७ वैशाख २०८१ शुक्रबार
समाज

‘अब महानगरका सबै सामुदायिक विद्यालयमा एकैखाले रंगरोगन’

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकैखाले रंगरोगन गर्ने योजना अघि सारेको बताएका छन्। 

काठमाडौं महानगरपालिकाभित्र पदस्थापन भएका माध्यामिक विद्यालय स्थायी शिक्षकको सपथग्रहण कार्यक्रममा सम्बोधन गर्दै मेयर शाक्यले महानगरभित्रका विद्यालयको शैक्षिक गुणस्तर मात्र नभई भौतिक संरचनामा पनि सकेसम्म एकरुपता ल्याउने प्रयास गरिरहेको बताए। ‘त्यसका लागि महानगर क्षेत्रभित्र रहेका ९१ वटै सामुदायिक विद्यालय भवनमा एकै खालको रंगरोगन गर्ने तयारी थालेका छौं’, उनले भने। 

मेयर शाक्यले त्यसको सम्पूर्ण खर्च महानगरपालिकाले नै गर्ने पनि जानकारी दिए। ‘हामीले सामुदायिक विद्यालयको रंगरोगन गर्ने, खेल मैदान निर्माण गर्ने, हरेक विद्यालयमा वृक्षारोपन गर्ने, शौचालय र खानेपानीको व्यवस्था गर्ने लगायतका शीर्षकका लागि १० करोड रकम छुट्याएका छौं’, उनले भने, ‘निजी विद्यालयलाई गाली गर्ने होइन सामुदायिक विद्यालयको गुणस्तर सुधार गरेर विद्यार्थीलाई सामुदायिकतिर आकर्षित गर्नुपर्छ। त्यसो भयो भने निजी विद्यालयमा पढ्न जानेको सङ्ख्या स्वतः घटेर जान्छ।’ 

मेयर शाक्यले अहिलेको पुस्ता सूचना, प्रविधि, योजना र नयाँ–नयाँ ज्ञानमा निपुण भएको भन्दै पुरानाको अनुवभसँग सहकार्य गरेर अघि बढ्ने हो भने सामुदायिक विद्यालयको गुणस्तर स्वतः वृद्धि भएर जाने दाबी पनि गरे। ‘तपाईँहरुप्रति हामीलाई ठूला विश्वास छ’, पदस्थापन भएका ३० जना शिक्षकलाई सपथ खुवाएपछि मेयर शाक्यले भने, ‘सामुदायिक विद्यालयमा राज्यको लगानी ठूलो छ। तर, परिणाम राम्रो आउन सकेको छैन। तपाईँहरुको व्यवस्थापकीय क्षमता पनि प्रदर्शन गर्नुहोला। आगामी वर्ष एसइइको परिणाममा केही हदसम्म सुधार आयो भने तपाईँहरुको मूल्याङ्कन त्यहीँ हुन्छ।’ 

अहिले पनि निजी विद्यालयलाई गाली गर्ने अनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्नेतर्फ ध्यान नगएकाले समस्या भएको भन्दै उनले त्यसतर्फ पनि ध्यान दिन आग्रह गरे। 

उनले एउटा शिक्षकले राम्रो गर्यो भने राष्ट्रको भविष्य पनि उज्जल बन्ने भन्दै कमजोरी हुँदा राष्ट्रको भविष्य पनि अध्यारो हुने बताए। ‘शिक्षण पेशा भनेका सिङ्गो समाजलाई प्रभावपार्ने क्षेत्र हो,’ उनले भने। 

कार्यक्रममा सम्वोधन गर्दै काठमाडौं महानगरपालिकाका निमित्त शिक्षा अधिकारी तारापति खरेलले सपथग्रहण गराउँदै शिक्षको गुणस्तर सुधारमा ध्यान दिन आग्रह गरे। 

त्यसैगरी कार्यक्रममा शिक्षा विभागका अधिकृत मोती भट्टराईले पदस्थापन भएका शिक्षकलाई महानगरपालिकाभित्रको समग्र शैक्षिक गुणस्तरलाई उकास्न र उच्चतम नतिजा प्राप्त गर्ने कुरामा भूमिका खेल्न आग्रह गरे।

‘सरकारी विद्यालयमा अहिले पनि शिक्षकहरु नियमित नजाने, पढाउन अल्छी गर्ने, शैक्षिक सामग्रीनलिई जाने परम्परा छ’, उनले भने, ‘त्यो कुरामा ख्याल गर्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारमा ध्यान दिनुहोला।’ 

प्रकाशित: २९ श्रावण २०७६ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App