८ वैशाख २०८१ शनिबार
अर्थ

सीमावर्ती क्षेत्रबाट चामल चोरी पैठारी

वीरगन्जको रानीघाटस्थित पसलमा सजाइएका रंगीचंगी बोरामा भारतीय ब्रान्डका चामल। तस्बिर : रितेश/नागरिक

वीरगन्ज – भारतबाट नेपाल भित्रिने चामलको केही हिस्सा सीमावर्ती क्षेत्रबाट चोरी पैठारी भएर आउने गरेको देखिएको छ। मुलुकका लागि करिब ६ लाख टन चामल अपुग भएको सरकारी तथ्यांक छ। यसमध्ये धेरै चामल भन्सार तिरेर आउँछ भने केही हिस्सा चोरी पैठारी भएर आउने गरेको हो।  

भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष चार लाख ८८ हजार टन चामल र दुई लाख ३५ हजार टन धान भन्सार महसुल तिरेर आयात भएको छ। यस बाहेकको चामल चोरी पैठारी भएर आएको हो।

भन्सार विभागको तथ्यांक अनुसार मुलुकमा आर्थिक वर्ष २०७५/०७६ मा २९ अर्ब रुपैयाँ बराबरको चामल आयात भएकोे छ। धान व्यापारीका अनुसार नेपालका काठमाडौं, पोखरालगायत ठूला सहर, पहाडी बजार र गाउँमा जाने चामल भन्सार महसुल तिरेर भित्रने गरेको छ। भारतसँगको सिमावर्ती जिल्लामा खपत हुने चामल भने भन्सार छलेर ल्याइन्छ।

सीमावर्ती क्षेत्रकोे दसगजामा जोडिएका भारतीय बजार र गाउँमा भारतीय ब्रान्डका चामलको ठुल्ठूला डिपो नेपाली सीमावर्ती बजारलाई लक्ष्य गरेर खुलेका छन्। व्यापारी सीमावर्ती क्षेत्रमा भन्सार नतिरी स–सानो परिमाणमा खेप–खेप गरेर चामल ल्याउने र एक स्थानमा जम्मा गरेर बिक्री गर्ने बताउँछन्। भरियाले साइकलमा २५ किलोको दुई बोरा घरायसी प्रयोजनका लागि भन्दै भित्र्याउँछन्। व्यापारीका अनुसार एक दिनमा एउटा डिपोले त्यस्ता भरियामार्फत एक ट्रकसम्म चामल नेपाल पठाउने गरेका छन्। यो कार्यले भन्सारलाई तिर्ने आठ प्रतिशत महसुल र ट्रकको ढुवानी खर्च एक साथ जोगिन्छ। यही  बचतको पाँच प्रतिशत भरियाले पाउने गरेका छन्।

व्यवसायीहरु धान र चामलबीचको भन्सार महसुलमा धेरै फरक नहुँदा चामल आयात बढेको र चोरी पैठारी पनि भइरहेको बताउँछन्। सरकारले चामल आयातलाई बढावा दिएका कारण स्वदेशी चामल उद्योग डुबेको उद्योगीको आरोप छ। धानको तुलनामा चामलको भन्सार दर दोब्बर हुनुपर्ने उनीहरुको भनाइ छ। अहिले धानमा पाँच प्रतिशत र चामलमा आठ प्रतिशत कृषि सुधार शुल्क लाग्ने गरेको छ।

अर्कोतिर भारतबाट बेलगाम चामल आयात भएका कारण स्वदेशी उद्योग बन्द हुँदै गएका छन्। भारतले चामल निर्यात रोकेका बेला नेपालमा पर्याप्त चामल उद्योग खुलेका थिए। भारतबाट चामल आयात खुला भएपछि बैंकबाट ऋण लिएर, घरजग्गा बेचेर उद्योगमा गरेको लगानी डुब्न लागेको छ। वीरगन्जको रानीघाटदेखि पोखरिया सडक खण्डमा रहेका सयभन्दा बढी चामल उद्योगमध्ये ७० प्रतिशत जति अहिले बन्द भएका छन्। पहिले स्वदेशी चामल पठाउने मुख्य थलो रहेको रानीघाटमा घरैपिच्छे भारतीय ब्रान्डका चामल बेच्ने पसल खुलेका छन्। वीरगन्जका पसलमा मात्र होइन सीमावर्तीभन्दा भित्री क्षेत्र लगायत देशका विभिन्न भागमा भारतीय ब्रान्डका चामलले बर्चश्व स्थापित गर्दै लगेको चामल उद्योगी ताराप्रसाद बताउँछन्। अहिले भारतको विहार राज्यमा ठूलो क्षमताका चामल उद्योग सञ्चालनमा छन्। ती उद्योगलाई उपकरण, कर र विद्युत्मा ३५ देखि ६० प्रतिशतसम्मको सहुलियत प्राप्त छ।

प्रकाशित: २८ श्रावण २०७६ ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App