coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सेनामा शुद्धीकरण

प्रधान सेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकाल थालेयता नेपाली सेनाभित्र देखिएका विकृति हटाउन गरेका शुद्धीकरणका प्रयासहरू सार्वजनिक भइरहेका छन्।  सेनाभित्र नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएका, बढुवा भएका र सेवा अवधि लम्ब्याएकाहरूबारे छानबिनलाई तीव्रता दिएको सैनिक मुख्यालयले जानकारी गराएको छ।  यसलाई अत्यन्तै उपयुक्त कदमका रूपमा लिन सकिन्छ।  त्यति मात्र होइन, यस किसिमको अभ्यास राज्यका अन्य अंगमा समेत सुरु गरिनुपर्छ।  यसो भएको खण्डमा पहुँचवाला व्यक्तिहरू बिनामिहिनेत राज्यको उच्च स्थानमा पुग्ने र क्षमता भएकाले भने अवसर नपाउने अवस्था अन्त्य हुन्छ।  नक्कली प्रमाणपत्रको आडमा यस्ता संवेदनशील संस्थामा समेत प्रवेश पाएको भेटिनु आफैँमा विडम्बनापूर्ण विषय हो।  र, यो स्थिति सेनामा मात्र छैन, सबैजसो सुरक्षा निकायमा छ भन्ने सहजै अनुमान गर्न सकिन्छ।  जसरी सेनाभित्र नक्कली प्रमाणपत्र पेस गरी बढुवा हुने तथा सेवा अवधि बढाउने काम भएको पाइएको छ, त्यही अवस्था अन्यत्र नहोला भन्न सकिन्न।  यसकारण पनि सबैजसो नेतृत्वकर्ताले आफ्ना संस्थाको आन्तरिक अवस्था छानबिन गरी सुधार प्रयास थाल्नुपर्ने देखिन्छ।  यसले प्रतिस्पर्धात्मक वातावरण तयार भई संस्थामा दक्ष, योग्य व्यक्तिको भर्ना, पदोन्नति तथा सेवा अवधिका निम्ति उपयुक्त निर्णय गर्न सहज हुन्छ।  अन्यथा, गलत तरिकाले प्रवेश गरेका व्यक्तिहरूले संस्थालाई प्रभावकारी हुन नसक्ने अवस्थामा पु-याउँछन्। 

सैनिक मुख्यालयले ३६ जनाले नक्कली प्रमाणपत्र प्रस्तुत गरेको र कागजातमा थपघट गरेका आधारमा कारबाही गर्ने जनाएको छ।  झन्डै एक लाखको संख्यामा रहेका सेनाभित्र एकै जना पनि गलत व्यक्ति पर्नु पनि राम्रो कुरा होइन।  ३६ जना व्यक्ति यस्तो भेटिनु भनेको ठूलो संख्या हो।  यसबाट विगतमा यो संस्थामा नक्कली प्रमाणपत्र प्रस्तुत गर्दासमेत छानबिन नगर्ने परिपाटी रहेछ भन्ने बुझिन्छ।  नत्र, संस्थाभित्र कुनै व्यक्ति सेवामा प्रवेश गरेपछि उसले पेस गरेका कागजातको यथोचित् छानबिन गरी गलत पात्र प्रवेशमा रोक लाग्ने अवस्था सिर्जना गर्नुपर्ने हो।  कुनै पनि संस्थामा विकृति हुन सक्छन्, तर त्यसको सफाइ गर्ने काम त्यही भित्रबाट गर्न सकिन्छ।  जसले यस्तो कामको नेतृत्व गर्न सक्छ, उसलाई सुधारको श्रेय पनि जान्छ।  निःसन्देह विगतमा पनि सेनाभित्र यस्ता नक्कली प्रमाणपत्रबारे नेतृत्वकर्तालाई जानकारी हुँदो हो।  यति धेरै विकृति छ भने निराकरणका लागि पहल गर्न नसकिने होइन, तर त्यसका निम्ति आँट पनि चाहिन्छ।  प्रायः सुरक्षा निकाय प्रमुखहरूलाई आफ्ना संस्थाभित्र हुने ठेक्कापट्टा, आर्थिक कारोबार, विकास–निर्माण आदिले बिगार्ने अवस्था आउँछ।  ठूलो रकम कारोबार हुने भएकाले कमिसनको पनि ठूलै अवसर आउँछन्।  नेतृत्वकर्ता यस्ता लोभमा फसेपछि तलका कर्मचारीले पनि आफूलाई चास्नीमा डुबाउने खतरा हुन्छ।  त्यसकारण पनि नेतृत्व तहले आफूलाई सुधारका लागि तत्पर राख्न खोज्दा त्यसको सकारात्मक प्रभाव दीर्घकालसम्म पर्छ।  नेतृत्वकर्ता आफैँ अरूका निम्ति ‘रोलमोडल’ बनेर देखाउन पनि सक्नुपर्छ।  भाषणमा आदर्श छाँटेर नथाक्ने, तर भित्रभित्रै कमिसनका लागि मरिमेट्ने नेतृत्व वर्गबाट अपेक्षित उपलब्धि हासिल हुन सक्दैन। 

सेना प्रमुख थापाले आफू नेतृत्वमा आएदेखि विदेशबाट फर्किंदा विमानस्थलमा आफ्ना लगेज जाँच गर्न लगाएर, कमिसनमा ध्यान दिनुभन्दा पनि बढी सामान खरिद गरेर, संगठनभित्र सबैलाई जिम्मेवारी दिने र प्रभावकारी अनुगमन गर्ने पद्धति बसाएर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्।  यसले संगठनभित्र समेत उनलाई हेर्ने दृष्टिकोण फेरिएको छ।  र, सकारात्मक काम हुन थाले भने ती बिस्तारै बाहिर पनि उजागर हुँदै जान्छन्।  थापाले संगठनभित्र छानबिन गरी, नक्कली प्रमाणपत्र पेस गर्ने सहायक रथी दर्जासम्मका पदाधिकारीविरुद्ध अनुशासनको कारबाही थाल्दा स्वाभाविक रूपमा प्रशंसा प्राप्त हुनेछ।  र, यस किसिमको छानबिनलाई उनले आफ्नो जिम्मेवारीको एउटा मुख्य हिस्साकै रूपमा अघि बढाउन आवश्यक छ।  सेनाले आफैँ आफ्नो कामलाई प्रभावकारी बनाउन थाल्यो भने बाहिरबाट यसको शुद्धीकरण हुनुपर्छ भन्ने आवाज पनि कम उठ्नेछ।  विगतमा यसको लोकतान्त्रीकीकरणका निम्ति समेत आवाज नउठेको होइन।  सैनिक संस्थाभित्र हुने अनियमितताको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्न नपाउने प्रावधान छ।  यसरी भ्रष्टाचारविरुद्धको संवैधानिक अंगले छानबिन गर्न पाउँदैन भन्नुको अर्थ आफ्नो संस्थालाई सेना आफैँले व्यवस्थित बनाउनुपर्छ भन्ने पनि हो।  त्यसैले आफैँभित्र बलियो संयन्त्र बनाएर कारबाही गर्ने प्रक्रिया सेनाले सशक्त बनाउनुपर्छ।  नेपाली सेना केही समययता विकास–निर्माणका काममा समेत सरिक भइरहेको छ।  कति समय यस्ता काममा दिने र कति समय आफ्नो व्यावसायिक क्षमता अभिव्यक्तिमा उपयोग गर्ने भन्नेमा नेतृत्वकर्ता सजग हुनैपर्छ।  सेना आफैँ लाभका व्यवसायमा लागेको सन्देश जान दिनुहुँदैन।  त्यसबाट आफूलाई जोगाउँदै सेनाले आफ्नो गौरवशाली परम्परा कायम राख्न सक्नुपर्छ।  सेना मुलुकको मेरुदण्ड हो, तसर्थ यसको शुद्धीकरणमा नेतृत्वकर्ताको ध्यान जानुपर्छ। 

प्रकाशित: २९ श्रावण २०७६ ०३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App