coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उफ्, कति महङ्गो तरकारी, तीन गुणा मुल्य वृद्धि

बैतडी– केही समयदेखि तरकारीको मूल्य आकाशिएको छ। तरकारीको भाउ बढेपछि खरिद गर्नका लागि निकै गाह्रो भइरहेको उपभोत्ताहरु बताउँछन्। कुनै तरकारीको मूल्यमा ३ गुणाले वृद्धि भएको छ। जिल्लामा तराईको कैलाली कञ्चनपुरबाट आयात स्थानीय स्तरमा उत्पादन हुने तरकारीको भाउ दिनानुदिन बढ्दै गएको छ। भारतीय तरकारीको आयात कम, विषादी परीक्षण जस्ता विषयले तरकारीको बजार भाउ ह्वात्तै बढेको व्यापारी बताउँछन्। बजारको माग आन्तरिक उत्पादनले मात्रै धान्न नसक्दा तरकारीको मूल्य बढेको उनीहरुको भनाइ छ।

सामान्यतया वर्षायाममा तरकारीको मूल्य बढ्ने गर्छ। तर यसपटक भने असामान्य रुपमा मूल्य बढिरहेको गोठालापानीका व्यापारी नवराज धामीले बताए। रायोकै सागको ६० रुपैयाँसम्म पर्ने गरेको उनले बताए। बजारमा अहिले गोलभेडा, भिण्डी, तितेकरेला, परवर, काक्रो, घिरौला, भटमास कोशा, कागती, रायोको साग, अदुवा, चम्सुरको साग, न्यूरोलगायतका थुप्रै तरकारीहरुको मूल्यमा साविकको भन्दा तीन गुणासम्म वृद्धि भएको उपभोक्ता बताउँछन्।

भान्सामा दैनिक चाहिने तरकारीको मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन्। व्यापारीहरुले आफू खुसी तरकारीको मूल्य बढाएको उपभोक्ताले गुनासो छ। ‘आफैले खाना पकाउन नसकिने भयो,’ गोठालापानीमा कोठा लिएर बस्दै आएका तेज पाण्डेले नागरिक न्यूजसँग भने, ‘बरु होटलमा खाना खान सस्तो छ, तरकारी ल्याएर कोठामा खान नसकिने भयो।’

तरकारी बजारमा औसत मूल्य पनि तोकिएको छैन्। तरकारीको पसलैपिच्छे फरकफरक दर छ। खुद्रामा बेच्दा पसलेहरुले चर्को पैसा लगाउने गरेका छन्। तरकारी तथा फलफूलको भाउ नतोक्दा जिल्लामा मनपरी भाउ लगाउने गरेका छन्। किसानले उत्पादन गरेको तरकारी  सस्तोमै दिए पनि बिचौलियाले भने बढी फाइदा लिने गरेका छन्। ‘किसानबाट सस्तोमा किन्छन्,’ दशरथचन्द नगरपालिका–४, का पुष्पराज पाण्डेयले भने, ‘व्यापारीले महँगोमा बेच्दा उपभोक्ता मारमा परेका छन् ।
तरकारीको भाउ छुनै नसक्ने अवस्थामा पुगेको उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताए। केही दिनयता तरकारीको भाउ आकाशिदा उपभोक्ता मारमा परेको उनको भनाइ छ।

प्रकाशित: २८ श्रावण २०७६ ११:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App