coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बास्केटबलको प्रशिक्षण धरानमा

धरानमा बन्द प्रशिक्षणको क्रममा बास्केटबलको महिला टोली।

धरान - तीन महिनापछि  १३औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा हँुदै छ। सागमा सहभागी हुने बास्केटबल खेलको राष्ट्रिय टोलीको तयारीका लागि बन्द प्रशिक्षण धरानमा भइरहेको छ। धरान १६ रंगशालास्थित सेमी कभर्ड हलमा इन्डोर बास्केटबल कोर्ट छ। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणलाई केन्द्रित गरेर नगर खेलकुद विकास समितिले यो कोर्ट निर्माण गरेको हो। साउन १६ देखि सोही कोर्टमा महिला तथा पुरुष बास्केटबल टोलीको बन्द प्रशिक्षण जारी छ। बन्द प्रशिक्षणमा ३२  पुरुष खेलाडी र २५  महिला खेलाडी छन्। बिहान, बेलुका तालिका मिलाएर महिला र पुरुष टोलीको यहाँ प्रशिक्षण हुन्छ। बास्केटबलको राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पहिलो पटक राजधानीबाहिर धरानमा छ।

सन् २०१० देखि निरन्तर महिला राष्ट्रिय टोलीमा रहेकी सिनियर खेलाडी सदिना श्रेष्ठ धरानमा बन्द प्रशिक्षण हुँदा खेलाडीहरूको ध्यान प्रशिक्षणमा मात्र केन्द्रित भएको बताउँछिन्। उनले यहाँ भइरहेको प्रशिक्षणप्रति सन्तुष्टि व्यक्त गरिन्। ‘टोलीमा काठमाडौंका धेरै छौं, उतै प्रशिक्षण हुँदा घर जाने, केही काम पर्दा बाहिर निस्कने गर्छौं,’ महिला राष्ट्रिय टोलीको कप्तानीसमेत गरिसकेकी उनले भनिन्,‘यहाँ खेल्ने, खाने, सुत्ने मात्र भइरहेको छ, यसरी बाहिर प्रशिक्षण हुँदा खेलमा मात्र ध्यान जाने रहेछ, र यो उत्कृष्ट प्रशिक्षण भइरहेको छ।’

‘टोलीमा काठमाडौंका धेरै छौं, उतै प्रशिक्षण हुँदा घर जाने, केही काम पर्दा बाहिर निस्कने गर्छौं। यहाँ खेल्ने, खाने, सुत्ने मात्र भइरहेको छ, यसरी बाहिर प्रशिक्षण हुँदा खेलमा मात्र ध्यान जाने रहेछ, र यो उत्कृष्ट प्रशिक्षण भइरहेको छ।’

धरानमा महिला र पुरुष बास्केटबल टोलीलाई दुई अलग होटलमा राखिएको छ। महिला टोली होटल सन्ध्या इनमा छ भने पुरुष टोली होटल रत्न इनमा छ। उनीहरूलाई होटलबाट रंगशालासम्म पु¥याउन र ल्याउन धरान उपमहानगरपालिकाले एउटा सवारी उपलब्ध गराएको छ। खेलाडीलाई समय मिलाएर धरान फिटनेस क्लबमा जिम गर्ने व्यवस्था पनि मिलाइएको छ। ‘काठमाडौंबाहिर पहिलो चोटि बास्केटबलको बन्द प्रशिक्षण भइरहेको छ, र प्रशिक्षण एकदम राम्रो चलिरहेको छ,’ प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मीले भने,‘खेलाडीहरू प्रशिक्षणमा मात्र केन्द्रित भएका छन्, यहाँ बास्केटबल संघ, नगरपालिका सबैबाट राम्रो सहयोग भइरहेको छ।’ धरानमा आगामी भदौ १३ गतेसम्म बन्द प्रशिक्षण हुनेछ। यो पहिलो चरणको प्रशिक्षणबाट सहभागी खेलाडीमध्येबाट पुनः खेलाडी छनोट भएर थप प्रशिक्षण हुनेछ।

घरेलु दर्शक र कोर्टको फाइदा
दक्षिण एसियाली मुलुकको खेलकुदमध्ये अधिकांशमा भारतको वर्चश्व छ। बास्केटबलमा पनि भारत नै पहिलो स्थानमा छ। तर, भारतपछि भने दोस्रो स्थानमा नेपालसँगै श्रीलंका र बंगलादेशबीच तीव्र प्रतिस्पर्धा छ। बास्केटबलकमा सबै उमेरसमूहमा नेपाल दोस्रो स्थानको प्रमुख दाबेदार मुलुक हो। यसपालि १३आंै साग नेपालमै आयोजना हुने भएकाले पनि घरेलु दर्शक र घरेलु मैदानको लाभ नेपालले उठाउन सक्छ।
प्रमुख प्रशिक्षक नकर्मीका अनुसार ५ अन ५ विधामा भारतपछि नेपालको दाबी हुनेछ। यो विधामा रजत पदक जित्ने लक्ष्य नेपालको छ। अर्को, विधा ३ अन ३ मा भने नेपालले स्वर्ण पदक जित्ने लक्ष्य राखिएको प्रमुख प्रशिक्षक नकर्मी बताउँछन्। ‘५ अन ५ मा भारत पनि नेपालकै बराबरीको टोली हो, यसपालि नेपालमै साग हुने भएकाले फाइदा पुग्छ,’ उनले भने,‘३ अन ३ मा विश्व च्याम्पियनसिप पनि खेलेको अनुभव छ, त्यसैले स्वर्ण जित्ने लक्ष्य छ।’

नेपालले स्वर्ण पदक जित्नका लागि मात्र ३, ४ महिनाको प्रशिक्षण गरेर सम्भव नहुने प्रमुख प्रशिक्षक नकर्मीको भनाइ छ। राज्यले दीर्घकालीन नीति र योजना बनाएर लगानी गरे मात्र नेपालले चाहेजस्तो हरेक खेलमा स्वर्ण जित्ने उनको भनाइ छ। ‘तत्काल सम्भव हुन्न, दीर्घकालीन योजना र रणनीति चाहिन्छ,’ उनले भने।

धरानबाट एक प्रशिक्षक र ४ खेलाडी
बास्केटबलको धरानमा जारी बन्द प्रशिक्षणमा मुख्य प्रशिक्षक नकर्मीसँगै ६ जना प्रशिक्षक छन्। तीमध्ये एक जना प्रशिक्षकमा धरानका विकास चाम्लिङ राई पनि छन्। उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ नं प्रदेशको लागि नियुक्त भएका एक मात्र प्रशिक्षक हुन्। प्रदेश १ मा बास्केटबल खेलको विकास तथा विस्तारमा उनको महŒवपूर्ण योगदान छ।

यस्तै, बन्द प्रशिक्षणमा धरानका ३  खेलाडीले पनि अवसर पाएका छन्। तीमध्ये एक पुरुष र ३ जना महिला खेलाडी छन्। पुरुषतर्फ धरानका खेलाडी नवीन राई पनि बन्द प्रशिक्षणमा छन्। उनी प्रदेश नं १ को बास्केटबल टोलीका क्याप्टेन हुन्। यस्तै, धरानकी डा.आशा राई, लियालिसा श्रेष्ठ र तनु राई पनि महिला टोलीको बन्द प्रशिक्षणमा सामेल छिन्। ‘राष्ट्रिय टोली छनोटका लागि क्लोज क्याम्प धरान आउनु नै गौरवको कुरा हो, त्यसमाथि ४ जना खेलाडी क्याम्पमा समावेश छन्,’ प्रशिक्षक चाम्लिङले भने, ‘यहाँ बास्केटबलको जेजति गतिविधि, पूर्वाधार विकास भएको छ, त्यसअनुरूप खेलाडीहरू पनि उत्पादन भइरहेको छ भन्ने देखिएको छ।’

प्रकाशित: ३० श्रावण २०७६ ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App