७ वैशाख २०८१ शुक्रबार
समाज

खप्तड क्षेत्र पर्यटन विकास समिति निष्क्रिय

सिलगढीमा रहेको खप्तड क्षेत्र पर्यटन विकास समितिको सचिवालय भवन। तस्बिरः अरूण/नागरिक

डोटी - संधै भ्रष्टाचार र विवादमा आईरहने खप्तड क्षेत्र पर्यटन विकास समिति पछिल्लो दुई वर्षयता निष्क्रिय अवस्थामा छ। कुनै बेला करोडौका कार्यक्रम सञ्चालन गर्ने यो समितिको कार्यालयबाट अचेल ढोका खुल्ने र बन्द हुने बाहेकका काम हुदैनन्।

दुई वर्षदेखी सो समितिको कार्यालयबाट कुनै काम भएका छैनन्। कार्यालयका कर्मचारीहरुका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा धन्न कर्मचारीले तलब खान पाए। ‘गत आर्थिक वर्षयता १३ महिनाको तलब नै पाएका छैनौ,’ समितिका शाखा अधिकृत प्रेम कुँवरले भने,‘असारयता हाम्रो करार अवधि नविकरण भएको छ, न हटाईएको छ।’

उनका अनुसार कार्यालयमा पाँचजना कर्मचारी करारमा नियूक्त छन्। जसमा शाखा अधिकृत कुँवर आफै, सव–इन्जिनियर दिपेश महतरा र कार्यालय सहयोगीहरु धनवहादुर सिंह, शशी सिंह र लोक रावल कार्यरत छन्।

नेपाल सरकारबाट राजनीतिक नियूक्ती हुने कार्यसमितिको समयाबधी सकिएको पनि एकवर्ष पुग्यो। गत असोजमा समितिको समयाबधी सकिएको छ। कार्यकारी निर्देशकमा नियुक्त भएर आएका यम कुँवर भ्रष्टाचार तथा अनियमितताको आरोप लागेपछि नियूक्ती बदर भएको तीन वर्ष भईसक्यो। यति हुँदाहुँदै पनि न नयाँ समिति नियूक्त भएको छ, न कार्यकारी निर्देशक नै पठाईएको छ।

पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय तथा गठन सम्बन्धि जिम्मेवारीको अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गरेको छ। यता प्रदेश सरकारले हालसम्म पनि नयाँ समिति गठन गर्ने सुरसार गरेको छैन्।

यद्यपी प्रदेश सरकारको गत चैत्र १३ गतेको मन्त्रिपरिषदको निर्णयबाट ‘खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन आदेश–२०७५’ स्वीकृत भईसकेको छ। जसमा समितिको गठन र कार्यकारी निर्देशकको नियूक्ती प्रदेश सरकारले गर्ने व्यवस्था छ।

प्रदेश सरकारबाट गठन आदेश बनाउने काम भएको र यथासक्य चाँडो समिति गठन हुने तयारी भईरहेको सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्रालयका शाखा अधिकृत भोजराज पाठकले जनाए।

यता दुई वर्ष लामो समयसम्म खप्तड पर्यटन क्षेत्र विकास समिति निकम्मा भएर बस्नु दुखद भएको होटल तथा पर्यटन व्यवसायी समिति सुदूरपश्चिम प्रदेशका अध्यक्ष दीपकबहादुर खड्का बताउँछन्। ‘हुन त भएपनि समिति भ्रष्टचारको अखडा नै भएको हो,’ उनले भने,‘तरपनि सरकारले सुधारेर व्यवस्थित ढंगबाट सञ्चालन गर्नुपर्थ्यो। यत्रो समय निकम्मा भएर बस्दा खप्तडको विकास ओझेलमा परेको छ।’

अधिकार प्रत्यायोजन भएर आएको एकवर्ष बित्दा पनि प्रदेश सरकारले समेत यसतर्फ ध्यान नदिनु आश्चर्यजनक रहेको डोटी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नरेन्द्र खड्का बताउँछन्। ‘खप्तडको नाम लिएर नथाक्ने र बिगतमा पनि त्यहीँ समितिको नेतृत्व लिएका व्यक्ती मुख्यमन्त्री छन्। उनैलाई अधिकार आएको छ,’ उनी भन्छन्,‘तर, काम यस्तो। एक–एकवर्ष बित्दापनि एक समिति गठन गर्नसकेका छैनन्।’

 

 

 

 

प्रकाशित: २९ श्रावण २०७६ ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App