coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विप्लवलाई शान्तिपूर्ण राजनीतिकमा आउन मुख्यमन्त्री राईकाे आग्रह

उदयपुर– प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई छिट्टै वार्ताद्वारा शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउने प्रयास भईरहेको बताएका छन्। आजदेखि सुरु नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेशको प्रथम महाधिवेशन तथा ‘श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन तथा श्रमजिवी पत्रकार र सञ्चार प्रतिष्ठानको समस्या’ विषययक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्। उनले विप्लव समूहलाई शान्तिपूर्ण मुलधारमा ल्याउन संघीय र प्रदेश सरकार लागिरहेको खुलासा पनि गरे।

उनले अव अधिकार पाउनकै लागि नेपालमा कसैले पनि आन्दोलन गरिराख्नु नपर्ने बताए। उनले नयाँ संविधानले धेरै अधिकारको सुनिश्चितता गरिसकेकाले त्यसको कार्यान्वयन गरेर उपभोग गर्नुपर्नेमा मुख्यमन्त्री राईले जोड दिए। ‘हामीले लामो समय सशस्त्र द्वन्द्व, ऐतिहासिक जनआन्दोलन, आदिबासी जनजाति अधिकार र मधेसी तथा महिला अधिकारका आन्दोलन ग¥यौं’ राईले भने। ‘अब नयाँ संविधानले सबै असन्तुष्टिहरुको संबोधन गरिसकेको छ, खाली कार्यान्वयन गर्न मात्र बाँकी छ।’

स्वतन्त्र मधेसको नारा लगाउदै लामो समयदेखि आन्दोलनरत सिके राउत समूह रणजनीतिक मुलधारमा आईसकेको भन्दै मुख्यमन्त्री राईले विप्लव समूह पनि शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नरहेको बताए। ‘विप्लव समूह छिट्टै राजनीति मूलधारमा आउनुपर्छ, म उहाँलाई वार्ताद्वारा शान्तिपूर्ण राजनीतिमा लाग्न पटक पटक आव्हान गर्दै आएको छु, अहिले पनि गर्छु ।’ उनले संघीय सरकारले वार्ता टोली बनाएर विप्लव समूहसँग वार्ता गरिरहेको बताउँदै उनले हरेक समस्याको समाधान निकाल्न वार्ता र छलफल नै उत्तम उपाय भएको बताए। बम, बारुद्ध र तोडफोडबाट होईन, वार्ताबाट मात्र शान्ति र विकास संभव हुने र त्यसले मात्र देशमा समृद्धि प्राप्त हुने राईले बताए।

लोकसेवाको विज्ञापनविरुद्ध भईरहेको आदिबासी जनजातिको आन्दोलनलाई पनि छलफल र सहमतिबाटै निकास दिइनुपर्ने उनले बताए। संविधानले सबैखाले असन्तुष्टिहरुलाई सम्बोधन गरिसकेको भए पनि कार्यान्वयन हुन नसक्दा यस्तो आन्दोलनको जन्म भएको उनको बुझाई छ।

‘मुलुकमा माटो सुहाउदो व्यवस्था आएको छ, स्थानीयतह, प्रदेश र संघीय सरकारमार्फत देशलाई समृद्धिको लोकमार्गमा दौडाउनुछ’ उनले भने ‘परिवर्तन देख्न नचाहने तत्वहरु बन्दकोठामा बसेर संघीयता र गणतन्त्रविरुद्ध षडयन्त्र गरिरहेका छन् तर, उनीहरुको षडयन्त्र सफल हुनेवाला छैन्।’

संघीयता र गणतन्त्र ल्याउनमा पत्रकारिता जगतको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले प्रदेश सरकार पत्रकारिता जगतको सम्मान गर्न र सक्दो सहयोग गर्न प्रतिबद्ध रहेको बताए। फोनिजमा आबद्ध पत्रकारहरुलाई व्यवसायिक र गुणस्तरीयतातर्फ ध्यान दिन सुझाए। अहिले देशमा सकारात्मक पत्रकारिताको आवश्यक्ता औंल्याउँदै मुख्यमन्त्री राईले सकारात्मक विषयमा कलम चलाउन पत्रकार जगतलाई आव्हान गरे।

‘जातीय पहिचान र संविधान कार्यान्वयनका लागि पूर्ण समावेशी सञ्चार, नेपाल आदिबासी जनजाति महासंघ (फोनिज) १ नं. प्रदेशको ऐतिहासिक प्रथम महाधिवेशन’ भन्ने नाराका साथ त्रियुगा नगरपालिका ९ रावाबासमा सुरु महाधिवेशन शुक्रबारसम्म चल्नेछ। महाधिवेशनले नयाँ प्रदेश कमिटी गठन पनि गर्नेछ। 

प्रकाशित: ३० श्रावण २०७६ १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App