६ वैशाख २०८१ बिहीबार
कला

क्यानभासमा हिमाली संस्कृति

ललितपुर - हुम्ला जिल्ला हिमाली संस्कृतिको लागि जति चर्चित मानिन्छ।  त्यहाँको रहनसहन र जीवनशैली उत्तीकै रोचक रहेको पाइन्छ।  हिमाली संस्कृति  र बौद्धवादमाथि केन्द्रित गरेर ललितपुरस्थित ग्यालरी एमक्युबमा चित्रकार तेन्जिङ डोमा लामाको ‘मिस्टिक हिमालय’ नामक एकल चित्रकला प्रदर्शनीको आयोजना भइरहेको छ। 

गत साउन २४ सुरू भएको चित्रकार लामाको दोस्रो एकल कला प्रदर्शनीमा हुम्लाको धार्मिक र परम्परागत विविधताको परिचय दिएको छ।  हुम्लामा जन्मिएकी चित्रकार लामाले त्यहाँको संस्कृतिमाथि गरेको अनुसन्धानको आधारमा तयार भएका चित्रकलाहरू प्रदर्शनीमा राखिएका छन्।  हुम्लाको परम्परागत संस्कृति झल्काउने चित्रकलाहरूले त्यहाँको जीवनशैलीको बयान गरेको छ।  हिमाली भेग र हुम्ला संस्कृतिका विभिन्न पक्षलाई चित्रकलार लामाले क्यानभासमा समावेश गरेकी छिन्। 

हिमाली भेगमा बसोबास गर्ने मानिसको फरक धारणालाई कलामार्फत प्रस्तुत गर्न खोजेको उनले बताइन्।  ‘हुम्लामा जन्मिएर हुर्किएको हुँदा मेरो कलामा त्यहाँको प्रभाव धेरै छ।  हुम्लाको महत्वपूर्ण संस्कृतिलाई बौद्धवादसँग तुलना गरेर चित्रकलाहरू तयार गरेको छु,’ उनले भनिन्, ‘सबै कलाका भावहरू एक अर्कामा फरक भएपनि हुम्लाको जीवनशैलीमा केन्द्रित रहेर त्यहाँको पृष्ठभूमिको अनुसन्धान गरेको छु। ’

चित्रकार लामाका कलामा सेतो र रातो माटोबाट स–साना चित्रहरु कोरिएका छन्।  हिमाली भेगमा नयाँ वर्षको अवसरमा यो कला तयार गरिन्छ।  नयाँ वर्षको अवसरमा बनाइने पुरानो परम्पराका रुपमा रहेको चित्रकलाले आफ्नो बाल्यकालको स्मरण गरिदिएको उनी बताउँछिन्।  उनले आफ्नो कलाहरूमा हिमाली भेगकी महिलालाई समावेश गरेकी छिन्।  ‘पितृ भगवान’ नामक कलामा उनले मौलिक गर–गहना, टिकापोतेमा सजिएकी महिलालाई कलात्मक रुपमा प्रस्तुत गरेकी छन्।  ‘मैले बनाएको चित्रकलाहरूमा सेतो रंगको प्रयोग भएको छ।  हिमाली भेगमा रहेका आत्माहरूलाई सम्बोधन गर्दै उनीहरू महत्व झल्काउन सेतो रंगको प्रयोग गरिएको हो,’ उनले भनिन्। 

प्रदर्शनीमा समावेश गरिएको चित्रकलाहरूमा हुम्ला र काठमाडौंका विभिन्न पक्ष पाइन्छ।  बौद्ध धर्मको अनुसन्धानात्मक कला मानिने मानिसको अनुहारको चित्रकलाहरूलाई उनले महत्व दिएकी छिन्।  एउटा चित्रमा उनले सेतो र कालो रंगमा मानकैलाश उतारेकी छिन्।  हिमाली भेगका आदिवासीहरु विभिन्न गतिविधिलाई अनुसन्धान गरेर कोरिएको अर्मूत चित्रकलाले उनलाई प्रोत्साहित गरेको बताउँछिन्। 

हिमाली क्षेत्रमा रहेको बौद्ध धर्म र आस्थालाई उनले संस्कृति महत्वको रूपमा क्यानभासमा समावेश गरेकी छिन्।  बौद्ध धर्मको महत्वपूर्ण मानिने थाङ्कालाई भने उनले प्रयोग गरेकी छैनन्।  थाङ्कालाई उनले हिमाली जीवनशैलीसँग तुलना गर्न नचाहेको प्रतिक्रिया दिएकी छिन्। 

‘हिमाली संस्कृति र परम्परा मनाउने विधि फरक हुन्छन्।  हिमाली संस्कृतिमा प्राथमिकता पाएका विभिन्न संस्कृतिलाई कलात्मक शैलीमा क्यानभासमा समावेश गरेको छु,’उनले भनिन्।  प्रदर्शनी आगामी साउन ३१ सम्म चल्नेछ।

प्रकाशित: २९ श्रावण २०७६ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App