कर्णाली नदी नियन्त्रण आयोजना

कमजोर तटबन्ध भत्कियो, दुई अर्ब खेर

बुधबार, २९ साउन २०७६, ०९ : ०२ निर्मल घिमिरे

बर्दिया – सामान्यतः लन्चिङ, स्पट, स्पर र ड्यामसहित बनेका तटबन्धको आयु २५ वर्ष हो। प्राविधिकका अनुसार नदीमा बाढी नआएको सामान्य अवस्थामा लन्चिङ, स्पट, स्पर र ड्यामसहितको तटबन्ध ५० वर्षसम्म टिक्छ। तर सरकारको प्राथमिकतामा परेको कर्णाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको लन्चिङ, स्पट, स्पर र ड्यामसहितको तटबन्ध दुई वर्ष नबित्दै भत्किन थालेको छ।

एक साताभित्रमा मुर्गहवामा निर्माण भएको तटबन्धको लन्चिङ नदीको बहावले बगाएको हो। लन्चिङ बगाएपछि नदीले कटान तीव्र पार्दा स्पट, स्पर र ड्याम पनि बगाउने खतरा बढेको छ। बनाएको केही दिनमै तटबन्धको लन्चिङ बगाएको घटनाले सरकारको प्राथमिकतामा परेको आयोजनाअन्तर्गत निर्माण भएको तटबन्धमा अर्बौंको सरकारी लागानी खेर जाने देखिएको छ।

कर्णाली आयोजनाअन्तर्गत निर्माण भएका तटबन्ध भत्किँदा कर्णाली नदीको धार बस्तीतर्फ पस्ने जोखिम बढेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। ‘मलगायत प्रदेश सांसद, स्थानीय जनप्रतिनिधिसहित टोलीले तटबन्ध निर्माणस्थल अनुगमन ग-र्यो,’ उनले भने, ‘भर्खरै बनेको तटबन्ध नदीले बगाउन सुरु गरिसकेको छ। तटबन्ध बग्न थालेपछि राजापुर क्षेत्रको भविष्य चिन्ताग्रस्त बनेको छ।’

उनका अनुसार बाढीको जोखिम ठहर गर्दे दैवी प्रकोप व्यवस्थापन समितिले तत्कालका लागि तटबन्ध संरक्षण र राजापुर क्षेत्रमा बाढी रोकथामका लागि काम गर्ने निर्णय गरेको छ। ‘कर्णाली नदीका दुईवटा भँगाला छन्, राजापुर क्षेत्रको भँगालोमा ८० र पूर्वतर्फ २० प्रतिशत पानी बगेको छ,’ उनले भने।

आयोजनाले आर्थिक वर्ष २०७१/०७२ देखि अहिलेसम्म एक अर्ब ८६ करोड ६९ लाख रुपैयाँ तटबन्ध निर्माण अन्य क्षेत्रमा खर्च गरेको छ। प्राविधिकका अनुसार लन्चिङमा बालुवा थुप्रिएपछि नदीको बहाब अर्को तर्फ मोड्ने गरी तटबन्ध निर्माण गरिएको हुन्छ। तर, लन्चिङ नै बगाएपछि स्पट, स्पर र ड्याम बगाउन सहज हुन्छ।

कर्णाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेका तटबन्ध नदीको सामान्य बहाबमै बगेपछि निर्माण भएका तटबन्ध गुणस्तरहीन भएको पुष्टि भएको छ। निर्माण सम्पन्न भएका तटबन्ध भत्कन थालेपछि राजापुर क्षेत्र बाढीको जोखिममा परेको छ। प्रयोग भएको जाली र ढुंगाको साइज नमिल्दा प्राविधिक हिसाबले तटबन्ध कमसल खालको बनेको मानिन्छ। कर्णाली आयोजनाले मापदण्डविपरीत तटबन्ध निर्माण गरेकाले नदीले बगाएको हुन सक्ने स्थानीयको आरोप छ।

पाँच वर्षमा ४३ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्यका साथ २०७१ साल फागुनमा कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना स्थापना भएको हो। देशकै अन्नभण्डारका रूपमा परिचित राजापुर सुरक्षित गर्ने उद्देश्यले स्थापना भएको सो आयोजनाले अहिलेसम्म १२ किलोमिटर तटबन्ध निर्माण गरिसकेको छ। १५ मिटर लन्चिङ ६ फिट अग्लो स्पट र १४ मिटर लम्बाइ भएको स्पर र ड्यामसहित कर्णाली नदी नियन्त्रण आयोजनाअन्तर्गत तटबन्ध निर्माण भएको हो।

बहुद्देश्यीय आयोजनाले कर्णाली नदीमा देखिने डल्फिनको आकर्षण र -याफटिङ सम्भावनाले पर्यटकीय मार्ग विकास गर्न लक्ष्य राखेको थियो। कर्णाली नदी नियन्त्रणको गुरुयोजनामा ११ अर्ब लागनीमा ४३ किलोमिटर तटबन्ध पाँच वर्षमा सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ। कर्णाली नदी तटीय क्षेत्रमा बनाइँदै गरेको ४३ किलोमिटर लामो पक्की तटबन्ध भविष्यमा यस क्षेत्रको प्रमुख पर्यटकीय मार्गमा विकास हुने स्थानीयको अपेक्षा थियो। आयोजनाले धमाधम तटबन्ध निर्माण गर्न सुरु गरेपछि खुसी भएका स्थानीय यतिखेर भने निराश छन्।

राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा बसोबास गर्ने तीन लाख सर्वसाधारणको सुरक्षा गर्ने उद्देश्यले स्थापना भएको आयोजनाले निर्माण गरेको तटबन्ध भत्किन थालेकोप्रति चिन्ता व्यक्त गर्दै गेरुवा गाउँपालिकी उपप्रमुख मनकला चौधरीले भनिन्, ‘निर्माण सम्पन्न भइसकेको तटबन्ध भत्किँदा राजापुर क्षेत्रको भविष्य चिन्ताजनक बनेको छ। यो क्षेत्रको सुरक्षामा प्रश्नचिन्ह लागेको छ।’

बाढीले क्षति पु-याउने क्षेत्र वनघुस्रामा एक हजार पाँच सय ५०, सनकट्टीमा दुई सय, मुर्गहवामा एक हजार तीन सय, पत्भरबोझीमा पाँच सय र गप्तीपुरमा पाँच सय मिटरमा पक्की तटबन्धन भत्किन थालेको छ। चारैतिर कर्णाली नदीले घेरेको राजापुर क्षेत्र अन्न उत्पादनका कारण प्रसिद्धि कमाएको क्षेत्र हो। राजापुरको खेतीयोग्य जमिनबाट एक सिजनमा आठ लाख क्विन्टल धान उत्पादन हुने गरेको कृषि कार्यालयमा तथ्यांक छ। तटबन्धन निर्माणले सिजनमा उत्पादन बढ्ने दाबी गरेको आयोजनाको कामप्रति भने स्थानीय आक्रोशित छन्। नदीको पानी बाहिर नजाने र डुबानमा परेका जमिनको पानी नदीमा आउने गरी क्यानल (नहर) निर्माण गरेर खेतीयोग्य जमिनको सुरक्षा गर्न आयोजना स्थापना भएको हो।

आयोजना प्राविधिकविहीन
एक साताअघिदेखि कर्णाली नदी नियन्त्रण आयोजना प्राविधिकविहीन बनेको छ। आयोजना प्राविधिकविहीन बन्दा आयोजनको कामकाज ठप्प भएको छ। साउन ४ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीनजना इन्जिनियरलाई १५ लाख घुससहित पक्राउ गरेपछि आयोजना प्राविधिकविहीन बनेको हो।

उपभोक्ताको काममा घुस लिने क्रममा इन्जिनियर विश्वेश्वरप्रसाद शाह, कमलप्रसाद सिटौला र हरिप्रसाद चौधरी तथा चालक टंकप्रसाद ओझालाई १५ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका तीनजना इन्जिनियरविरुद्ध आयोगले अनुसन्धान गरिरहेका छ।

आयोजना प्रमुख रमेशबन्धु अर्याल चारजना सिनियर इन्जिनियर आयोजनामा कार्यरत थिए। घुससहित तीनजना इन्जिनियर पक्राउ गरेपछि आयोजना प्रमुख अर्याल कार्यालय आएका छैनन्। यतिखेर आयोजना प्रमुख अर्याल सरुवा मिलाएर प्रदेशस्थित कार्यालयमा हाजिर भइसकेको बताइन्छ। प्रदेश समायोजनमा परेका सिनियर डिभिजनल इन्जिनियर सुरेन्द्र पौडेल रमाना लिएर हिँडेपछि आयोजना प्राविधिकविहीन बनेको हो। प्रमुख जिल्ला अधिकारी कुरुम्बाङका अनुसार कर्णाली नदी नियन्त्रण आयोजना प्राविधिकविहीन बनेपछि सिँचाइ विभागले प्राविधिक खटाएको थियो तर ती प्राविधिक पनि अहिलेसम्म क्षतिग्रस्त तटबन्ध हेर्न पुगेका छैनन्।







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad