७ वैशाख २०८१ शुक्रबार
राजनीति

खडेरी तथा वर्षा पीडितलाई राहत माग

खोटाङ– खोटाङका तीन प्रदेशसभा सांसदले खडेरी तथा वर्षा पीडित सर्वसाधारणलाई तत्काल राहत पुर्याउन माग गरेका छन्। प्रदेशसभा सांसद उषाकला राई, राजन राई र रामकुमार राईले प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई भेट गरी खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका खडेरी तथा वर्षा पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका हुन्। छरेका मकै लामो खडेरीका कारण मरेको तथा त्यसलगत्तै परेको वर्षाका कारण सडक, खानेपानी लगायतका भौतिक संरचना ठप्प हुँदा संकटको अवस्था सिर्जना भएको भन्दै प्रदेशसभा सांसदले उचित राहतको प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको बताएका छन्।

मन्त्री कार्कीलाई सुक्खा तथा खडेरी प्रभावित क्षेत्रमा प्रदेश सरकारकातर्फबाट तत्काल राहत पुर्याउनु पर्ने, पहिरोले घर किच्दा श्रीमती र दुई छोरा गुमाएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका बिष्णुकुमार राईलाई सरकारको निर्णय अनुशार जनही २ लाखका दरले राहत उपलव्ध गराउन, वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा भत्के÷विग्रेका सडक मर्मतका लागि रकम उपव्ध गराउन, अधिक वर्षाका कारण अवरुद्ध बनेको विद्युतको पोल, खानेपानी, सिँचाई, सडक सञ्चालनमा ल्याउन तथा सुक्खाग्रस्त क्षेत्रमा खाद्यान्न वितरण गर्न ध्यानाकर्षण गराइएको प्रदेश सांसद उषाकला राईले बताइन्। ‘यस विषयमा संसदमा पनि पटक–पटक कुरा उठाएका थियौँ। तीन सांसदले संयुक्त रुपमा भेटेरै पनि कुरा राखेका छौँ’, प्रदेशसभा सांसद राईले भनिन्, ‘सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रीले पनि एक्सनमा जाने आश्वस्त पार्नु भएको छ।’

असार अन्तिम सातादेखि साउन पहिलो सातासम्म परेको अविरल वर्षापछि गएको पहिरोले सडक भत्किँदा हलेसी तुवाचुङ नगरपालिकाको अधिकांश वडामा यातायात सेवा हालसम्म ठप्प छ। उपभोग्य सामान ढुवानी गर्ने सडक नहुँदा बाहुनीडाँडा र डिकुवाका कतिपय ठाउँमा खाद्यान्न संकट सुरु भएको मेयर इवन राईले बताए। यस्तै, विभिन्न ठाउँमा खानेपानीको मुहान बगाएकाले पानीको हाहाकारको अवस्था सिर्जना भएको छ। मुहान बग्दा तटीय क्षेत्रका स्थानीय नदीको धमिलो पानी पिउन बाध्य बनेका छन्।

प्रभावित क्षेत्रमा पठाइए प्रदेश सरकारको प्रतिनिधि

खडेरी तथा वर्षा प्रभावित क्षेत्रको निरीक्षणका लागि १ नम्बर प्रदेश सरकारको प्रतिनिधि खोटाङको हलेसी तुवाचुङ नगरपालिका आइपुगेको छ। भौतिक पुर्वाधार विकास मन्त्रालय १ नम्बर प्रदेशका अधिकृत अनोमलमणी भट्टराई, इन्जिनियर ओमप्रकाश शाह, प्राविधिक शोभा थापा लगायतको टोली हलेसी तुवाचुङ नगरपालिका आइपुगेको हो। क्षतिको निरीक्षणका लागि प्रदेशबाट आएको टोली मंगलबार नै खडेरी तथा वर्षा प्रभावित क्षेत्र हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवातर्फ गएको मेयर राईले बताए।

बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईलाई संयोजक बनाएर निरिक्षण एबं आवश्यक सहयोगका लागि प्रदेशबाट आएका टोलीलाई प्रभावित क्षेत्रमा पठाइएको नगरपालिकाले जनाएको छ। डिकुवा र बाहुनीडाँडाको खडेरी तथा वाढी प्रभावित क्षेत्रमा दुई दिनसम्म बसेर निरिक्षण गरिने ईन्जिनियर शाहले बताए। आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीको नेतृत्वमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सचेतक केदार कार्की, मुख्यसचिव सुरेश अधिकारी लगायतको टोली प्रभावित क्षेत्रमा आउने भनिए पनि अन्तिममा कर्मचारीको टोली मात्र आएको हो।

बाहुनीडाँडाबाट निरीक्षण सुरु गरेको टोली डिकुवा पुगेर फर्कने जनाइएको छ। प्रदेश सांसद, नगरपालिका, नेकपा तथा कांग्रेस नेताको टोलीले खडेरी तथा वर्षा पीडित सर्वसाधारणलाई राहत उपलब्ध गराउन प्रदेश सरकार र संघीय सरकारलाई पटक–पटक आग्रह गर्दैआएका छन्। उनीहरुले खडेरी र वर्षाको मारमा परेका सर्वसाधारणको सहजताका लागि आवश्यक खाद्यान्न व्यवस्था गर्न, वर्षाका कारण भत्किएका सडक मर्मत गरेर सञ्चालनमा ल्याउन तथा बिग्रे÷भत्केका खानेपानी आयोजना सुचारु गराउन माग गर्दै प्रदेशदेखि सिंहदरबार धाइसकेका छन्।

मकै पाक्ने यो बेलामा सो नगरपालिकाका किसानको बारीमा पुःन छरेको मकै बल्ल हुकैँदैछ। अर्कातर्फ बजारसँग जोड्ने सडक बिग्रे÷भत्केकाले खाद्यान्न लगायतका उपभोग्य सामान ढुवानी गर्न समस्या भएको मेयर राईले बताए। हरियो मकै खाएर छाक टार्नु पर्ने बेलामा शहर बजारबाट खाद्यान्न ढुवानी गर्ने बाटो ठप्प हुँदा खाद्यान्न संकट सिर्जना भएको नगरपालिकाले जनाएको छ। ‘यो बेला किसानले हरियो मकै खाएर जीवन निर्वाह गरिरहेका हुन्थे। तर, खडेरीले मकैको बिरुवा नै मरे। वर्षापछि छरेको मकै भर्खरै उम्रदैछ,’ मेयर राईले भने, ‘गाउँमा ऐंचोपैंचो गर्ने अन्न छैन। बजारबाट खाद्यान्न ल्याउने सडक पनि ठप्प भएकाले तत्काल सडक सुचारु गराउनुपर्ने अवस्था छ।’ 

प्रकाशित: २९ श्रावण २०७६ ०८:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App