाई द्वन्द्वात्मकभन्दा पनि राजनीतिक रूपमा समाधान गर्नुपर्ने उनको भनाइ छ। ‘यहाँ कर्मचारी कम छन्,’ उनले भने, ‘कहिले कसो हुने घटनाले काममा झनै समस्या पु-याउँछ।’ उनले आफूहरूले प्रहरी नमगाएको भन्दै सरकारले सुरक्षा नीतिअनुसार पठाएको हुनसक्ने बताए।

प्रकाशित: ३१ श्रावण २०७६ ०१:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App