काठमाडौं – नेपालका तीन शारीरिक सुगठनका खेलाडीले एसिया प्यासिफिक शारीरिक सुगठन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाली शारीरिक सुगठनका खेलाडी समीर श्रेष्ठ, मल्लिका शाक्य र राजु राईले थाइल्यान्डमा हुने एसिया प्यासिफिक शारीरिक सुगठन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेका हुन्।
तीनै खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक जाने भएका छन्। अगस्ट १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा पुरुष ६५ केजीमा समीर श्रेष्ठ तथा पुरुष फिट्नेस फिजिकमा राजु राईले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। महिला मोडेल फिजिकमा मल्लिका शाक्यले प्रतिस्पर्धा गर्नेछिन्। तीनै खेलाडी साउनको पहिलो साता काठमाडौंमा भएको १२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेता हुन्।
समीर र मल्लिकाले स्वर्ण पदक जित्दा राजुले रजत पदक आफ्नो बनाएका थिए। टोली प्रमुखमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारी रहेका छन्। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बुधबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए।
प्रकाशित: ३० श्रावण २०७६ ०२:२० बिहीबार