५ वैशाख २०८१ बुधबार
अर्थ

दूध खोसाखोस गर्दै ठूला डेरी

विराटनगर – सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीहरूबीच दूध संकलनमा प्रतिस्पर्धा सुरू भएको छ। भारतबाट पाउडर दूध आयात रोकिँदा दूधको पर्याप्तता कम भई किसानले उत्पादन गरेको दूध संकलनमा ठूला डेरी उद्योगबीच प्रतिस्पर्धा सुरू भएको हो।

दुग्ध विकास संस्थान विराटनगरमा गत वर्षको यसै सिजनको तुलनामा १० हजार लिटरभन्दा बढीले दूध संकलनमा गिरावट आएको छ। किसानले उत्पादन गरेको दूध निजी क्षेत्रका डेरीहरूले किन्न थालेपछि दुग्ध विकास संस्थानले संकलन गर्ने दूधको परिमाण घटेको हो।

दुग्ध विकास संस्थान विराटनगरका प्रमुख निलकण्ठ गौतमका अनुसार गत वर्ष यो सिजनमा दैनिक ३५ देखि ४० हजार लिटर दूध संकलन हु“दै आएकामा यो वर्ष दूध संकलन घटेर २८ हजारदेखि ३० हजार लिटरमा सीमित भएकोछ।

गत वर्षसम्म भारतबाट आयात गरिएको दूध पाउडर घोलेर निजी क्षेत्रका डेरीहरूले दूध बिक्री गर्दै आएका थिए। जसका कारण अफ सिजनमा पनि दूध पर्याप्त हुने गरेको थियो। यो वर्ष सरकारले पाउडर दूध आयातमा कडाइ गरेपछि नेपालमा दूध अभाव हुन थालेको हो। दूध उत्पादन धेरै हुने सिजनमा डिडिसीले दैनिक एक लाख लिटर र अफ सिजनमा ४० हजार लिटर हाराहारीमा दूध संकलन गर्दै आएकामा यो वर्ष दूधको संकलन घट्न थालेको गौतमले बताए। गौतमका अनुसार चैतदेखि भदौसम्मको अवधिलाई लिन (अफ)सिजनका रुपमालिने गरिन्छ।

भदौदेखि गाई भैसी ब्याउने क्रम धेरै हुने भएकाले हिउ“दको सिजनमा दूध उत्पादन निकै बढी हुने गर्दछ। यतिमात्रै हैन बर्खा सिजनभन्दा हिउँदमा दूधको माग पनि कम हुने गर्दछ। असारदेखि कात्तिकसम्म धेरैजसो ठूला चाडपर्व पर्ने र यी चाडपर्वमा दूध तथा दूधजन्य परिकार धेरै उपभोग गरिने भएकाले पनि दूधको माग ह्वात्तै बढ्ने गौतम बताउँछन्। ‘किसानले उत्पादन गरेको दूधमा निजी क्षेत्रका डेरीले मूल्य बढाएर पनि खरिद गर्न सक्ने भएकाले सरकारी स्वामित्वको डिडिसीलाई किसानले दिने दूधको परिमाण घटाएका हुनसक्छन्,’ गौतमले भने।

यता मागभन्दा बढी दूध उत्पादन हुनथालेपछि प्रदेश १ सरकारले मिल्क होलिडे अन्त्य गर्न अनुदानमा पाउडर प्लान्ट निर्माण थाले पनि दूध अभाव हुन थालेपछि पाउडर प्लान्ट सञ्चालनमा पनि समस्या आएको छ। प्रदेश सरकारको अनुदानमा डिडिसी विराटनगरमा निर्माण गरिएको पाउडर प्लान्ट दूध अभावकै कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन। ‘दूध अभावका कारण पाउडर प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्न सकिएको छैन,’ डिडिसी विराटनगरका प्रमुख गौतमले भने। हाल आंशिक रुपमा मात्रै पाउडर प्लान्ट सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। दूध पाउडरको आयात  रोकिएको र प्रदेश १ बाट अन्य प्रदेशमा दूध निकासी भइरहेका कारण यहाँका बजारमा दूधको पर्याप्तता कम भएको गौतमले बताए।

पर्याप्त पाउडर उत्पादन नगरी हचुवाका भरमा सरकारले पाउडर दूध आयात रोक्दा दूध अभाव भएको शान्ति डेरी विराटनगरका सञ्चालक किशोर थापा बताउँछन्। ‘अफ सिजनमा आवश्यक पर्ने पाउडर उत्पादन नगरी पाउडर दूध आयात रोक्दा समस्या आएको छ,’ थापाले भने। यति मात्रै हैन यो वर्ष गत वर्षको तुलनामा दूधउत्पादनसमेत घटेको थापा बताउँछन्। गाईभैसीको आहारको मूल्य धेरै बढेका कारणपशुपालनमा किसानको आकर्षण घट्दै गएको उनले बताए। थापाका अनुसार गत वर्ष एक हजार चार सय रुपैयाँमा पाइने चोकर यो वर्ष दुई हजार, एक हजार पाँच सयमा पाइने मकैको पिठोको मूल्य दुई हजार, गतवर्ष ७० रुपैयाँ बोराले पाइने गहुँको भुस यो वर्ष एक सय ४० रुपैयाँ पुगेको छ।

गाई, भैसीको आहाराको मूल्य ह्वात्तै बढेपछि दूध बेचेर किसानलाई नाफा हुन छाडेको छ। ‘प्रतिबोरा दुई हजारको चोकड, दुई हजारको पिठो र एक सय ४० रुपैयाँको भुस खुवाएर उत्पादन गरेको दूध ४० देखि ५० रुपैया“ लिटरले बेच्नु परेपछि किसान कसरी दूध उत्पादनमा आकर्षित हुन्छन्,’ उनले भने। प्रदेश १ मा दुग्ध विकास संस्थान, जीवन विकास समाज, कामधेनु सहकारीलगायत संस्थाले किसानबाट धेरै मात्रामा दूध संकलन गरी बजारमा पठाउने गरेका छन्।

सरकारले दूध उत्पादन गर्ने वास्तबिक किसानलाई सहुलियतका कुनै योजना नल्याएका कारण दूध उत्पादक किसान गाईभैंसी पाल्नै डराउन थालेको थापाले बताए। किसानलाई प्रोत्साहित गर्ने नाममा सरकारले वार्षिक अर्बौं रुपैयाँ अनुदान दिए पनि त्यस्तो अनुदान वास्तविक किसानसम्म पुग्न सकेको छैन। आर्थिक वर्षको अन्त्यतिर आसेपासे र विचौलिया पोस्ने गरी सरकारले कृषि अनुदान वितरण गर्ने परिपाटीले सरकारले लगानी गरेअनुसार कृषि क्षेत्रमा उपलब्धि हाँसिल गर्न नसकेको व्यवसायी थापा बताउ“छन्। गत आर्थिक वर्षमा प्रदेश १ को सरकारले पशुपक्षीजन्य बस्तु उत्पादन गर्ने किसान, सहकारी तथा बजारीकरण गर्ने व्यवसायीको प्रोत्साहनका लागि ४४ करोड रुपैयाँभन्दा बढी रकम प्रत्यक्ष रुपमा अनुदान दिएको थियो।

प्रकाशित: २८ श्रावण २०७६ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App