coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हङकङ विमानस्थल दोस्रो दिन पनि अवरुद्ध

सरकार विरोधी प्रदर्शनकारीलाई रोक्न खोज्दै हङकङ विमानस्थलका एक कर्मचारी। तस्बिर : एजेन्सी

हङकङ – हङकङको अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार दोस्रो दिन पनि अवरुद्ध भएको छ। सरकार विरोधी प्रदर्शनकारीले विमानस्थलमै प्रदर्शन गरेर अवरोध सिर्जना गरेपछि पूर्व बेलायती औपनिवेशिक सहर हङकङको विमानस्थलमा मंगलबार कुनै उडान भएन। 

विश्वको अति व्यस्तमध्येको एउटा हङकङ विमानस्थल दोस्रो दिन पनि अवरुद्ध भएपछि हङकङको राजनीतिक थप तनावग्रस्त बनेको छ।  विमानस्थल बन्द भएको दोस्रो दिन स्थानीय समयअनुसार मंगलबार दिउँसो चार बजेर ३० मिनेटदेखि ‘चेक–इन’ कार्य रोकिएको थियो।  कालो टोपी लगाएका हजारौैं प्रदर्शनकारीले गित गाउँदै, नारा लगाउँदै र ब्यानर हल्लाउँदै विमानस्थलको टर्मिनल अवरुद्ध गरेपछि विमानस्थल ठप्प भएको बताइएको छ। 

लगातारको प्रदर्शन र दुई दिनसम्म विमानस्थल अवरुद्ध भएपछि हङकङको सेयर बजार सात महिना यताकै खराब अवस्थामा पुगेको छ।   उता, हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सहर ‘आतंक र अस्तव्यस्तता’ तर्फ धकेलिएको बताएकी छन्। 

सरकारी मुख्यालय कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा निराश मुद्रामा बोल्दै प्रमुख कार्यकारी लामले भनिन्, ‘ हेर्नुहोस् त हाम्रो सहर र हाम्रा घर। ’ ‘यो साना–साना टुक्रामा टुक्रिएको हामी हेर्न सक्छौं,’ उनले भनिन्।   यसैबीच हङकङको पछिल्लो बिग्रदो अवस्थाप्रति संयुक्त राष्ट्रसंघले पनि मुख खोलेको छ।  मानवअधिकारसम्बन्धी राष्ट्रसंघको उच्च आयोगले प्रदर्शनकारीमाथि प्रहार गरिएको अश्रुग्यासबारे अनुसन्धान गर्न आह्वान गरेको छ।

  उसले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार हुनु भनेको अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप भएको समेत जिकिर गर्दै दोषीमाथि अनुसन्धान गर्न पनि हङकङ सरकारसमक्ष आग्रह गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।   हङकङ विगत १० सातादेखि निरन्तर प्रदर्शन जारी रहेको छ। 

सरकारले मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो।  विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयकलक्षित हुनसक्ने भन्दै प्रदर्शन सुरु भएको थियो। 

कैयौं साताको विरोध प्रदर्शनपछि हङकङ सरकारले तत्कालका लागि सो विधेयक स्थगित गरिएको घोषणा गरेको थियो।  यद्यपि प्रदर्शनकारीले भने विधेयक स्थगन नभई पूर्ण रूपमा खारेज हुनुपर्ने भन्दै प्रदर्शनलाई जारी राखेका छन्।  प्रदर्शन जारी रहेपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले माफीसमेत मागेकी थिइन्।  तर पछिल्लो समयको प्रदर्शन हङकङमा बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित हुन थालेको छ।  यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री लामको राजीनामाको मागसमेत गर्दै आएका छन्। 

एसियाली हब हङकङमा भइरहेको पछिल्लो प्रदर्शन स्वतन्त्रता र स्वायत्तताको मागतर्फ अघि बढिरहेको छ।  कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महत्वपूर्ण अंगका रूपमा रहेको छ।  यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ।  विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।  
उता, चीनले भने दुई महिनाभन्दा बढी समयदेखि जारी सरकार विरोधी प्रदर्शनका कारण हङकङ तहसनहस भएको र यसले विस्तारै ‘आतंकवादलाई विकास गरिरहेको’ आरोप लगाएको छ। 

चीनले आधिकारिक रूपमै केही प्रदर्शनकारीको गतिविधि आतंकवादसँग तुलना गरेका कारण हङकङमा आतंकवादविरुद्धको कानुन र शक्तिको व्यापक प्रयोग हुनसक्ने हङकङका केही कानुनी विज्ञहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।   चीनको यस्तो अभिव्यक्तिलाई सन् २०१२ मा शक्तिमा आएदेखि चिनियाँ राष्ट्रपति सी चिनफिङसामु उत्पन्न भएको सबैभन्दा ठूलो चुनौतीका रूपमा अथ्र्याइएको छ।  

प्रकाशित: २९ श्रावण २०७६ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App