८ वैशाख २०८१ शनिबार
खेल

गौचरनबाट फेरिएको क्रिकेट मैदान

दाङ - अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम दिएर देउखुरी, लमहीमा निर्माण थालिएको खेलमैदान लामो समयसम्म गौचरन बन्दै आयो। खेल  निर्माणमा आएको सुस्तताका कारण अन्तर्राष्ट्रिय स्तरको भनिएको उक्त खेलमैदान गौरचन मात्रै हैन, मोटर ड्राइभिङ सेन्टरसमेत बन्यो। यही खेल मैदानलाई गाडी सिकाउनका लागि उपयुक्त थलो बनाइयो। यति मात्रै हैन, मेलामहोत्सव लाग्ने थलो पनि यही मैदान बन्यो। यसले खेलमैदानलाई थप कुरूप बनाउँदै लग्यो।

तर अहिले उक्त खेलमैदानले राष्ट्रियस्तरको प्रतियोगिता सम्पन्न गरिसकेको छ भने अन्तर्राष्ट्रिय स्तरकै खेल सम्पन्न गराउन तयार भइसकेको छ। यही खेलमैदानमा केही समयअघि मात्रै आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सम्पन्न भएको थियो। यति मात्रै हैन, स्थानीय स्तरमा पनि अब्बल खेलाडी उत्पादन गर्ने गतिलो थलोसमेत बनेको छ। ‘यति ठूलो खेलमैदान सदुपयोग हुन नसक्दा यहाँका खेलाडीलाई सिक्ने अवसर पनि मिलेको थिएन,’ देउखुरी क्रिकेट संघका सचिव पवन रिजालले भने ‘अहिले बिहान र बेलुकाको समयमा देउखुरीका खेलाडी साथीहरूले यही खेलमैदानमा खेल्ने अवसर प्राप्त गर्नुभएको छ।’ उचित खेलमैदान नहुँदा स्थानीय खेलाडीहरू ढुंगैढुंगा भएको डाँडामा खेल अभ्यास गर्दै आएका थिए। ‘दुई वर्षयता यो खेल मैदान निर्माणले राम्रोसँग गति लिन पायो, अब यो खेलमैदान अन्तर्राष्ट्रिय खेल सम्पन्न गर्नका लागि अन्तिम अवस्थामा पुगेको छ,’ सचिव रिजालले भने ‘महिला राष्ट्रिय प्रतियोगिता पनि भर्खरै मात्रै यही मैदानमा सम्पन्न भइसकेको छ।’

अन्तर्राष्ट्रिय मापदण्डमा रहने क्रिकेट खेलमैदानको क्षेत्रफल ६० देखि ७० रेडिएसमा हुनुपर्छ। तर लमहीमा रहेको यो खेल मैदान ८०÷८० को रेडिएसमा रहेको छ। ३५ हजार दर्शकले अवलोक गर्न सक्ने क्षमता रहेको यो खेलमैदानको सबै काम पूरा भइसकेको छ। मैदानमा ५ वटा पिच तयार भएका छन्। यसका अलावा खेल अभ्यास गर्नका लागि छुट्टै पिचको समेत निर्माण गरिएको छ। ‘खेलमैदानभित्रको काम सबै सकिइसकेको छ,’ सचिव रिजालले भने ‘बाउन्ड्रीलगायत बाहिरी भौतिक संरचना निर्माणको काम मात्रै अब बाँकी छ, यी काम पनि भैरहेका छन्।’

यो खेलमैदानको निर्माण लमही नगरविकास समितिको अगुवाइमा भइरहेको छ। नगर विकास समितिले सुरुमा यो खेलमैदान निर्माणका लागि दुई करोड बढी रकम विनियोजन गरेको थियो। यसै गरी संघीय सरकारले ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो। अहिले नगर विकास समितिले खेल मैदानको भौतिक संरचना निर्माणका लागि साढे तीन करोढ बजेट विनियोजन गरेको छ। यसै गरी संघीय सरकारले एक करोड रकम विनियोजन गरेको छ। यो खेलमैदानका लागि यो वर्ष बजेट विनियोजन नगरेको प्रदेश सरकारले गत आर्थिक वर्षमा भने ७५ लाख रकम विनियोजन गरेको थियो। उक्त बजेटमध्ये २५ लाख रुपैयाँ फ्रिज भएको थियो।  

देउखुरीका स्थानीय खेलाडीका लागि मात्रै हैन, बाह्य जिल्ला हुँदै भारतबाट समेत यो खेलमैदानमा खेलाडीहरूले अभ्यास गरिरहेका छन्। सचिव रिजालका अनुसार भारतका केही खेलाडी लमहीमै बसेर यही खेलमैदानमा अभ्यास गरिरहेका छन्। ‘यो खेल मैदान तयार भएपछि लमही क्षेत्रका खेलाडीका लागि मात्रै हैन, बाहिरी जिल्ला तथा भारतीय खेलाडीहरुका लागि अभ्यास गर्ने उचित थलो बनेको छ,’ उनले भने ‘भारतीय केही खेलाडीहरू पनि लमहीमै बसेर यही खेलमैदानमा नियमित अभ्यास गरिरहनुभएको छ।’

प्रकाशित: ३० श्रावण २०७६ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App