८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौंमा भारतीय स्वतन्त्रता दिवस, एम्बुलेन्सदेखि बससम्म नेपाललाई विभिन्न सहयोग

काठमाडौं– नेपालमा भारतको ७३ औं स्वतन्त्रता दिवस मनाइएको छ। राजधानीको लैनचौरस्थित भारतीय राजदूतावासमा मनाइएको स्वतन्त्रताको दिवसको शुभारम्भ राजदूत मन्जिभसिंह पुरीले भारतको राष्ट्रिय ध्वजा झण्डोत्तोलन गरेर गरेका थिए।

कार्यक्रममा राजदूत पुरीले भारतका राष्ट्रपति रामनाथ कोविन्दकोे सन्देश पढेर सुनाए। सन्देशमा भारतले गएको ७२ वर्षमा विविध क्षेत्रहरुमा प्राप्त गरेको उपलब्धिबारे उल्लेख थियो। 

स्वतन्त्रता दिवसमा भारतले एम्बुलेन्सदेखि बससम्मको विभिन्न सहयोग नेपाललाई गरेको छ। यसअन्तर्गत राजदूत पुरीले ३ वीर नारी, ५ एकल महिला, ६ मृत सैनिकका निकटतम नातेदारलाई नेरु ५.३१ करोड नगद तथा कम्मल प्रदान गर्दै  सम्मान गरे।

भारतीय दूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक उपहार स्वरुपप्रदान गर्यो। राजदूतावासले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध पनि गरायो। यी सबै सहयोग भारत सरकारको नेपालको सामाजिक–साँस्कृतिक विकासतर्फको यात्रामा साझेदारी गर्ने प्रतिबद्धता स्वरुप भएको दूतावासले जनाएको छ।

भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ७५२ वटा एम्बुलेन्स र १४८ वटा बस उपहार स्वरुप प्रदान गरिसकेको छ। 

स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहमा राजदूतावासका कर्मचारीहरु तथा उनीहरुका परिवार लगायत नेपालमा रहेका भारतीय समुदाय र भारतका अनन्य मित्रहरुको सहभागिता  थियो। उक्त समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, काठमाडौं केन्द्रीय विद्यालय र मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरुले देशभक्तीपूर्ण गीतहरु प्रस्तुत गरेका थिए। नेपाल आर्मी ब्याण्डको सुमधुर प्रस्तुति रहेको थियो। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App