coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

देशमा उदारवादको अनुभूति भएन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष प्रकाशचन्द्र लोहनीले देशमा उदारवादको अनुभूति नभएको बताएका छन्।
स्वतन्त्र वुद्धिजिवी मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको नेपालको विकास र समृद्विको लागि समाजवाद अर्थनीति कि लोक कल्याणकारी उदार अर्थव्यवस्था विषयक विचार गोष्ठीमा बोल्दै उनले साना तथा निम्न वर्गलाई माथि उकास्ने सरकारको कुनै लक्ष्य तथा कार्ययोजना नभएको उनले बताए।

उदारवादका नाममा जे गरे पनि हुन्छ भन्ने सरकारको मानसिकताका कारण ठूलाले सानालाई थिचोमिचोमा राख्ने, शोषण गर्ने गरेको बताउँदै प्रगतिशील उदारवादबारे सरकारलाई थाहा नै नभएको उनको भनाइ छ।

पूर्वअर्थमन्त्रीसमेत रहेका लोहनीले देशलाई अहिलेको अर्थव्यवस्थाबाट कुनै फाइदा नभएको टिप्पणी गरे। विद्यमान व्यापार घाटाले देशमा गरिबीको रेखामुनि रहेको संख्यालाई दिनप्रतिदिन बढाउँदै लगेको उनको भनाइ छ।

नेपालमा समाजवादको प्रयास भए पनि सैद्धान्तिक रुपमा सरकारले केही गर्न नसकेको उनको आरोप छ। अहिले सरकारको नेतृत्व सम्हालेको पार्टीको सैद्धान्तिक धरातल सत्ता र पैसाको भरमा टिकेको आरोप लगाउँदै जनतालाई समाजवादको ललिपप देखाइरहेको उनले बताए।

‘देशमा लुट, भ्रष्ट र ठगहरुको समाजवाद छ। राष्ट्रपति, माननीय, प्रदेशका माननीयलाई करोडौंका गाडी बाँड्ने समाजवादमा सरकार हराइरहेकाले जनताले अनुभूति गर्ने समाजवादको विकास भएको छैन,’ उनले भने, ‘सच्चा समाजवाद त्यो हो जहाँ राज्य नागरिकको अधिकारप्रति सचेत रहन्छ। वित्तीय बचत गर्ने संस्थालाई विश्वास गर्छ। निजी क्षेत्रलाई प्रोत्साहन गर्दै राष्ट्रिय अर्थतन्त्रको विकासमा समावेसी गराउँछ।’

अहिले मुलुकमा पाँच वर्षसम्म लुट्न मिल्ने समाजवादको विकास भएको जनाउँदै उनले वैदेशिक लगानी गर्न नेपाल आएका कम्पनी पनि भष्टाचारको जालो देखेर सम्झौता तोडेर भाग्ने गरेकोे बताए। रेमिट्यान्सको भरमा मुलुकको अर्थनीति सञ्चालन रहेको बताउँदै उनले आर्थिक दुष्चक्रमा सरकार लागेको तथा युवा शक्तिलाई स्वदेशमै उद्यम गर्ने वातावरण बनाउन कुनै चासो नदेखाएको जनाए।

त्यस्तै पार्टीका अर्का अध्यक्ष पशुपति शम्शेर जबराले दिन प्रतिदिन व्यापार घाटामा सरकारले जोड दिइरहेको आरोप लगाए। अहिलेका व्यापार घाटा झन्डै नौ सय ६७ मिलियन अमेरिकी डलर पुगिसकेको जनाउँदै निर्यातको तुलनामा आयात १४ गुणाले बढी रहेको उनले बताए। नेपालको अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादन र वर्तमान बजेटको करिब शतप्रतिशत भन्दा बढी व्यापार घाटा पुगेको उनले बताए।

‘सरकार भने रोम जलिरहँदा निरोले बाँसुरी बजाएजस्तै बेखबर भई झिनामसिना कुरामा अल्मलिएको सरकार वित्तीय अनुशासन कायम गरी सोधनान्तर स्थितिको पहिरो रोकथाममा लाग्न सकेन,’ उनले भने।

अहिलेकै अवस्थामा व्यापार घाटा र ऋणात्मक सोधनान्तरको स्थिति बढ्दै जाँदा चरम विसंगतिसँगै देश नै पल्टने अवस्था आउने उनको भनाइ छ। यसले मुलुकलाई पाकिस्तानको जस्तै हालत बनाई अन्तर्राष्ट्रिय मुद्राकोषको शरणमा जानुपर्ने अवस्था आउन सक्ने उनको दाबी छ।

‘अहिले देशमा लगानीयोग्य पुँजीको ठूलो अभाव छ। बैंकिङ क्षेत्रमा लगानीयोग्य पूँजीको अभाव छ,’ उनले भने, ‘नेपालमा दुईवटा लगानी सम्मेलन भइसके पनि लगानी बढ्नुको साटो अत्याधिक दरमा घट्दै गइरहेको अवस्था छ।’

देशमा व्यापार घाटा बढ्दै जानु, वैदेशिक लगानीमैत्री नीति नहुनु, अत्याधिक राजस्व भन्सार उठाउनु, निजी क्षेत्रलाई प्रश्रय नदिइनु, पूर्वाधार अभावले बजारको भरपर्दाे अवस्था नहुनु तथा विदेशी मुद्रा संचित कम हुनुलगायत कारणले वैदेशिक लगानी घट्दै गएको उनको भनाइ छ।

प्रकाशित: २९ श्रावण २०७६ ०२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App