७ वैशाख २०८१ शुक्रबार
अन्य

औषधालयमा अनियमितता

जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित जनकपुर अञ्चल आयुर्वेद औषधालयको कार्यालय। तस्बिरः कमलेश/नागरिक

धनुषा– जनकपुर अञ्चल आयुर्वेद औषधालयमा अनियमितता भएको पाइएको छ। औषधालयमा आर्थिक वर्ष २०७५/०७६ मा औषधिसहित कार्यालय प्रयोजनको लागि खरिद गरेको सामानमा समेत चलखेल भएको हो।

सामाजिक विकास मन्त्रालयले औषधालयलाई सुविधासम्पन्न बनाउन सशर्त अनुदानअन्तर्गत प्रदान गरेको ५० लाख, ५ लाख ९२ हजार र तीन लाख ६१ हजार गरी ५९ लाख ५३ हजार रकममध्ये कार्यालय व्यवस्थापन, फर्निचर, मेसिनरी उपकरणलगायत शीर्षकमा सामान खरिद नगरी बजेट सिध्याएको छ। अस्पतालको फर्निचर खरिदका लागि मन्त्रालयले ५ लाख, मेसिनरी उपकरणमा ५ लाख, प्रयोगशाला व्यवस्थापनका लागि ४ लाख ५० हजार, स्वास्थ्य जीवनशैलीका लागि ३ लाख, बिरामी सुताउने बेडका लागि २ लाख, क्षारसूत्र व्यवस्थापनका लागि ३५ लाख र युएसजी मेसिनका लािग १९ लाख रकम निकासा गरेको थियो। तर निकासा गरिएको कतिपय बजेट कार्यालयले कामै नगरी भ्रष्टाचार गरेको तथ्य फेला परेको हो।

कामै नगरी बजेट झ्वाम

गत वर्षसम्म औषधालय जनकपुरधाम उपमहानगरपालिकाको अधीनमा रहँदा आएको बजेट कामै नगरी सकिएको थियो। उपमहानगरपालिका र औषधालय कार्यालय प्रमुख कार्यालय सञ्चालन एवं व्यवस्थापनका लागि २ लाख ५६ हजार रुपैयाँ केही काम नगरी भ्रष्टाचार गरेको त्यहाँका एक कर्मचारीले बताए।

उपमहानगरपालिकाले फर्निचर खरिदका लागि दुई पटक ९९ हजार ४ सय ४० र ४० हजार बजेट दिएको थियो तर, कार्यालयमा उक्त रकमको कुनै पनि फर्निचर कार्यालयमा नआएको कर्मचारी बताउँछन्। फर्निचर खरिदको नाममा जनकपुरधाम–८ मा रहेको जय माँ लक्ष्मी फर्निचर उद्योगलाई दिए पनि हालसम्म उक्त रकमको फर्निचर कार्यालयमा आएको छैन।
फर्निचर खरिद शीर्षकमा प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयले समेत पाँच लाख रकम उपलब्ध गराएको थियो। मन्त्रालयले उपलब्ध गराएको ५ लाख रकमबाट मात्र दुई वटा सोफा खरिद गरिएको छ। यस्तै, प्राकृतिक जडीबुटी औषधि उपभोगलाई बिलको भुक्तानी स्वरुप ४९ हजार ९ सय २० रुपैयाँ भुक्तानी दिइएको छ तर, कार्यालयले खर्च गरेको बजेटअनुसारले कार्यालयमा सामानहरू छैन।

पटक–पटक एउटै पसलबाट औषधि खरिद
औषधालयका प्रमुख डा.सीमा झाका श्रीमान् सरोज राय यादवले सञ्चालन गरेको औषधि पसलबाट नै अस्पतालले विभिन्न मितिमा औषधिहरू खरिद गरेको छ। अस्पतालले औषधि खरिदका लागि निकालेको कोटेशनमा उनले आफ्ना श्रीमान्लाई नै औषधि खरिदका लागि कोटेशन दिइएको पाइन्छ। जनकपुरधाम–४ स्थित राहत आयुर्वेद फर्माबाट कोटेशनमा औषधि खरिद गरेको कार्यालयको तथ्यांकले देखाए पनि उक्त पसल कतै पनि छैन। तर विभिन्न मितिमा त्यही फर्माबाट कोटेशनमा औषधि खरिद गरेको कार्यालयले उपलब्ध गराएको कागजातमा उल्लेख छ।

असार २४ गते राहत आयुर्वेद फर्माको नाममा १ लाख २४ हजार ८ सय, सोही मितिमा १ लाख ६९ हजार ९ सय २० रुपैयाँको औषधि खरिदको बिलको भुक्तानी दिइएको छ। त्यसैगरी सोही महिनाको २५ गते ९० हजार ४५ रुपैयाँको औषधिको बिलको भुक्तानी दिइएको छ। कार्यालयका कर्मचारीका अनुसार अस्पतालमा विभिन्न सामान खरिदमा अनियमितता भएको छ। ‘पटक–पटक राहत आयुर्वेद फर्माको नाममा कोटेशन निकाली औषधि खरिद गरेको छ,’ एक कर्मचारीले भने, ‘राहत आयुर्वेद फर्मा कार्यालय प्रमुखको छ। तर सो पसल बजारमा कतै पनि छैन।’

काम एउटाले, भुक्तानी अर्कैलाई

उपमहानगरमा विभागबाट सशर्त अनुदानमा दिएको रकममा समेत कार्यालय प्रमुखले राजनीति गरेको कर्मचारीको आरोप छ। विभागले उपलब्ध गराएको सशर्त अनुदानअन्तर्गत गाउँघर क्लिनिकको एक लाख ५० हजार रुपैयाँ भत्तावापत कार्यालय प्रमुखको मिलोमतोमा हिनामिना भएको कर्मचारीहरूको दावी छ। गाउँघर क्लिनिकका लागि गाउँगाउँमा गएर सञ्चालन गरेको वास्तविक कर्मचारीले नपाएर अर्कै कर्मचारीले पाएको उनीहरूको भनाइ छ।

औषधालयका कर्मचारीहरूले गाउँघर क्लिनिकको पैसा अहिलेसम्म नपाए पनि पालिकाबाट पैसा निकासा भइसकेको छ। जनकपुरधाम उपमहानगरपालिकाले निकासा गरे पनि उक्त काम गरेको कर्मचारीहरूलाई भने अहिलेसम्म भत्ता दिइएको छैन।

सूचना दिन आलटाल
कार्यालय प्रमुखले सञ्चारकर्मीलाई समाचार प्रयोजनका लागि सूचना दिन आलटाल गरेको छ। कार्यालय प्रमुख सीमा झाले आफ्नो कार्यालयमा कुनै प्रकारको अनियमितता नभएको दावी गरे पनि सूचना दिन मानेका छैनन्। ‘कार्यालयका आर्थिक कारोबारसम्बन्धी कुनै फायल छैनन्,’ उनले भनिन्, ‘सबै फाइल अडिटिङका लागि प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयमा गएको छ।’ कार्यालय प्रमुख झाले कुनै बेला लेखा अधिकृत नभएको भन्दै विभिन्न बहाना देखाएको हो।

यता, प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख विनोद गेलालले हालसम्म औषधालयको कुनै पनि कागजात यहाँ नआएको बताए। कर्मचारीहरूका अनुसार समायोजन भएर आएपछि आफूहरूलाई तीन महिनापछि तलब दिए पनि जनकपुरधाम उपमहानगरपालिकाले सञ्चयकोष आठ महिनादेखि नपाएको गुनासो गरे।

प्रकाशित: २९ श्रावण २०७६ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App