८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

हङकङ विमानस्थल सुचारु

हङकङ – प्रदर्शनकारीको प्रदर्शनका कारण दुई दिनसम्म अवरुद्ध हङकङ विमानस्थल बुधबारबाट सुचारु भएको छ। प्रशासनले अवरुद्ध विमानस्थल सुचारु गराउने प्रयास गर्दा मंगलबार राति विमानस्थलभित्रै प्रदर्शन गरिरहेको प्रदर्शनकारी र दंगा प्रहरीबीच झडपसमेत भएको थियो।

विमानस्थलको टर्मिनल भवनभरी नै सरकार विरोधी प्रदर्शनकारी जम्मा भएका कारण मंगलबार पनि हङकङ विमानस्थलबाट हुने सयौं उडान अवरुद्ध भएको थियो। त्यसअघि सोमबार पनि हङकङ विमानस्थल पूर्ण रूपमा बन्द गरिएको थियो। बुधबार बिहानैदेखि भने विमानस्थलबाट हुने उडान सुचारु भएको थियो। यद्यपि केही उडान भने स्थगित वा ढिला भएको थियो।

केही दिन अवरुद्ध भएपछि विमानस्थल प्रशासनले केही निश्चित क्षेत्रमा प्रदर्शन गर्न प्रतिबन्धसमेत लगाएको छ। ‘विमानस्थल प्रशासनले तोकेको क्षेत्रभन्दा बाहिर प्रदर्शन गर्न वा प्रदर्शनमा भेला हुन प्रतिबन्ध गरिएको छ,’ विमानस्थलले  जारी गरेको विज्ञप्तिमा भनिएको छ। टर्मिनल प्रवेश गर्ने बाटोतिर थप सुरक्षा संयन्त्र परिचालन गरिएको छ, जसअनुसार ती क्षेत्रमा विमानस्थलका कर्मचारी र वैध बोर्डिङ पास भएकालाई प्रवेश दिइने विज्ञप्तिमा उल्लेख गरिएको छ।

हङकङ विगत १० सातादेखि निरन्तर प्रदर्शन जारी रहेको छ। सरकारले मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो। विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयकलक्षित हुनसक्ने भन्दै प्रदर्शन सुरु भएको थियो।

कैयौं साताको विरोध प्रदर्शनपछि हङकङ सरकारले तत्कालका लागि सो विधेयक स्थगित गरिएको घोषणा गरेको थियो। यद्यपि प्रदर्शनकारीले भने विधेयक स्थगन नभई पूर्ण रूपमा खारेज हुनुपर्ने भन्दै प्रदर्शनलाई जारी राखेका छन्। प्रदर्शन जारी रहेपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले माफीसमेत मागेकी थिइन्। तर पछिल्लो समयको प्रदर्शन हङकङमा बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित हुन थालेको छ। यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री लामको राजीनामाको मागसमेत गर्दै आएका छन्।

एसियाली हब हङकङमा भइरहेको पछिल्लो प्रदर्शन स्वतन्त्रता र स्वायत्तताको मागतर्फ अघि बढिरहेको छ। कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।

प्रकाशित: ३० श्रावण २०७६ ०१:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App