coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

आख्यानीकृत यात्रा

महेश पौड्याल

कवि,  नियात्राकार तथा साहित्यिक अभियन्ताको रूपमा आफ्नो परिचय बनाएका पवन आलोकको परिचय अब विस्तारित भएको छ। उनले आफ्नो पहिलो उपन्यास अरुण एक्सप्रेस प्रकाशित गरेर आफूलाई फरक कित्तामा उभ्याएका छन्। उपन्यासको संरचनागत ढाँचाभित्र अर्थात् आख्यानको मौलिक संरचनाभित्र यात्रा गर्दाका घटनाक्रमहरूलाई उपाख्यान या घटनाको पृष्ठभूमिको रूपमा प्रयोग गरेपछि एउटा लामो कथा यात्राउपन्यास बन्छ। नेपाली उपन्यासको सन्दर्भमा सम्भवतः आलोकको यो उपन्यास नै पूर्णसचेतनाका साथ यात्रालाई आख्यानीकृत गर्ने कृति हुन पुगेको छ। यात्रालाई आधार बनाएर लेखिएका अन्य उपन्यास पनि छन्, तर तिनमा यात्राको कलेवरमा यथार्थको आख्यानीकरण छ। तर, आख्यानको कलेवरमा यात्राको समायोजन कुनै पनि उपन्यासलाई यात्राउपन्यास बनाउने न्यूनतम शर्त हो। यस अर्थमा, शोधले अन्यथा प्रमाणित नगर्दासम्म, अरुण एक्सप्रेस नै पहिलो यात्रा–उपन्यास हो भन्न सकिन्छ।

उपन्यासका अधिकांश प्रमुख पात्र कमजोर र आत्महीन छन्। परिवारले आफूमाथि गरेको अन्यायका विरुद्ध संघर्ष नगरेर सुमनले पलायनको बाटो रोज्यो। सीतामाथि बलात्कार भयो, तर त्यसपछिका न्यायका धेरै बाटा हुन सक्थे।

के छ त यस उपन्यासमा? महादेवबेसी बस्ने राई समुदायकी सीता र क्षेत्री समुदायका रमेशको बाल्यकाल, प्रेम र वियोगको कथा छ समग्रमा। पूर्वी नेपालको पहाडी भेगको जीवनबाट उठान गरिएको यस उपन्यासमा रमेश र सीता गोठ जाँदा, स्कुल जाँदा, घाँस–दाउरा जाँदाका साथी हुन् र समयसँगै प्रेममा बाँधिएका छन्। पढाइको क्रमका एसएलसी सकेपछि रमेश विराटनगर जान्छ र उनीहरूको निरन्तर भेटघाटको सिलसिला अवरुद्ध हुन्छ। यता सीतामाथि गाउँका सामन्तका भाइछोराहरूले बलात्कार गर्छन् र उनी आफ्नो अस्मितामाथिको प्रहारबाट विह्वल भएर अरुण नदीमा हाम्फालेर आत्महत्या गर्छिन्। यसै समाचारबाट विह्वल रमेश आजीवन सीताको प्रेममा अविवाहित रहने अठोटमा पुग्छ।

रमेशको वाल्यकालको दौँतरी सुमनको परिवार आफूसँग भएको सानो जग्गा पनि गाउँका ठालूले हत्याएपछि घरको न घाटको भएको परिस्थितिमा आसामतिर पस्छ। अब रमेशसँग न सीता छिन् र सुमन। रमेश विराटनगरमै हुन्छ, कहिलेकाहीँ घर आउँछ। उसले बिहे नगरेको र उसको भाइको सन्तान पनि भैसकेको परिप्रेक्ष्यमा, घरको जेठो छोरो भएका नाताले रमेशमाथि बिहेको निरन्तर दबाब आइरहनु स्वाभाविक हो। ऊ घर आएपिच्छे यही प्रश्नबाट आक्रान्त छ, त्यसैले ऊ घर आउन रूचाउँदैन। जागिरकै सिलसिलामा ऊ काठमाडौँ सरुवा हुन्छ, जहाँबाट कामविशेषले ऊ धेरै मुलुकको भ्रमणमा निस्कन्छ । यसै क्रममा ऊ चीन, फिलिपिन्स, थाइल्यान्ड, सिंगापुर, श्रीलंका र पाकिस्तानको भ्रमणमा जान्छ। भ्रमणमा गएका देशमा प्रेमीहरूको प्रेमालापका प्रशस्त दृश्यबिम्ब देखिन्छन्, जसले उसको विस्मृत मानसिकतामा सीताको प्रतिबिम्बलाई पुनः उत्तिकै बिझाउने घाउको रूपमा बल्झाइदिन्छ। फलतः ऊ कहीँ गए पनि सीताको स्मृतिबाट विमुख हुन सक्दैन।

आक्रान्त रमेश पुनः गाउँ फर्कन्छ, यद्यपि यसपटक पनि उसमाथि परिवारले खन्याएको प्रश्न बिहेकै हो। यसैबीच, उसको वाल्यकालको साथी सुमन वर्षौंपछि सिस्नेरी फर्केको छ भन्ने समाचार सुन्छ। बिहेको करकापबाट वाक्क रमेश सुमनलाई भेट्न बिहानभरिको बाटो हिँडेर सिस्नेरी पुग्छ, जहाँ वर्षौपछि भेटिएका साथीहरू स्मृतिको चक्रवातमा घन्टौँसम्म रुमलिन पुग्छन्। अन्त्यमा, उनीहरूले वाल्यकालमा धेरै हिँड्डुल गरेको अरुण नदीको त्यसै किनारमा पुग्छन्, जहाँ सीताले अन्तिमपटक जिन्दगीमा पाइला टेकेकी थिइन्। अरुण नदी एक विशिष्ट रूपक अलंकार हो यस कृतिमा, जुन पात्रहरूको साझा बालापनको साक्षी, प्रेम र प्रणयको एक चिरन्तन प्रेरणा हुनुका साथै जीवन र मृत्युबीचको त्यो एक अभेद्य नीलदह पनि हो, जसलाई पार गर्न सक्नेहरू सायद लक्ष्यमा पुग्छन्। कारणबस नसक्नेहरू निलाम्य अरुणको गहिराइमा आफैलाई समाहित गर्दै जीवनलाई आधाबाटोमै विश्राम दिन्छन्। अरुण त्यो आस्तित्विक भास पनि हो, जो निरन्तर बगिरहन्छ जिन्दगीको वरिपरि र चुनौती दिइरहन्छ पात्रहरूलाई– आऊ, कि त पार गर मलाई र चुम आफ्नो लक्ष्य कि त मेरो गर्भमा समाहित बन, र बग समँगै अनन्ततिर!

निकै भावुक गफगाफ र आत्मप्रतीतिका कुराकै बीच रमेशभित्र उठेको अतिशय भावुकताको हुरीमा ऊ अफैभित्रको नियन्त्रण गुमाउन पुग्छ र सीताले आफूलाई समाहित गरेकै दहमा हाम्फालेर अरुण नदीको अंश बन्न पुग्छ। यस नाटकीय घटनाक्रमको एक्लो साक्षी सुमन रमेशले अंगीकार गरेको बाटो अवलम्बन गर्न त सक्दैन, तर अस्तित्वको चपेटमा परेको ऊ बाँचेकाहरूलाई अगाध प्रेम र कटु परिस्थितिको चपेटमा परेका यी दुई विह्वल प्रेमीको कारुणिक कथा भन्नलाई बाँचिरहेको छ। अब सुमन ती सबै विपर्यासको पनि बिम्ब हो, जसले आधुनिक समयमा पनि पूरातन मूल्यको सिकार एक विक्षिप्त मानसिकताको प्रतिनिधित्व गर्छ, जोसँग जीवन छ तर अधिकार छैन, जाँगर छ तर आवाज छैन, क्षमता छ तर न्याय छैन, अध्ययन र अनुभव छ, तर टेक्ने–समाउने कुनै ठाउँ छैन।

थोरै पात्र, स्पष्ट कथाक्रम, यात्राका रोचक प्रसंग, सरल भाषा र संवेगको सन्तुलित प्रयोगले विधातात्विक दृष्टिकोणबाट निकै सन्तुलित यो उपन्यासलाई विविध कोणबाट हेर्न सकिन्छ। पहिलो, भ्रमणबाट टिपेका सूक्ष्म यथार्थ र सूचनाले पाठकलाई कथासँग ती भूगोलहरूको भ्रमण पनि गराउँछ र यथेष्ट जानकारी गराउँछ, जसबाट भूमण्डलीकृत समयका कस्मोपोलिटन पात्रहरूको मनोदशालाई उत्तरआधुनिक समयचेतसँग जोडेर हेर्न सकिन्छ। आदर्श प्रेमकै मूलजगमा उभ्याइएको यस उपन्यासले जातीयता, सामन्तवाद र वर्ग संघर्ष, अत्याचार, पलायन आदि विषयलाई स्पर्श गरेको छ। असन्तुलित लैंगिक सम्बन्ध र विभेदलाई पनि यस उपन्यासले छोएको छ। ग्रामीण भेगको समान्य, मध्यमवर्गीय नेपाली परिवारका अगाडि आइरहने मूल्य, मानबिन्दु, अर्थव्यवस्था र रीतिरिवाजसिर्जित समस्यालाई नै मूल पृष्ठभूमि बनाएको यस उपन्यासले मूलतः एक आदर्शवादी यथार्थलाई नै केन्द्रीय कथ्य बनाएको छ। समग्रमा एउटा बलिदानीपूर्ण प्रमोत्घाटनमा लगेर आफूलाई समापन गरेको छ। कौतुहलतालाई अद्योपान्त कायम राख्न सक्नु र मूल कथानकलाई विषयान्तर गर्नेखालका अनेक उपाख्यान नहुनु यस उपन्यासको छरितोपनलाई सुनिश्चित गर्ने सबल पक्ष हुन्।

उपन्यासलाई आत्मकथात्मक उपन्यास भन्ने आधार पनि धेरै छन्। आलोकको पूर्वी नेपालका पहाडको वाल्यकालीन पृष्ठभूमि, विराटनगरको अध्ययन र जागिरे जीवनको प्रारम्भ, काठमाडौँमा विभिन्न अन्तर्राष्ट्रिय संघसस्थामा आबद्धता, विभिन्न देशको भ्रमण आदि कुराले यस उपन्यासलाई आत्मथात्मक तŒवहरू आधारित भन्ने बलियो आधार दिन्छन्। उपन्यासको अन्त्यतिर लेखकले ६ पृष्ठको आफ्नो परिचय राखेका छन्, जसबाट उनको यात्राको भूगोल कहाँकहाँ विस्तारित छ भन्ने बु‰न सकिन्छ । कल्पनाशीलताको एक शालीन बुनोट भए पनि आख्यानले लेखकीय अनुभवलाई आख्यानीकृति गरेकै हुन्छ। त्यसमा पनि यात्राउपन्यास भनेर घोषणै गरेपछि त यथार्थको आख्यानीकरण यस प्रकृतिका रचनाको एक मूलभूत स्वभाव हुँदै हो। यथार्थलाई कसरी र कुन हदसम्म आख्यानीकृत गरिएको छ अथवा स्वैरकल्पनाले लेपन गरिएको छ, त्यसैको आथारमा लेखकको कल्पनाशीलताको मापन हुन्छ।

सरल भाषा, सूक्ष्म र चाखलाग्दा यात्रा विवरण र कौतूहलपूर्ण कथनको आलोकमा उभिएको यस उपन्यासमा लेखकले केही प्रश्नको जवाफ भने दिइरहनुपर्ने देखिन्छ। पहिलो, धेरै ठाउँ लेखकले आख्यानको प्रवाहमा हस्तक्षेप गरेर निर्णयहरू आफै सुनाएका छन्। आख्यानका परिवेश र घटनालाई राखिसकेपछि त्यसबाट निर्णय वा निचोड निकाल्ने काम पाठकको हो। लेखकीय स्वको अतिशय मस्तिष्कतः उपन्यासको प्रवाहसँग समाहित हुँदैन। जीवन्त साहित्यको लक्षण भनेकै त्यसको लाक्षणिकता हो, जसबाट पाठकसमक्ष सधैँ नयाँ अर्थ र विश्लेषणको अभिर्भाव भैरहोस्।

अर्को कुरा, यस उपन्यासका अधिकांश प्रमुख पात्र कमजोर र आत्महीन छन्। परिवारले आफूमाथि गरेको अन्यायका विरुद्ध संघर्ष नगरेर सुमनले पलायनको बाटो रोज्यो। सीतामाथि बलात्कार भयो, तर त्यसपछिका न्यायका धेरै बाटा हुन सक्थे। तर, सीताले आत्महत्या गरिन्, यस विषयको न्यायिक वा सामाजिक निरूपणको बाटो नै बन्द भयो। उता पढेलेखेको, काठमाडौँ बसेको र आधा विश्व घुमेर धेरै कुरा बुझेको रमेशले पनि मस्तिष्कभन्दा हृदयलाई आफ्नो जीवनको सारथि बनायो। अन्यायका विरुद्ध लड्नुभन्दा आत्महत्याको बाटो अवलम्बन गर्‍यो! विद्रोहको झिल्कोसम्म पनि देखिँदैन कुनै पात्रमा। उपन्यासले समाज रूपान्तरणको पक्षमा चुँक्क पनि बोलेको छैन। उपन्यासको यो अप्रत्याशित पटाक्षेपले पलायनवादी र अस्तीत्ववादी मानसिकतालाई प्रश्रय दिएको देखिन्छ।

 

पुस्तक :  अरुण एक्सप्रेस

विधाः उपन्यास

लेखकः पवन आलोक

प्रकाशकः नेपाल श्रष्टा समाज

प्रकाशन मितिः २०७३

मूल्यः रु. २००

प्रकाशित: २७ कार्तिक २०७३ ०५:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App