coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अध्यागमनलाई झुक्याउँदै इरानी

काठमाडौं - फ्रान्सको नक्कली राहदानी प्रयोग गरी नेपाल आएका दुई इरानी नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ।  विभागले राहदानी नक्कली हो कि सक्कली भनी छुट्याउन नसक्दा उनीहरु नेपाल घुमेर भारत पुगे।  भारतमै उनीहरुको राहदानी नक्कली भएको खुलेको हो। 

अध्यागमन विभाग स्रोतका अनुसार भारतीय अध्यागमनले उनीहरुले प्रयोग गरेको राहदानी नक्कली भएको पाएपछि नेपाल नै फिर्ता गरेको थियो।  त्यसपछि उनीहरुलाई नेपालको अध्यागमन विभागले पक्राउ गरी बुधबार डिपोर्ट गर्ने तयारी गरेको छ।  पक्राउ परेका मध्ये जेन क्लाउडटोलिङ ३९०४३९२९२ र अरोनपेरर्टस १४सीपी १३६७४ नम्बरको नक्कली राहदानी प्रयोग गरी फ्रान्स जान लागेका थिए।

जुलाई ३१ मा नेपाल आएका उनीहरुलाई अध्यागमन विभागले ३० दिनको पर्यटन भिसा जारी गरेको थियो।  तर उनीहरु नेपाल आएको ६ दिनमै अगस्ट ६ मा भारत गएका थिए।  भारत पुगेपछि त्यहाँको अध्यागमनले उनीहरुको राहदानी चेक गर्ने बेलामा नक्कली पाएको थियो।

विभागले राहदानी नक्कली हो कि सक्कली भनी छुट्याउन नसक्दा दुई इरानी नेपाल घुमेर भारत पुगे।  भारतमै उनीहरुको राहदानी नक्कली भएको खुलेको हो।

अध्यागमन विभागमा प्रवक्ता रामचन्द्र तिवारीले उनीहरुलाई पक्राउपछि अनुसन्धान गरेको बताए।  उनका अनुसार इरानी नागरिकले फ्रान्स जान नेपालको रुट प्रयोग गरेका हुन्।  अध्यगमनका अनुसन्धान अधिकृत वैकुण्ठराज रेग्मीले उनीहरुले प्रयोग गरेको राहदानी टर्कीमा बनाएको बताए।  ‘टर्कीमा केही रकम तिरेर फ्रान्सको नक्कली राहदानी प्रयोग गरेको देखियो, युरोप छिर्नका लागि उनीहरुले नेपालको रुट प्रयोग गरेका रहेछन्’, रेग्मीले भने।  उनका अनुसार ५ सय डलर जरिवाना तिराएर बुधबार उनीहरुलाई इरान डिपोर्ट गर्न लागिएको छ।

विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीको लापरबाहीका कारण इरानी नागरिक पटकपटक नक्कली राहदानीमा नेपाल आउने गरेका छन्।  यसअघि रेजा फादे नामका इरानी स्पेनको नक्कली राहदानीमा नेपाल आएका थिए।  नेपाललाई ‘ट्रान्जिट’ बनाएर युरोपेली मुलुकमा जान उनी नेपाल आएका थिए।  उनलाई पनि अध्यागमन कार्यालयले नेपालमा आगमन भिसा जारी गरेको थियो।  अध्यागमनमा ‘बायोमेट्रिक्स’ सहितको सफ्टवेयर प्रणाली नभएका कारण नक्कली राहदानी चिन्न नसकेको जिकिर गर्दै आएका कर्मचारीले यसपटक पनि दुई इरानीलाई सहजै आगमन भिसा जारी गरेका थिए।

कैयौं इरानी नागरिकले काठमाडौंलाई ट्रान्जिट बनाएर नक्कली राहदानीसहित आए पनि यसलाई विभागले गुपचुप राख्ने गरेका स्रोतले जनाएको छ।  फादेको राहदानी पनि कतार पुगेपछि मात्रै नक्कली भएको खुलेको थियो।  कतार विमानस्थलबाट नेपाल फर्केपछि मात्रै विमानस्थल कार्यालयले उनी इरानी भएको पुष्टि गरेको थियो।  विभागका अनुसन्धान अधिकृत रेग्मीले अहिले आएका दुई इरानीले पनि टर्कीमै राहदानी बनाएको बताए।

पछिल्लो समय नक्कली राहदानी बोकेर नेपाल आउनेहरुको संख्यामा वृद्धि भइरहेको छ।  कमजोर अध्यागमन प्रणालीको फाइदा उठाउँदै इरानीलगायत शंकास्पद गतिविधिमा संलग्‍न विदेशी नेपाल भित्रिने गरेका छन्।  केही समयअघि कतारबाट इरानी राहदानीमा आएका महदिनले भिसा लिने क्रममा स्पेनको नक्कली राहदानी देखाएपछि अध्यागमनका कर्मचारीले शंका लागि पक्राउ गरेका थिए।  भारतको दिल्ली अध्यागमनले डेनमार्कको राहदानी नक्कली भएको ठह‍¥याएपछि त्यहींबाट इरानी नागरिक फिरोज पनि नेपाल फिर्ता भएका थिए।

प्रकाशित: २९ श्रावण २०७६ ०१:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App