६ वैशाख २०८१ बिहीबार
अर्थ

विषादी चेकजाँच ऐन ल्याउछौं : खनाल

फोरएच नेपालले आयोजना गरेको एसियन कृषि सम्मेलनमा कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणी खनाल। तस्बिर : नागरिक

काठमाडौं – कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणी खनालले सरकारले छिट्टै विषादी चेकजाँच ऐन ल्याउन लागेको बताएका छन्। ऐन ल्याए तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने उनले बताए।

फोरएच नेपालले सोमबार आयोजना गरेको एसियन कृषि सम्मेलन तथा प्रदर्शनी उद्घाटन गर्दै मन्त्री खनालले मुलुकको कृषि क्षेत्रको विकासका लागि अर्गानिक र आधुनिक परियोजना ल्याइएको बताए। ‘अबको १० वर्षमा नेपालको कृषिले फड्को मार्छ,’ उनले भने, ‘युवालाई नेपालमै फर्काएर काम गर्ने वातावरण बनाउछौं।’

मन्त्री खनालले उत्पादन क्षेत्रमा काम गर्न सके ४० लाख जनशक्ति मुलुकबाहिर रहेको बताए। २१ देखि ३५ वर्षका युवालाई स्वदेशमै खपत गर्न सक्ने तागत मुलुकले नबनाएसम्म कृषि क्षेत्रमा सुधार ल्याउन नसकिने बताए। मन्त्री खनालले दुई लाख ८० हजार जनसंख्या भएको मुलुकमा तीन करोड सात लाख कित्तामा जग्गा टुक्राटुक्रा भएको भन्दै जमिनको खण्डीकरण पनि कृषि क्षेत्रको समस्या रहेको बताए। मन्त्री खनालले कृषिलाई आधुनिकीकरण गर्न र अर्गानिक तरकारी खेतीका लागि योजना बनाएको बताए। ‘तराई क्षेत्रमा अत्याधुनिक परियोजना ल्याउँदै छौं,’ उनले भने, ‘अर्गानिक उत्पादन बढाउने योजना छ।’

खनालले मुलुक भित्रिने तरकारीको विषादी परीक्षण नरोकिने बताए। ‘अहिले पनि विषादी परीक्षणका तीनवटा ल्याबका लागि बजेट छुट्याइएको छ,’ मन्त्री खनालले भने, ‘अबको आठ महिनाभित्र अन्तर्राष्ट्रिय स्तरका परीक्षण केन्द्रहरु स्थापना गर्ने बताए। मन्त्री खनालले यूवाहरुको बढ्दो विदेश पलायनका कारण ४२ प्रतिशत जमिन बाँझो भएको बताए।

कार्यक्रममा फेरएच नेपालका अध्यक्ष लोकराज अवस्थीले यूवाहरुलाई कृषि क्षेत्रमा आकर्षण गर्न सम्बन्धित निकाय गम्भिर हुनुपर्ने बताए। ‘युवा शक्तिलाई कृषिमा भविष्य छ,’ उनले भने, ‘कृषिमा आकर्षित गर्नुपर्छ।’

भारतीय दुतावासका प्रतिनिधि अजय कुमारले बोल्नुहुँदै नेपाललाई अर्गानिक उत्पादनको लागि भारत सरकारले सकेको सहयोग गर्नेमा जोड दिए। अहिले विश्व बजारमै अर्गानिक उत्पादनको माग उच्च रहेकाले नेपालले त्यो अवसरबाट फाइदा लिन सक्नु पर्ने कुमारले बताए। कार्यक्रममा बोल्ने बक्ताहरुले मुलुकको ७४ प्रतिशत जनता कृषि पेशमा आवद्ध भए पनि मुलुकलाई पुग्ने उत्पादन गर्न नसक्नु दुखद् भएको बताए।

प्रकाशित: २८ श्रावण २०७६ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App